सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बाग्लुङ २ (ख)को प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई सघाउने निर्णय गरे पनि पार्टीका एक नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
नेकपाले राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई सघाउने निर्णय गरेपछि रूष्ट भएका नेकपाका शेरमान घर्तीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।उम्मेदवारका लागि छ जनाको नाम प्रदेशमा सिफारिस गर्दा नेकपाले घर्तीको नाम पनि पठाएको थियो।
आफू जनताका नजिक रहेर काम गरेको भन्दै घर्तीले उम्मेदवारी दिएका हुन्। तर सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बागलुङमा पार्टीबाट बागी उम्मेदवारी दिएको भए फिर्ता हुने बताएका छन्।
पोखरामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘बाग्लुङमा जनमोर्चासँग तालमेल गर्ने निर्णय भएको छ। हाम्रो पार्टीका कसैले उम्मेदवारी दिएको भए भोलिपर्सि फिर्ता हुन्छ। अरू कोही हो भने मुकाविला गर्नुपर्ने हुन्छ।’
प्रचण्डले पार्टीमा छलफल गरी सर्वसम्मत रूपमा विद्या भट्टराईलाई कास्की २ मा उम्मेदवार बनाएको पनि बताए। ‘एक ढिक्का भएर रातदिन खटेर कास्की २ जित्नुपर्छ। नेकपा अझै लोकप्रिय भएर अघि बढेको सन्देश दिनुपर्छ,’ उनले भने।