हिजोआज काम नगर्ने ठेकेदारलाई खबरदारी गर्न नयाँ तरिका अपनाइएको छ।
नगरकोट सडक कालोपत्रे नगर्ने ठेकेदार शारदाप्रसाद अधिकारीको फोटो बिजुलीका पोलपोलमा र सवारी साधनमा टाँसिएका थिए।
अधिकारी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्षकमल दाहालका घरबेटी पनि हुन्। ठेक्का लिएको लामो समयसम्म उनले सडक कालोपत्रे सुरू नगर्दा आक्रोशित स्थानीयले फोटो टाँसेर विरोध गरेपछि अहिले काम सुरू भएको छ।
यस्तै काम नगर्ने ठेकेदारको फोटो टाँसेर विरोध गर्ने शैली दोलखा चरिकोटका बासिन्दाले पनि सुरू गरेका छन्।
![](/uploads/shares/vehicle.jpg)
सिन्धुपाल्चोक खाडीचौर-चरिकोटमा चल्ने गाडी, पोल र चोकमा ठेकेदार दीपक सापकोटाको फोटो टाँसेर शनिबार स्थानीय बासिन्दाले विरोध गरेका हुन्।
‘लामो समयसम्म सडक निर्माण नगर्ने ठेकेदारको विरूद्धमा सडक बनाउन दबाबमुलक कार्य सुरू भएको छ। तर पार्टीको आडमा लाज नभएका ठेकेदारले जनतालाई सास्ती दिन छोड्ने भएनन्,’ दोलखाका रोशनकुमार केसीले ठेकेदारको फोटो टाँसेको जानकारीसहित लेखेका छन्।
यो सडक स्तरोन्नति र कालोपत्रे गर्न दुई प्याकेजमा काम गर्न ठेक्का लागेको थियो।
सिन्धुपाल्चोक खाडीचौर-मुडे २५ किमी र मुडे-चरिकोट ३० किमी बेग्लाबेग्लै ठेक्का निकालेर सडक निर्माणको जिम्मेवारी दिइएको थियो।
![](https://ton.twitter.com/1.1/ton/data/dm/1195606888395632644/1195606876831936513/ZWfrX9en.jpg)
पहिलो प्याकेज खाडीचौर-मुडे सडक भारतीय कम्पनी सीमाञ्चलसहित नेपाली कम्पनी गौरा पार्वती र सुनौला खिम्तीले संयुक्त रूपमा ठेक्का पाएको भए पनि समयमै काम पूरा गरेनन्।
यो सडक बनाउन ३९ करोड २६ लाख ५२ हजार रुपैयाँ ठेक्का सम्झौता थियो।
दोस्रो प्याकेज, मुडे-चरिकोट सडक निर्माणको जिम्मा भारतीय कम्पनी सकिल हैदर संगथको साझेदारीमा नेपालका शंकरमाली र सुनौला खिम्ति कम्पनीले लिए। यो सडक बनाउन ७० करोड ७० लाख ३४ हजार रुपैयाँ बजेट छ।
सडक कालोपत्रे नगर्ने शंकरमाली निर्माण सेवाका ठेकेदार सापकोटाको फोटो टाँसिएको हो। ३० किमी मुडे-चरिकोट सडकको काम नभएपछि ठेकेदारको फोटो राखेर ब्यानरमा ‘तपाईं मलाई चिन्नुहुन्छ? काम नगर्ने ठेकेदार मै हुँ, मुडे-चरिकोट सडक विगत चार वर्षदेखि अलपत्र पार्ने ठेकेदार दीपक सापकोटा मै हुँ चिन्नुहुन्छ?, जनतालाई सास्ती दिने ठेकेदार दीपक सापकोटा कालोपत्रे छिटो गर,’ लेखिएको छ।
![](https://ton.twitter.com/1.1/ton/data/dm/1195606845081055237/1195606831298564097/NaZ4-aaN.jpg)
सडक निर्माणको ठेक्का तीन वर्षअघि लामोसाँघु तामाकोशी जिरी सडक आयोजनाले लगाएको हो।
सडक निर्माण कार्य किन समयमै नभएको? हामीले यो प्रश्न सडक निर्माण आयोजना प्रमुख दीप बाराहीलाई राख्दा उनले ठेकेदारलाई ताकेता गरिराखिएको बताए।
‘चरिकोटदेखि जिरीसम्म पहिलो खण्ड २५ किमीमा राम्रै काम भइराखेको छ,’ आयोजना प्रमुख बाराहीले सेतोपाटीसँग भने, ‘चरिकोटदेखि मुडेसम्म ३० किमीमा काम भएको छैन। एक दुई जना मान्छे काम गर्न आएका छन् तर काम सुरू गरिसकेका छैनन्।’
यही सडकखण्डमा ठेकेदार सापकोटाको फोटो राखेर स्थानीय बासिन्दाले सडक निर्माण छिटो सुरू गर्न दबाब दिएका हुन्।
आयोजनाका अनुसार यो सडक निर्माण कार्य गत असारमै सकिनुपर्ने हो। ठेक्काअनुसार समय सकिएको पाँच महिना हुँदा पनि कालोपत्रेका काम सुरू नभएको हो।
‘ठेकेदार सम्पर्कमै छ। काम गर्छु गर्छु भन्छ तर गरिराखेको छैन,’ बाराहीले भने, ‘काम नगर्नेलाई कारबाही गर्नेबाहेक अरू कुनै उपाय हामीसँग छैन।’
![](https://ton.twitter.com/1.1/ton/data/dm/1195606863577923588/1195606851448000512/YqGtH4np.jpg)
समयमै काम नगर्ने ठेकेदारलाई जरिवाना पनि तोकिएको उनले बताए।
‘७० करोडको ठेक्का हो, जरिवाना नै सात करोड रुपैयाँभन्दा बढी तिर्नुपर्छ,’ आयोजना प्रमुख बाराहीले सेतोपाटीसँग भने, ‘ठेकेदारलाई यो अन्तिम मौका हो, काम नगरे कारबाही हुन्छ।’
जिम्मेवारी लिएअनुसार सडक निर्माणका काम पूरा नगरेका ठेकेदार सापकोटाले भने मोबाइल स्वीच अफ गरेका छन्।
वि.सं. २०४३ सालमा खाडीचौरदेखि जिरीसम्म ११० किमी सडक स्वीस सरकारको सहयोगमा निर्माण गरिएको थियो।
साँघुरो सडकमा सवारी साधनको चाप बढेपछि स्तरोन्नति गरी कालोपत्रे गर्न भारतीय एक्जिम बैंकको ऋण सहयोगमा सडक विस्तार थाले पनि समयमा पूरा हुन सकेको छैन।
यो पनि:
प्रचण्डका घरबेटीको फोटो नगरकोटका सवारीसाधन र बिजुलीका पोलपोलमा
प्रचण्डका घरबेटीको फोटो टाँसेर विरोध गरेपछि दैनिक १८ घन्टा काम