दाङ देउखुरीमा एक व्यक्तिको घरमा बिस्फोट भएको छ। गढवा गाउँपालिका वडा नं. २ कोठरीका घनश्याम चौधरीको पक्की घरमा बुधबार दिउँसो बिस्फोट भएको छ।
दिउँसो साढे २ बजेतिर घरमा कोही नभएको समयमा बिस्फोट भएको थियो। बिस्फोटपछि चौधरीको पक्की घर चिरा परेको छ।
जिल्ला प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार चौधरीले उक्त घर भाडामा लगाएका थिए। घरको माथिल्लो तलामा गोधुली बचत तथा ऋण सहकारी संस्थाको कार्यालय थियो।
बिस्फोट भएको घरको अर्को कोठामा भारतबाट माछा मार्ने भनी जिलेटिन ल्याएर राखेको आशंकामा त्यहाँ बस्दै आएका एक जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रवक्ता शाहले जानकारी दिए।
तर त्यहाँ के बिस्फोट भएको हो भन्ने कुरा भन्न सक्ने अवस्था नरहेको उनले बताए। ‘जिलेटिन बिस्फोट भएको हो भन्न सक्ने आधार पनि भेटिएको छैन,’ डिएसपी शाहले भने, ‘बम बिस्फोट हो कि भन्ने आशंका भइरहेको छ।’
बिस्फोट कसले र किन गराएको हो भन्ने यकिन हुन नसकेको भए पनि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। प्रहरीले आफ्नो विरुद्ध सुराकी गरेको आशंकामा विप्लव समूहले बिस्फोट गराएको हुन सक्ने आशंका व्यक्त गरेको छ।