नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले साम्यवादको दिशामा अघि बढ्ने गरी आफ्नो विधान संशोधन गर्न लागेको छ।
जारी स्थायी कमिटीको बैठकमा प्रस्तुत गरिएको प्रस्तावमा साम्यवादको दिशामा अघि बढ्न पार्टी प्रतिबद्ध रहेको उल्लेख छ।
पार्टीका महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा भनिएको छ-यो पार्टी जनताको जनवाद कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्न,समाजमा रहेका सबैखाले शोषण उत्पीडन र विभेदहरूको अन्त्य गर्दै समाजवाद स्थापना गर्न र मानव जातिको सबभन्दा विकसित सामाजिक आर्थिक व्यवस्था साम्यवादको दिशामा अघि बढ्न प्रतिबद्ध छ।’
नेकपाको अन्तरिम विधानमा साम्यवादमा पुग्न सकिन्छ भन्ने विश्वास गरिएको थियो।
विधान संशोधन प्रस्ताव पारित भएमा नेकपाको रणनीतिक लक्ष्य अर्थात् अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद हुनेछ भने तात्कालिक कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद हुनेछ। अहिलेको विधानमा नेकपाको रणनीतिक लक्ष्य अर्थात् अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद नै रहेको छ भने न्यूनतम कार्यक्रम जनताको जनवाद भएको र यो समाजवाद उन्मुख रहेको उल्लेख छ।