नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रकै राष्ट्रवादीले तह लगाइदिएको बताएका छन्।
मंगलबार संसदमा बोलेका सांसद थापाले एमसिसीको प्रसंगमा नेकपाभित्रकै खाँटी राष्ट्रवादीले प्रधानमन्त्रीलाई तह लगाइदिएको बताए।
‘एमसिसीमा नेकपाभित्रकै खाँटी राष्ट्रबादीले तपाईंलाई तह लगाइदिएका छन्। एक व्यक्तिलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्ने कार्यदल बनाउने कुरामा तपाईं जसरी कमजोर देखिनुभयो, यो देखेपछि तपाईंलाई बाहिर के भन्दैछन् थाहा छ? देखिँदाखेरि सुरो यथार्थमा विचरो भन्दैछन्,’ थापाले भने।
प्रधानमन्त्रीले जन्मदिन मनाएकोबारे धेरै टिप्पणी गर्न नचाहेको उल्लेख गरेका थापाले राजसी ठाँटका साथ जन्मदिन मनाइएकोले पूर्वराजा ज्ञानेन्द्र शाहको झल्को मेटाइदिएको बताए। ‘तपाईंले राजसी ठाँटका साथ मनाएको जन्मदिनबारे नागरिक के भन्दैछन् थाहा छ प्रधानमन्त्रीज्यू?,’ उनले भने, ‘२०६१ सालमा ज्ञानेन्द्र शाहले देखाएकै जस्तो झल्को मेटाइदिनुभयो भन्दैछन्।’
भ्रष्टाचारलगायतका एकपछि अर्को काण्डबारे प्रधानमन्त्रीले थाह नपाएजस्तो गर्नु पाप हुने थापाको भनाइ छ। ‘सबै कुरा थाहा पाएर थाहा नपाएजस्तो गरिरहनुभएको छ भने त्यो पाप हो। केही थाहा पाउनुभएको छैन भने त्यो असक्षमता हो,’ थापाले भने।
थापाले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभ गर्न सुझाव दिएका छन्। ‘संख्या तपाईंसँग होला प्रधानमन्त्रीजी तर शासन गर्ने बैधानिक क्षमता गुमाउनुभएको छ,’ उनले भने, ‘नेकपाको र नेपालको स्वास्थ्यका लागि तपाईं स्वास्थ्य लाभ गर्न गइदिनुस्।’
सेक्युरिटी प्रिण्टिङ प्रेसबारे फागुन ९ मा आफूहरूले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडिओटेप सुनेको प्रसंग निकाल्दै थापाले उक्त प्रकरणबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताए।
‘संसदमा उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रा प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्रीज्यूसँग छ कि छैन?,’ थापाले प्रश्न गरे, ‘प्रधानमन्त्रीसँग हिम्मत छ/छैन थाहा छैन। तर संसदसँग यो हिम्मत हुनुपर्छ।’
उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन सभामुखबाट रूलिङ हुनुपर्ने माग गरे।
‘प्रधानमन्त्रीजी डाँडाकाडा डुलेर बस्ने होइन। तालतलैया हेरेर बस्ने होइन। सदनमा आउनुपर्छ। यहाँ उभिनुपर्छ। हाम्रो प्रश्नको सामना गर्नुपर्छ,’ उनले भने, ‘हामी यहाँ बसेर निम्छरो होइन, सही प्रश्नहरू सोध्नेछौं। प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रूलिङ गर्न सभामुखलाई आग्रह गर्न चाहन्छु।’
उनले बाँस्कोटा मुछिएको अडिओटेपबारे प्रधानमन्त्रीलाई थाहा नै थिएन भनेर आसेपासेहरूले भन्दै आएको पनि बताए। ‘यसबारे प्रधानमन्त्रीजीले के भन्नुहुन्छ मलाई थाहा छैन। तर उहाँका आसेपासेहरूले केही दिनदेखि एउटै कुरा भनिरहेका छन्। प्रधानमन्त्रीलाई थाहा थिएन,’ सांसद थापाले भने, ‘प्रधानमन्त्रीको चुल्हो चलाउने। प्रधानमन्त्रीको तुलोमा राख्दै गर्दा कसैले नभ्याउने। अनि प्रधानमन्त्रीको भनाइका आधारमा काभ्रेले आजसम्म जन्माएको सर्वाधिक प्रतिभाशाली प्रवक्ताले गर्नुभएको यी कुराहरू हामीलाई थाहा थिएन भनेर हामीले पत्याइदिनुपर्ने?’
उक्त कुरा पत्याइदिनुपर्ने हो भने प्रधानमन्त्रीलाई आफ्ना केही प्रश्न रहेको थापाले सुनाए।
‘यी सबै कुरा थाहा थिएन भने प्रधानमन्त्रीजी तपाईंलाई के थाहा छ? नागरिकहरू के भन्दैछन्? यो सेक्युरिटी प्रेसको ठेक्कामात्र होइन स्याटलाइटको ठेक्का। फोरजी विस्तार ठेक्का। अप्टिकल फाइवर विस्तार ठेक्का। मोवाइल डिभाइस म्यानेजमेन्ट सिष्टम ठेक्का, सामुदायिक विद्यालयमा कम्प्युटरल्याब स्थापना गर्ने स्वास्थ्य संस्था, वडा, इकाइ, विद्यालय सबै ठाउँमा निशुल्क इन्टरनेट सेवा पुर्याउने यी सबै ठेक्काका बारेमा प्रधानमन्त्रीलाई सबै कुरा थाहा थियो,’ उनले भने, ‘परिस्थिति नियन्त्रण बाहिर गइसकेपछाडि अहिले गोकुल बास्कोटालाई बलिको बोका बनाइएको छ भनेर नागरिकले भन्दैछन् तपाईंलाई थाहा छ?’
सांसद थापाले बालुवाटारमा ऐना छ/छैन भनेर प्रधानमन्त्रीलाई प्रश्न गरे।
‘प्रधानमन्त्रीजी भ्रष्टचारीको अनुहार हेर्दिन भनेर पटकपटक दोहोर्याउनुभएको छ। तर नागरिकहरू तपाईंलाई प्रश्न गर्दैछन् बालुवाटारमा ऐना छ/छैन प्रश्न गर्दैछन् तपाईंलाई थाहा छ?,’ उनले भने।