प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका शीर्ष नेताले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट अन्तर्राष्ट्रिय सम्बन्धमा जटिलता ल्याएको निष्कर्ष निकालेका छन्।
जसपा नेताको आग्रहमा मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा भएको दुबै पार्टीका शीर्ष नेताबीच बैठकमा कूटनीतिक सम्बन्धमा सरकारले अपरिपक्वता देखाएको निष्कर्ष निकालिएको हो।
दुई दलका नेताहरूबीच मुख्य गरी तीन एजेन्डामा छलफल भएका थिए।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार छलफलको पहिलो विषय संघीय संसदको अधिवेशन अन्त्यसम्बन्धी रहेको थियो।
‘संसदको अधिवेशन हठात् अन्त्य गरिएको विषयमा दुबै दलका नेताहरूबीच साझा रूपमा असहमति प्रकट भयो,’ उनले भने।
उक्त छलफलमा सभापति देउवाले सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले पनि सरकारले संसद अधिवेशन अन्त्य गरेकोमा आपत्ति जनाएको उल्लेख गरेका थिए।
‘संसदको अधिवेशन हठात् अन्त्य गरिएको विषयलाई गम्भीरतापूर्वक लिइएको छ। संसदमा महत्वपूर्ण विधेयक र प्रस्ताव विचाराधीन रहेको तथ्यलाई नजरअन्दाज गरी संसदको चालु बैठक आह्वान र अन्त्य गर्ने निश्चित पद्धति र परम्परा उलंघन गरेर अधिवेशन स्थगित गरिनु अत्यन्त आपत्तिजनक छ,’ कांग्रेस केन्द्रीय समितिले गरेको निर्णयमा भनिएको थियो।
उक्त निर्णय नै देउवाले जसपा नेतालाई सुनाएका थिए।
छलफलमा उठेको अर्को विषय कूटनीतिक सम्बन्धबारे थियो। सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा अपरिपक्वता देखाएको नेताहरूको भनाइ थियो।
‘राष्ट्रिय राजनीतिमा बढ्दो गम्भीरता र अन्तर्राष्ट्रिय सम्बन्धमा अपरिपक्वताले बढ्दो जटिलताबारे छलफल भएको हो,’ शर्माले भने।
नक्सा जारी गरेपछि लिम्पियाधुरालगायत भूमिमा नेपालको पूर्ण स्वामित्व र कालापानीलगायतबाट भारतीय सेना फिर्ता गर्न सरकारले भारतसँग कूटनीतिक तवरबाट वार्ताको ठोस पहल नगरेको भन्दै आलोचना भएको थियो।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको आन्तरिक विवादमा आफूहरू निरपेक्ष रहेको पनि उनीहरूको भनाइ छ। उक्त बैठकमा पछिल्लो समय चिनियाँ राजदूतले नेकपा नेताहरू भेटेकोबारे पनि चर्चा भएको थियो।
बैठकले कोरोना महामारीमा सरकारले प्रभावकारी काम गर्न नसकेकोमा आलोचना गरेको छ।
‘कोरोनाले कयौंको मृत्यु र हजारौं संक्रमित भएको स्थितिमा व्यापक परीक्षण, उपचार तथा राहत प्रबन्ध गर्न र विदेशमा अप्ठेरोमा रहेका नेपाली नागरिकलाई नि:शुल्क उद्धार गर्न सरकार गम्भीर नभएकोमा बैठकले आपत्तिसमेत जनाएको छ,’ प्रवक्ता शर्माले भने।
उक्त छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए। जसपाबाट अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई उपस्थित थिए।
उनीहरूबीच मंगलबार बिहान करिब एक घण्टा छलफल भएको थियो। जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले समसामयिक राजनीतिक घटनाक्रम, संसद अधिवेशन अन्त्य र नागरिकतालगायत विधेयकमाथि समीक्षा गरिएको जानकारी दिए।
‘प्रधानमन्त्रीलाई जनताको मतलब छैन। महामारीका बेला जनताको चिन्ता छैन, कसरी कुर्सी बचाउने भनेर प्रधानमन्त्रीजी लागिरहनुभएको छ,’ महतोले भने, ‘जनतालाई सास्ती छ। जनताका कुरा राख्ने प्लेटफर्म संसद पनि हठात् अन्त्य गरिदिएकोबारे असन्तुष्टि रह्यो।’
पछिल्लो समय कांग्रेस र जसपा नजिकिएको छ। प्रतिनिधिसभाको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट बहुमतका आधारमा वैवाहिक अंगीकृत नागरिकतामा सात वर्षे प्रावधान राखिएपछि दुबै दलले विरोध गरेका थिए।
उनीहरूले नागरिकता ऐन २०६३ अनुसार नै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने बताउने गरेका छन्। सात वर्षे प्रावधान राख्दा व्यवहारिक समस्या हुने उनीहरूको तर्क छ।
तर नागरिकतालगायत विधेयक संसदमा छलफल हुन भने पाएन। असार १८ गते सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेकी थिइन्।