द्वन्द्वकालीन समयमा नापी विभागका कर्मचारीहरूले गरेको कमजोरीका कारण नेपाली भूमिमाथि भारतीय पक्षले अतिक्रमण गरिरहेका छन्।
सरकारले सुस्ता र कालापानी क्षेत्रबाहेक करिब ९८ प्रतिशत सीमा विवाद समाधान भएको बताएपछि कञ्चनपुर लगायतका क्षेत्रमा अझै सीमा विवाद सुल्झिन सकेको छैन।
द्वन्द्वकालीन समयमा नापी विभागको टोलीले भारतीय टोलीसँग भारततर्फ नै बसेर नाप नक्सा गरी जारी भएको ‘स्ट्रिप नक्सा’का कारण सयौं विघा जमिनमा भारतीय पक्षले दाबी गरिरहेको छ।
त्यो जमिनको स्वामित्व नेपालीको र भोगचलन भारतीय पक्षले गरिरहेका छन्। अन्तर्राष्ट्रिय सीमा सरोकार समिति, कञ्चनपुरका संयोजक पल्लवराज भट्टले २०५८ देखि २०६० को द्वन्द्वकालीन समयमा सुरक्षाको कारण देखाउँदै नेपाली नापी विभागको टोली समेतले भारततर्फबाटै नै सम्पूर्ण काम फत्ते गरेर ‘स्ट्रिप नक्सा’ जारी गरेको बताए।
उनले भने, ‘नापी टोली भारतीय टोलीसँग भारततिर नै बस्यो। उतैबाट सरोकारवालसँग कसैसँग समन्वय नगरी उतैबाट नक्सा जारी भयो। भारततिरै नापी गरिएको हुनाले नापी विभागका मान्छे जो त्यतिखेर खटिएका थिए उहाँहरूको कमजोरी हो। उहाँहरू चुकेको हो। नियतवस गरेको हो। या डिफेन्स गर्न नसकेर गरेको हो। उहाँहरूको कमजोरी छ।’
स्ट्रिप नक्सामा दुबै देशबीच हस्ताक्षर गर्ने सहमति अझै बनेको छैन।
कालापनी र सुस्ता क्षेत्रको विवाद समाधान गरेर मात्रै स्ट्रिप नक्सामा हस्ताक्षर गरी सम्झौता गर्ने नेपाल सरकारको अडान भए पनि नापी विभागका कर्मचारीहरूले भने हस्ताक्षर गरिसकेका छन्।
सीमा समस्या समाधानका लागि पुराना नक्सा, तथ्य र प्रमाणलाई आधार मान्दै भारतीय पक्षसँग वार्ता गर्नुपर्ने सुझाव उनको छ।
नेपाली पक्षले नापनक्सा गर्ने समयमा दबावमा परेर वा नियतवस जे भए पनि कमजोरी गरेको उल्लेख गर्दै उनले त्यसलाई सच्याउँदै संलग्न कर्मचारीहरूलाई देशद्रोहीको मुद्दा लगाउनुपर्ने बताए।
उनले भने, ‘कमजोरी भएको छ। त्यो सच्याउनुपर्छ। कमजोरी गर्ने कर्मचारीलाई देशद्रोहीको मुद्दा लगाएर कारबाही गर्नुपर्छ। देशको सीमानामा राज्यको सर्वेक्षक गएर भूमि भारत गाँभ्ने कुरा सामान्य होइन। उहाँहरूलाई मुद्दा लगाएर जेलमा हाल्नुपर्छ र त्रृटि भएको नक्सा सच्याउनलाई भारतसँग कूटनीतिक ढंगले अगाडि बढ्नुपर्छ।’
बुधबार नक्सा सच्याउन माग गर्दै आएका कञ्चनपुरका स्थानीय र जनप्रतिनिधिलगायत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री, नापी विभाग र परराष्ट्रका अधिकारीसँग संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको थियो।
दुवैतर्फको प्रतिनिधिमूलक संयन्त्रहरू बनाएर सीमा नक्सा तयार गर्ने क्रममा २०४५ देखि २०४६ सम्म कञ्चनपुर जिल्लाको नदी क्षेत्रको नक्सा तयार भएको थियो। २०५६ देखि २०६१ सम्म जमिन क्षेत्रको नक्सा तयारी गर्ने काम सम्पन्न भएको थियो।