पुष्कमल दाहाल प्रचण्डले सूर्य चिन्ह आफूहरूले नपाए देशमा ‘कयामत’ हुने चेतावनी दिएका छन्।
प्रचण्ड–नेपाल पक्षधर नेकपाको काठमाडौं जिल्ला भेलालाई बुधबार सम्बोधन गर्दै प्रचण्डले पार्टीको नाम नेकपा र चुनाव चिन्ह सूर्य आफूहरूकै हुने दाबी गर्दै यदि त्यस्तो नभए यहाँ कयामत आउने बताएका हुन्।
‘म यो विश्वास तपाईँहरूलाई दिलाउन चाहन्छु। यदि पार्टीको नाम नेकपा र सूर्य चुनाव चिन्ह भएन भने यहाँ कयामत आउँछ। आँधि, हुरी, बतास आउँछ,’ प्रचण्डले भने, ‘केपी ओलीले संविधाान मिचेर मुटुमा छुरा प्रहार गरेजस्तै अरू संवैधानिक निकायले पनि त्यसै गरे भने जनता हेरेर बस्दैनन्। आँधि, हुरी बतास आउँछ। कयामत आउँछ।’
आफूले संवैधानि निकायहरू निर्वाचन आयोग र सर्वोच्च अदालतमाथि पुरा भरोसा गरेको भन्दै उनले केपी ओलीको नौटंकी र राजनीतिक जोकरको पछाडि कोही नलाग्ने बताए।
‘म निर्वाचन आयोग र सर्वोच्च अदालतलाई भरोसा गर्न चाहन्छु। म सँधै भन्न चाहन्छु हामीलाई उहाँहरूको भरोसा छ। तर अब केपी ओलीको नौटंकी र राजनीतिक जोकरको पछाडि कोही जनता लाग्नेछैनन्,’ उनले भने।
उनले ७२ प्रतिशत केन्द्रीय सदस्य भएको पार्टी कसरी भगौडा हुन्छ भन्दै प्रश्न गरेका छन्। ‘७२ प्रतिशत चै भगौडा अनि ३० प्रतिशत पनि नभएको चै कसरी रैथाने,’ प्रचण्डले भने,‘ म कान बन्द गरौं कि, आँखा छोपौं?’