निजामती सेवा विधेयकमा दुई वर्षे कुलिङ पिरियड राख्ने प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले निर्णय गरेपछि मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा सचिवहरूले कुलिङ पिरियड नै नराख्न दबाब दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर उनीहरूले कुलिङ पिरियड हटाउन पहल गरिदिन माग गरिसकेका छन्।
यसै क्रममा मुख्यसचिव अर्यालसहित सचिवहरू बिहीबार सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई भेटेका थिए। त्यस क्रममा सिंहदरबार परिसरमा पत्रकारहरूले मुख्यसचिवसहित सचिवहरूको फोटो र भिडिओ खिचेका थिए।
दुई वर्षे कुलिङ पिरियड हटाउने लबिइङमा लागेका संसदका महासचिव पद्मप्रसाद पाण्डेयले सिंहदरबार परिसरमा फोटो खिचेको भन्दै कानुनी कारबाहीको धम्की दिएका छन्।
निजामती कर्मचारीहरूलाई सेवाबाट निवृत्त भएपछि दुई वर्षपछि मात्रै राजनीतिक र संवैधानिक नियुक्तिमा जान पाउने गरी गर्न लागिएको कुलिङ पिरियडको प्रबन्ध राख्न नहुने लबिङमा महासचिव पाण्डेयलगायत सचिवहरू छन्।
पत्रकारहरूले फोटो/भिडिओ खिच्दा मुख्यसचिव र अरू सचिवहरूले केही प्रतिक्रिया जनाएका थिएनन् तर तस्बिर खिच्दा संसदका महासचिव पाण्डेयले हातमा बोकेको नोटबुकले मुख छोपेका थिए।
आफ्नो फोटो खिचेको भन्दै उनले आपत्ति प्रकट गर्दै कानुनी प्रबन्ध सम्झाएका छन्।
‘संसदका महासचिवले किन मुख छोपे भनी प्रश्न गरिएकोप्रति मेरो ध्यानाकर्षण भएको छ। नेपालको संविधानको धारा १६ को उपधारा (१) ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भन्ने व्यवस्था गरेको छ। त्यस्तै धारा २८ मा व्यक्तिको गोपनियताको हकको व्यवस्था गरेको छ। मुलुकी अपराधसंहिता, २०७४ को दफा २९५ अनुसार कसैले कुनै व्यक्तिको अनुमतिबिना फोटो खिच्ने कार्य फौजदारी कसूर हुन्छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको स्टाटसमा उल्लेख छ।
यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको पनि पाण्डेयले सम्झाएका छन्।
‘मेरो सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण र उल्लेखित कानूनी प्रवन्धको उल्लंघन गर्नेहरूलाई संवैधानिक तथा कानुनी प्रवन्धको जानकारी गराउने उद्देश्यले फोटो खिच्ने अनुमति प्रदान गर्न अस्वीकार गरेको व्यहोरा जानकारी गराउन चाहन्छु,’ उनले भनेका छन्।
कुलिङ पिरियड हटाउनुपर्ने लविङमा सचिवहरू लागेकोमा भने आलोचना भइरहेको छ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरूको सहमतिमा पारित भएको उक्त व्यवस्था उल्टाउन मुख्यसचिव र सचिवहरू लागेपछि आलोचना भइरहेको हो।
यो पनि:
'कुलिङ पिरियड' उल्ट्याउन हुल बाँधेर दबाबमा उत्रिए सचिवहरू
'कुलिङ पिरियड' हटाउन र अवकाशको उमेर हद बढाउन मुख्य सचिवकै नेतृत्वमा दबाब दिँदै सचिवहरू
कुलिङ पिरियड सचिवहरूको 'बार्गेनिङ मात्र'