नेपाली भूमिमा जन्मिएका र देशप्रति अलिकति चासो राख्ने जो कोहीले पनि चिन्दछ नेपालको एउटा गाउँ, सुस्ता। मैले अलिअलि जान्ने समयदेखि हालसम्म सयौँ हजारौँ पटक टेलिभिजन, पत्रपत्रिका, रेडियोमा यस गाउँको समाचारहरू आए होला। कहिले सुस्तामा भारतीय सेना छिर्यो, कहिले सुस्तामा बाढी पस्यो त कहिले सुस्ताका लालपुर्जाविहीन जनताहरू नाममा अनेकौँ लेखहरू पढियो।
आखिर एउटा गाउँपालिकाको एउटा वडाको केही भूभाग मात्र पर्ने क्षेत्र यदि चर्चित किन छ त? त्यसको एक मात्र कारण छ देशको सार्वभौमिकता।
लुम्बिनी प्रदेशमा कार्यरत रहेको करिब डेढ वर्ष पुग्न लाग्दा पनि सुस्ता पुग्ने अवसर जुरेको थिएन। झोलुंगे पुल वारिसम्म पुगे पनि पारि कस्तो होला भन्ने सधैँ सधैँ कौतुहलता लागि रहन्थ्यो। अकस्मात् यही गएको कात्तिकको अन्त्य साता त्यस्तो अवसर जुट्यो। केही समयको लागि भए पनि उही दिन पुगेर फर्किने कार्यक्रम जुर्यो। त्यसका लागि उपसचिव मञ्जु पोखरेल धन्यवादको पात्र हुनुहुन्छ।
बुटवलबाट दिउँसो १ बजे यात्रा तय गरी गजेन्द्रमोक्ष धाम हुँदै सुस्ता पुग्दै गर्दा झमक्क साँझ परिसकेको थियो। बाटैमा गण्डकी ब्यारेज नजिकै नेपालको १० मुसा नअट्ने जस्तो नहर र भारतको नेपाली भूमिबाट जाने २० औँ हात्ती छिर्ने नहर देख्दा मनमा कता-कता चसक्क भइरहन्थ्यो। पहिल्यै समन्वय भइसकेकाले सशस्त्र प्रहरीको इन्स्पेक्टर बलराम गौतम झोलुंगे पुलमा कुरिरहनु भएको थियो। बाटो अलमलिएर हामीले उहाँलाई अझै केही बेर कुरायौँ।
त्यहाँ पुग्दा झमक्क साँझ परिसकेको र चिसो बढिसकेकाले हामी पुलमा पुगेर फर्किने सोचमा थियौँ। तर इन्स्पेक्टर साबले यहाँ आइपुगेपछि पारि नपुगी त म जानै दिँदिन भन्न थाल्नुभयो। उहाँको त्यो स्नेहपूर्ण जिद्दीलाई हामीले खुसीसाथ स्विकार्यौँ।
संयोगले इन्स्पेक्टर साब पनि मेरै जिल्ला पर्वतको हुनुहुने रहेछ। यो कस्तो संयोग होला, २ जना माटोको नाताले जोडिएका मान्छे पहिलो पटक यस्तो ठाउँमा भेटिएका थिए जहाँको माटोले अझै आफ्नो देशको अस्थित्व पाउन सङ्घर्षरत छ। माटोको नाता बडो गजको हुन्छ। अलि अघिसम्म को हो को अपरिचित मान्छे एकाएक आफ्नै सँगै हुर्के-बढे जस्तो भयो। त्यसपछि नारायणी नदीको चिसो हावा खाँदै हामी लाग्यौँ नारायणीको पल्लो किनार।
स्थानीय पूर्वाधार विभागले अघिल्लो वर्ष असोजमा २३ करोडको लागतमा १५ सय ८१ मिटर लामो पुल निर्माण सम्पन्न गरेपश्चात् अहिले सुस्ताको नारायणीपारि वडा नं ५ मा जान निकै सहज भएको रहेछ। त्यसभन्दा पहिला जोखिमपूर्ण डुङ्गामा यात्रा गर्नुपर्ने रहेछ। पुल बनिसकेपछि पुलबाटै प्रसारण लाइन तानेर विद्युत् प्राधिकरणले विद्युतीकरणको काम पनि गरिसकेको रहेछ।
करिब ८/१० मिनेट जतिको झोलुङ्गे पुलको यात्रापछि हामी मोटरसाइकलमै सुस्ता गाउँ घुम्न लाग्यौँ। हामीले हाम्रा सिमानाका विषयमा आफ्ना जिज्ञासा राख्यौँ। इन्स्पेक्टर साबले जवाफ दिँदै जानुभयो।
त्यहाँ गएपछि बल्ल थाहा भयो सुस्तामा हाम्रा सीमा स्तम्भ रहेनछन्। सिमलका रुख र ढुङ्गाको साँधको आधारमा हाम्रो अन्तर्राष्ट्रिय सिमाना निर्धारण भएको रहेछ। करिब ५०/६० जना प्रतिक्याम्प सैनिकसहितको भारतको अर्ध सैनिक बलले ३ तिरबाट सुस्तालाई घेर्दा जवाफमा हामीले इन्स्पेक्टरको कमान्डमा २०/२५ जना सशस्त्र र असई साबको कमान्डमा १०/१५ जनपथ प्रहरी खटाएछौँ। कुनै अमुक व्यक्तिको सुरक्षामा सयौँ प्रहरी खटाउन सक्ने हाम्रो प्रणालीले देशका लागी न्यूनतम सुरक्षाकर्मी खटाउन नसकेको देख्दा दुख पनि लाग्यो।
करिब १०००-१५०० जनसङ्ख्या रहेको उक्त गाउँमा सरकारी संयन्त्रको रूपमा एउटा स्कुल, एउटा प्रहरी कार्यालय, एउटा सशस्त्र प्रहरी बल यत्ति छ। नजिकै एउटा मदिर अनि एउटा मस्जिद छ। जब भारतीय अर्ध सैनिक बल घुसपैठ गर्छ, जब नारायणी नदीले रौद्र रूप देखाउँछ नजिकैको मस्जिदमा माइकिङ हुने रहेछ। त्यसपछि को हिन्दु को मुस्लिम, को प्रहरी को जनता कुटो कोदालो बोकेर सबै प्रतिकारमा उत्रने रहेछन्।
नारायणी नदीको किनारै किनार हिँड्दै गर्दा माटो बोकेर ठडाइएका, डोरीले बाँधेर अडाइएका अस्थायी तटबन्धहरू देखेँ। पारिपट्टि भारतले बनाएका पक्की संरचनाहरू जूनको मधुरो प्रकाशमा देखिन्थे। त्यति गरेर जोगाएको जग्गाको सुस्तामा बस्ने कसैसँग पनि लालपुर्जा छैन। पटक पटक नापीको प्रयास भए पनि कहिले भारतीय अर्धसैनिक बलले नापीको लागि गएको टोलीलाई नै अपहरण गर्ने, कहिले सामाग्री फ्याँकिदिने त कहिले बितरित लालपुर्जालाई भारतीय पक्षले नमानिइदिने। यस्तै यस्तै कारणले त्यहाँको जनता भूमिहीन छन्।
जताततै खुला सिमाना रहेको नेपाल-भारत सिमाना सुस्तामा फेरि भिन्न छ। नजिकैको भारतीय बजारमा नेपालीले प्रवेश नै नपाउने रहेछन्। त्यसैले एक पोका नुन पनि त्यत्रो पुल तरेर नेपाली भूभाग हुँदै लैजानुपर्ने बाध्यता रहेछ। त्यहाँका मानिसहरूका यस्तै-यस्तै कहानी सुनाउँदै इन्स्पेक्टर साबले सुस्ताको एक चक्कर घुमाउनुभयो। नारायणी नदीलाई पनि खुबै मोहनी लाएर हरेक वर्ष नेपाल तिरै सर्दै रहेछ। यो वर्ष समयमै तटबन्ध निर्माण गरी रोकथाम नगरिए अर्को वर्ष सुस्ता नरहन पनि सक्छ।
पहिले करिब ४० हजार हेक्टरमा फैलिएको सुस्ता अहिले आधिकारिक रूपमा लगभग सात हजार हेक्टर मात्र नेपालसँगै छ। नारायणी नदीले धार परिवर्तन गरेर वर आएपछि स्पष्ट रूपमा नेपालको रहेको करिब १९ हजार हेक्टर जमिन भारतले विवादित मान्छ भने बाँकी करिब १४ हजार हेक्टर भारतको अधीनमा गइसकेछ।
सुस्ता नीति र नियतिले ठगिए पनि प्रकृतिबाट ठगिएको गाउँ भने पक्कै होइन। लुम्बिनी प्रदेशका ५० औँ पालिकाहरू घुम्दै गर्दा सुस्तामा जस्तो व्यावसायिक नगदेबाली कुनै स्थानीय तहमा मैले देखिनँ। उखु, केरा र तोरीको हब रहेको यो क्षेत्रको आफ्नै विडम्बना छ। उत्पादित उखु भारत निर्यात गर्न भारतले अनुमति दिँदैन, वारि निकासी गर्न झोलुंगे पुल मात्र आगमनको माध्यम हो। त्यसैले त्यहाँका किसानहरू आफ्नै पहलमा स-साना भेली उत्पादन गर्ने मिलहरू चलाएर दैनिक गुजारा गरिरहेका छन्।
सुस्ता गाउँ घुम्दै गर्दा अनायासै देशप्रति माया लाग्यो। अझ बढी मधेसका सिमानाका नागरिकहरूप्रति माया लाग्यो। हामीले अलिक कालो, हल्का बिहारी लवज हुने बित्तिकै कयौँ मानिसहरूलाई राष्ट्रियताको अग्निपरीक्षामा उतार्छौँ। तर साँचो कुरा के हो भने यदि उनीहरूले सिमानामा बसेर रगत, पसिना नबगाउने हो भने माइतीघरमा बसेर कुनै अमुक देशको विरुद्धमा नारा लगाउने हालतसम्म आज हामी हुने थिएनौँ। दोधारा चाँदनीपछि सुस्तामा मैले केही बेर आफूलाई त्यही ठाउँमा राखेर हेरेँ। मेरो निष्कर्ष फेरिएन, म तराईका भूमिपुत्रहरूद्वारा संरक्षित एक नेपाली हुँ। उहाँहरूप्रति सदा सम्मान र गर्व रहनेछ।
करिब पौने घण्टा सुस्ता घुमेपछि हामी केही बेर सशस्त्र प्रहरी बल सुस्ताको कार्यालयमा रोकियौँ। इन्स्पेक्टर साबले तातो चियासहित त्यहाँका चुनौती, अवसर र सम्भावनाका बारेमा बताउनुभयो। मनबाटै लाग्यो, सुस्ताजस्ता अति संवेदनशील ठाउँका नागरिक र कर्मचारीलाई राज्यले विशेष व्यवस्था गर्नुपर्ने हो। हामी कहीँ न कहीँ त्यसमा चुकेका छौँ।
प्रतिकुल अवस्थामा पनि डटेर यो देशको रक्षाको लागि खटिनुभएका प्रहरी र जनतालाई धन्यवाद भन्यौँ र हामीले पनि आ-आफ्नो ठाउँबाट गर्न सकिने सहयोगमा कमी हुन नदिने वचन दियौँ। भोलिपल्ट बिहानैको कामको लागि फर्किनै पर्ने बाध्यतासँगै राति आठ बजे सुस्ताको न्यानो माया बोकेर हामी फर्कियौँ, फेरि आउने बाचा गरेर।