यहाँ विश्वास पनि कसको गर्नु
देश बनाउँछु भन्दै मिठा-मिठा
गफ मार्ने नेताले त बनाउन सकेनन्
तिमी आएर देश बनाउँछु भन्दा कसरी विश्वास गर्नु!
सायद यो मुलुक बनाउने नेता नै जन्मेन
जन्मेकाले बनाउन जानेन वा सकेनन
त्यसैले त होला— यो देश बन्नै नसकेको।
मैले पढ्दै गर्दा स्कुल/कलेजमा नेतृत्व बारे खुब पढेँ
गुरुहरूले नेतृत्वका गुणहरू खुबै बुझाउनु हुन्थ्यो
तर आज राजनीति बुझ्न थालेपछि थाहा भयो—
यहाँ नेतृत्वको परिभाषा नै उल्टो रहेछ
पहिला 'म' अनि 'म' पश्चात् देश रहेछ
कि हामीले पढेको लिडरसिप फरक हो
वा यो मुलुकको लिडरसिप फरक हो
बुझ्नै गाह्रो, कसैलाई बुझाउनै गाह्रो!
जब ‘म’ भन्ने शब्दले प्राथमिकता पाउँछ
तब ‘देश’ भन्ने कुरा स्वतः गौण बन्छ
यहाँ देश कसैलाई बनाउनु नै छैन
बनाउनु छ त केवल ‘म’ लाई बनाउनु छ।
सायद यस्तो पनि हुनसक्छ
यो मुलुक बनाउने नेता नै जन्मेन
नेतामा मुलुक बनाउन चिन्ता नै भएन
भयो केवल आफ्नै दाल–रोटीको
आफ्नै पद, शक्ति र पहिचानको।
त्यसैले भो, अब तिमी नेता नबन
बन्नै छ भने—
यो मुलुक बनाउने नेता बन
यो मुलुकको चिन्ता गर्ने नेता बन।