भक्तपुर नगरको मुख्य केन्द्र तःमारी टोलमा नेपालकै सबैभन्दा अग्लो छाने शैलीको ङातापोल वा न्यातपोल देग आकाश नै छुने गरी उभिएको छ। जति सगरमाथा उँचो चुलिएको नेपालको शान अडिग उभिएको छ, त्यति नै उँचो, अडिग, भव्य, आलिशान र आकर्षक नेपालकै उँचो न्यातपोल नेपालको मुख्य छाने शैलीको मन्दिर हो।
नेवारी भाषामा ‘न्यात’ भन्नाले पाँच र ‘पोल’ भन्नाले छानालाई जनाइन्छ। अतएव पाँच तलाको छाना भएको मन्दिर भएकोले नेवारी भाषामा न्यातपोल वा ङातापोल भनेर प्रख्यात रहेको छ। नेपाली वास्तुकलाको उच्च कोटिको नमुना पाँचतले मन्दिरलाई मान्न सकिन्छ। यसको विशालता, सूक्ष्म बुट्टेदार काष्ठकला, शिल्पकला, बृहत् उचाइ र भव्यताले जो कोही मानिस एवम् पर्यटकहरू तःमारी चोकमा एकैछिन टक्क अडिन्छन् र आफ्नो टाउको उचालेर आकाशैसम्म नियाल्छन्, ताकि न्यातपोलको सौन्दर्य धित नमरुञ्जेल शोभन गर्न सकियोस्।
एक कला पारखी मनुष्य त अझै तःमारी टोलको जुनसुकै कुनामा बसेर पनि घण्टौँ नियालिरहन सक्छ, त्यति मोह तथा आकर्षण आजको समयमा पनि पाँचतले मन्दिरले बोकिरहेको छ। पाँचतले मन्दिरको भव्यता र बृहत् उचाइजस्तै यसको इतिहास, मिथकीय कथाहरू, किम्बदन्ती, निर्माणशैली, निर्माण सामग्री, राजा भूपतीन्द्र मल्लको ऐतिहासिक एवम् साहसिक कार्य कुशलताको बयानहरू पनि उतिकै रोचक र भव्य लाग्दछ। दक्षिणाभीमुख पाँचतले मन्दिरले समग्र नेपाली वास्तुकला र वास्तुशिल्पकलामा संसारकै उच्च कोटिको ‘मास्टर पिस’ सम्पदा भई उभिएको हो।
विसं १७५९ अर्थात नेसं ८२२ मा आजभन्दा ३२३ वर्ष अगाडि भक्तपुरका प्रतापी राजा भूपतीन्द्र मल्लले न्यातपोल मन्दिर भक्तपुरको मध्य भागमा अवस्थित तःमारी टोलमा निर्माण गर्न लगाए। १८ औँ शताब्दीमा निर्मित यस मन्दिरको उचाइ ३३.२३ मिटर अर्थात् १०८ फिट अग्लो नेपाली छाने शैलीको मन्दिर हो। कतिले प्यागोडा शैली भन्न रुचाए पनि यस किसिमको छाने शैलीको देग/मन्दिर नेपाली वास्तुकलाको देन भएको कारण यसलाई नेपाली शैलीको मन्दिर, छाने शैलीको मन्दिर अथवा धेरै तले मन्दिर भनेर स्विकारिएको पाइन्छ।
नेपाल मण्डलभित्रको हरेक मठ, मन्दिर, देवल, हिति, चैत्य र विहारहरू प्राचीन कालदेखि विश्व जगतको निम्ति आकर्षणको केन्द्रको रूपमा रहिआएको छ। पाँचतले मन्दिर आजको समयमा बनाउन परेको भए कति समय लाग्थ्यो होला त? १ वर्ष, २ वर्ष या ५ वर्ष? हाम्रो मस्तिष्कले अझै यो समयावधिभन्दा बढी नै आकलन गर्न पुग्छ होला। तर पाँचतले मन्दिरको निर्माण ६ महिनामा सम्पन्न भएको थियो भन्दा कतिलाई पत्याउनै मुस्किल परेको होला, सत्य यही नै हो।
पाँचतले मन्दिरको जगनिर्माण पनि पाँचै तहले वर्गाकार सतह अर्थात् प्लिन्थ निर्माण भएका छन्। मन्दिरको चार कुनामा पाँचै वटा गणेशका मन्दिरहरू छन् भने मन्दिरको दक्षिण पश्चिम कुनामा जोर गणेश स्थापना गरिएको छ। पाँचतले मन्दिर जन श्रमदानबाट निर्माण गरिएको थियो। सो समय भक्तपुरको मात्र नभई ठिमी, नगदेश, बनेपा, नाला लगायत सात गाउँको सहरहरूबाट पनि जनताहरू श्रमदानको निम्ति बोलाइएको थियो। मन्दिरको लागि आवश्यक निर्माण सामग्रीहरू ढुङ्गा, माटो, काठ र इँटाहरू वरपरका सहरहरूबाट समेत आयात गरिएको थियो। यसको निर्माणमा राजा स्वयं पनि श्रमदानमा सहभागी भएर इँटा बोकेको इतिहास पाइन्छ।
यस स्थानमा पहिले पनि न्यातपोल नामको मन्दिर रहेको थियो। पछि राजा भूपतीन्द्र मल्लले यहाँको जग्गा अधिग्रहण गरी हालको स्वरूपमा भव्य पाँचतले मन्दिर स्थापना गर्न लगाएका थिए। भनिन्छ सो स्थानको विस्थापित जनताहरू भक्तपुरको पलिखेल भन्ने ठाउँमा स्थानान्तरण गरिएको थियो। ती विस्थापित मध्ये एक प्रसिद्ध नाउ कहलिएको नाम हो, दुखिराम भारो। दुखिराम भारोले आफ्नो जग्गा अधिग्रहण गरिएको दुःखमा रामायण समेत रचना गरी आफ्नो दुःख र पीडा व्यक्त गरिएको मार्मिक इतिहास पाइन्छ। दुखिराम भारोले आफ्नो जग्गा दिन नचाहँदा नचाहँदै पनि जग्गा अधिग्रहण गरिएबाट विरक्त भएका थिए।
मन्दिरको शोभा र शक्ति दर्शाउन मन्दिरको भुइँको सतहबाट पाँच तलाको जग अर्थात् प्लिन्थमा पाँच वटा ढुङ्गाको बडेमान अजङ्गको विभिन्न मूर्तिहरू स्थापित छन्। मन्दिरको पहिलो सतहमा दुईजना जैमल र प्रताप नामका पहलवानहरू विराजमान छन्। त्यसमाथि क्रमशः एकजोडा हात्ती, सिंह, गरुड आकृतिको शार्दूल र अन्तम सिंघिनी र ब्याघ्रिनी देवीको कलात्मक प्रस्तर मूर्तिहरू छन्। ती मूर्तिहरूको शक्ति साधारण अर्थमा दश गुणाले क्रमश: पहलवान हुँदै देवीसम्म बढ्दै गएको अर्थमा मन्दिरको गर्भगृह भित्र रहेको सिद्धिलक्ष्मीको शक्ति पनि प्रतिकात्मक रूपमा शक्तिशाली रहेको अर्थ्याउन सकिन्छ वा तान्त्रिक सिद्धिलक्ष्मी देवी शक्तिशाली देवीको रूपमा दर्साउन खोजिएको छ।
न्यातपोल मन्दिर निर्माणको लागि सम्पूर्ण आवश्यक सामग्रीहरू विशेषत इँटा, माटो, ढुङ्गा, काठ, फलाम र ढलोट जस्ता मौलिक निर्माण सामग्रीहरू प्रयोग भएका छन्। इँटा, घण्टाहरू, गजुर निर्माण गर्न व्यापक रूपमा इँटाभट्टा र भट्टीहरू समेत निर्माण गरिएका थिए। मन्दिर निर्माण गर्न आ-आफ्नो जात अनुसारको कालिगढहरूलाई कार्य विभाजन गरि सुम्पिएको थियो। मौलिक निर्माण सामग्रीहरूको प्रयोगबाट बनेका मन्दिर, राजदरबार र राजप्रसादहरू अलौकिक रूपमा काठमाडौँ खाल्डोभित्र रहेका छन्।
जुन बेला आजको जस्तो आधुनिक उपकरणहरू थिएन, त्यो समयको शारीरिक श्रम गर्नुपर्ने जमानामा पनि त्यति ठूल्ठूला काठ, ढुङ्गा र इँटा जस्ता सामग्रीहरूको पारवहन कसरी पो सम्भव भयो होला? कसरी बोकेर ल्याए होलान्? हातको मेहनतले सूक्ष्म सजीव बुट्टाहरू प्रस्तरहरूमा कसरी पो कोरे होलान्? काठको तोरण, टुँडाल, झ्याल र थामहरूमा सानो सानो बुट्टाहरूले सजीव ढङ्गमा कसरी पो जीवन दिन सके होलान्? त्यस्तो उचाइमा कसरी लगे होला धार्नी गरुङ्गो गजुर र घण्टाहरू? आकार, प्रकार, लम्बाई चौडाई र उचाईको अनुपात आजको जस्तो मेशिनरी यन्त्र र औजार नभएको समयमा कसरी पो आँखैले थम्याउन गाह्रो पर्ने गरी टक्क मिलाएर मन्दिर बनाउन जानेका होलान्? कसरी जाने होलान् मन्दिरको छानाको कोण र त्यसको ढल्काई मिलाउन? पाँचतले मन्दिरको नक्सा कसरी पो बनाउन सिके होलान्? प्रस्तरहरू त्यतिको मार्वल जस्तो चिल्लो घोट्न सिके? कसरी काटे होलान् चिल्लो गरेर ढुङ्गाहरू? निर्जीव काठ, ढुङ्गा र माटोमा पनि कसरी पो प्राण भरेर जीवन्त रूप प्रदान गर्न सके? प्रश्नहरू बाढीजस्तो ओर्लिन्छन् मानसपटलभरि।
आजका घाघडान इन्जिनियर र वास्तुविदहरूलाई चक्मा दिइरहेको तथा तिनीहरूले पनि अचम्भित भएर नियाल्नु पर्ने अति उत्कृष्ट र बेजोड वास्तुकला हो, न्यातपोल। ढुङ्गा माटोको भार बहन गर्न सक्ने गारो, काठको थाम, निदाल, दलिन, टुँडाल र बलियो जग नै यसको मुख्य इन्जिनियरिङ पाटो हो। न्यातपोल देवलको गजुरको तौल नै पनि ४० धार्नी रहेबाट यस संरचनाको संरचनागत भव्यता अनुमान लगाउन गाह्रो छ। यस मन्दिरको छानाहरूको छेउमा चारैतिर हावा लाग्दा सुमधुर बज्ने ‘फय गाँ’ (हावा चल्दा बज्ने घण्टाहरू) राखिएका छन्। जम्मा ५२९ वटा घण्टीहरूमा पाँचौँ तलामा ५८ वटा, चौथो तलामा ८० वटा, तेस्रोमा १०४ वटा, दोस्रोमा १२८ वटा र पहिलो तलामा १६८ वटा घण्टाहरू झुण्ड्याइएका छन्। बाँकी रहेको एउटा घण्टा चाँहि अशुभ मानिएको छ जुन मन्दिरको पाँचौँ तलाको पश्चिमपट्टिको छानामा झुन्डाइएको छ। सबै घण्टाहरू सुमधुर स्वरमा गुञ्जिए पनि सो घण्टा बज्नु हुँदैन भन्ने जनविश्वास रहेको छ। सो घण्टा बजेमा अशुभ हुने र हावाहुरी सहितको वर्षा हुने जनविश्वास विद्यमान छ।
मन्दिर निर्माणमा ११ लाख ३५ हजार ३५० वटा इँटा, १ लाख २ हजार ३५ वटा तेलिया इँटा र २७ हजार ८४ वटा ‘कुँ अपा’ प्रयोग भएका थिए। भक्तपुर त:मारी टोलको पूर्वतर्फ, न्यातपोल मन्दिरको छेउमै काशी विश्वनाथ भैरवको तीन तले आयताकार मन्दिर पश्चिम मोहडाकृत छ। उन्मत्त र क्रोधित भैरव नाथलाई शान्त पार्न तान्त्रिक देवी सिद्धिलक्ष्मीको विशाल न्यातपोल निर्माण गरिएको थियो। प्राचीन भक्तपुर नगर नै तान्त्रिक विधिबाट स्थापना भई वरिवरि अष्टमातृका गणबाट घेरिएको छ। तसर्थ भक्तपुरको केन्द्रमा अवस्थित तःमारी टोलबाट भक्तपुरको मुख्य बिस्का जात्रादेखि लिएर गाईजात्रा, इन्द्रजात्रा जस्ता वर्षभरि मनाइने विभिन्न जात्रापर्वहरू सुरुआत हुने मुख्य स्थान रहिआएको छ।
न्यातपोल मन्दिरले सुन्दर ‘ख्वप दे’को सम्पूर्ण जात्रा पर्वहरू ३२३ वर्षदेखि निरन्तर नियालिरहेको छ। भक्तपुरको प्रसिद्ध बिस्का जात्रादेखि चैत्रको अन्त्यसम्मको सबै जात्राको साक्षी रहेर न्यातपोल वर्षौँदेखि हेरिरहेको छ। न्यातपोल देग ६ महिनामा निर्माण सम्पन्न भइसकेपछि भूपतीन्द्र मल्लले त:मारीको ठुलो दबूमा बृहत् देवल कोट्याहुती यज्ञ गरेर सम्पूर्ण जनताहरूलाई राजभोज खुवाएका थिए। साथै वरपरको कान्तिपुर, ललितपुर लगायत वरपरको सात गाउँको मुख्य राजामहाराजाहरूलाई निमन्त्रणा गरिएको थियो। यस्ता विशाल यज्ञ र राजभोज आयोजनार्थ जनताबाट कर असुल्ने परम्परा थियो।
न्यातपोल देगको तान्त्रिक पूजाका लागि तोकिएको पूजारी बाहेक अरूलाई निषेध गरिएको छ। मन्दिरको गर्भगृह भित्र ढुङ्गाको कलात्मक तीन तहमा मुखाकृत भएको जसमा माथिल्लो एक मुख, त्यसको तल तीन मुख र अन्तमा पाँच मुख भएको सिद्धिलक्ष्मीको मूर्ति स्थापित छ। बेतालको माथि महारुद्र भैरव र भैरवको माथि १८ हात भएको सिद्धि लक्ष्मीको मूर्ति विराजमान छ भने दायाँबायाँ मसान भैरव र महाकाल भैरवको मूर्ति कुँदिएको छ। मन्दिरमा जम्मा १०८ वटा टुँडालहरूमा सूक्ष्म बुट्टेदार काष्ठकलाका मूर्तिहरू कुँदिएका छन्। पहिलो तला र दोस्रो तलामा अष्टमातृकाका ब्रम्हायणी, माहेश्वरी कुमारी, वैष्णवी, बाराही, महाकाली र महालक्ष्मी देवीको मूर्ति कुँदिएका टुँडालहरू छन्। तेस्रो तलाको टुँडालमा लोकेश्वरका मूर्तिहरू, चौथौँ तलामा महालक्ष्मी र पाँचौँ तलामा शिव शक्तिका टुँडाल मूर्तिहरू कुँडिएका छन्। मन्दिरको अग्रभागमा ३६ वटा ढुङ्गाका खुड्किलाहरू छन्।
न्यातपोल मन्दिरको गजुर पनि चुडामणि, कलश, अम्बःसा, घण्टाकार र भागिल/भानिचौका गरी पाँच तहले निर्मित छन्। न्यातपोल मन्दिरमा प्रयोग भएका छानाहरू जोड्नेतिर लगाउने कुँ अपाहरू अर्थात् इँटाहरूको आफ्नै रोचक विशेषता छ। छानाहरूको चुच्चो परेको छेउतिर हेर्दै उड्ला जस्तो प्रतीत हुने सजीव एवम् कलात्मक भालेको शिर शोभायमान छन्। कुँअपा पछाडि माथितिर क्रमश: कलात्मक हात्तीको आकृति भएको कुँअपा, त्यसपछि फूर्तिला बाख्रा आकृतिको कुँअपा, त्यसपछि घोडा आकृतिको कुँअपा र अन्त्यमा आकाश भैरवको शिर आकृतिका कुँअपाहरू लहरैसित जोडिएका छन्।
न्यातपोल मन्दिर विशिष्ट कला, वास्तुकला र शिल्पकलामा नेपाली वास्तुकलाको उच्चतम सौन्दर्य शोभित छ। भव्य संरचनाको निर्माण आजको आधुनिक समयमा चुनौतीको रूपमा उभिरहेको छ। काष्ठकलाको उत्कृष्ट, प्रस्तर कलाको अलौकिक स्वरूप, मृतिका कलाको बेजोड संयोजनबाट चकित पार्ने सामर्थ्य रहेको न्यातपोलको वार्षिक बुँसादँ पूजा प्रत्येक वर्षको असार शुक्ल १ को दिन हुने गर्दछ। न्यातपोल देगको पनि आधुनिक भाषामा ह्यापी बर्थडे सेलिब्रेसन हुन्छ भन्दा कतिलाई आश्चर्य पनि लाग्ला। भक्तपुर नगरको खचाँ पोखरीमा न्यातपोल देगको छाया प्रतिबिम्बित हुन्छ भन्ने कुरा अझै रोचक छ। यसरी हरेक वर्ष नेपालका राजप्रसाद र देग मठमन्दिरको वार्षिक रूपमा बुँसादँ मनाउने परम्परा यद्यपि चल्दै आएको छ।
अवाल समूदायको तर्फबाट मन्दिरको गजुरसम्म पुगेर झन्डात्तोलन गरी वर्षको एकचोटि विधिवत पूजा हुने गर्दछ। प्रायजसो मन्दिर निर्माणपश्चात् गुठी र गुठी जग्गा आयस्ता राख्ने प्रचलन रहेतापनि पाँचतले मन्दिरको भने कुनै गुठी जग्गा आयस्ता रहेको देखिँदैन। साथै यस बारे लेखिएको प्रमाणिक शिलालेखहरू पनि त्यति पाइएको छैन। न्यातपोल मन्दिर निर्माण सकिएपश्चात् यस तान्त्रिक देवीको कुनै पनि जात्रा पर्व र चाँडबाड सञ्चालन गरिएको छैन।
पाँचतले मन्दिरले नेपालको ठुल्ठूला भूकम्पहरूमा पनि आफूलाई अटल र अडिग राखिरहेको छ। विसं १८९०, १९९०, २०४५ र २०७२ जस्ता महाभूकम्पले र प्राकृतिक प्रकोप जस्ता हावाहुरी, असिना, पानीले पनि यसलाई क्षति पुर्याउन सकेन। यसर्थ नेपाली मौलिक इन्जिनियरिङ र निर्माण कला संसारकै एक अनुपम वास्तुकलाको रूपमा संसारभर परिचित छ। नेपालको ठुल्ठूला भूकम्पहरूबाट माथिल्लो छाना बाहेक अरू केही संरचनाहरू नभत्किए तापनि मन्दिरको इँटाको गारोमा भने भूकम्पले चर्किएका रेखाहरू देखिएबाट यसको प्राकृतिक स्वरूपभन्दा विस्तारै कमजोर बन्दै गएको आकलन भने गर्न सकिन्छ। यद्यपि समय समयमा यसको मर्मत सम्भार तथा जीर्णोद्धार हुँदै गर्दा यसको आयु लम्बिदै गएको हो भन्नेमा आशा गर्न सकिन्छ।
यस्ता बहुछाने शैलीको नेपाली शैलीको देगहरू मध्ये आजसम्म भूकम्पीय जोखिमलाई अनवरत स्विकारी अडिग रहेको न्यातपोल देग नेपाली वास्तुकलाको गर्विलो शान हो। भूकम्पीय असरलाई मध्यनजर गर्दै बलियो संरचना निर्माण गर्ने शैली वर्षौँदेखिको अनुभवबाट प्राप्त भएको ज्ञान हो। भूकम्प आउँदा भूकम्प जस्तै लचिलो संरचना निर्माण गर्नुपर्छ भन्ने कुरा वर्षौँ अनुभवको सिकाइ हो। यसका लागि मुख्य थाम, निदाल र दलिन जस्ता जोडाइहरूमा प्रयोग हुने चुकुलहरू भूकम्पीय लचकताका मुख्य बिन्दु हुन्। तसर्थ यस किसिमको नेपाली वास्तुकला र वास्तुशैली पनि मजबुत रूपमा भूकम्पीय जोखिम बहन क्षमता भएका संरचनाहरू हुन्।
न्यातपोल जस्तो नेपाली वास्तुकलाको उत्कृष्ट एवम् भव्य इमारत अरू के होला र?
नेपाली ढुङ्गा, माटो र काठले निर्मित संरचनाहरू नेपालको भूकम्प प्रतिरोधी प्रमाणित भई एउटा जीवन्त प्रमाण भएर उभिरहेको छ। न्यातपोल देगको सुन्दरताप्रति हरेक व्यक्ति आकृष्ट हुन्छन्। संसारकै सबैभन्दा अग्लो छाने शैलीको मन्दिर भएर, विश्वको अमूल्य धरोहर भएर। के ६ महिनामा आजको समय यही न्यातपोल मन्दिर बनाउन पर्ने भए आजका इन्जिनियर र वास्तुविदले सक्छन् होला त? के आजको समय हाम्रो सामर्थ्यले फेरि अर्को एउटा दुरुस्त उस्तै न्यातपोल मन्दिरको ‘रेप्लिका’ वा प्रारूप वा स्वरूप निर्माण गर्न सक्षम छौ? जुन दिन यही स्वरूपमा अर्को देग निर्माण गर्न सक्षम हुन्छौँ, सायद त्यो बेला साँच्चिकै हाम्रो सामर्थ्य, शक्ति र एकता अक्षुण्ण र अनवरत रहेको प्रमाणित हुनेछ।
तस्बिरमा न्यातपोल
न्यातपोलको मोहडा
त:मारी टोलमा अवस्थित न्यातपोल र भैरव मन्दिरको दृश्य।
वास्तुकलाको अनुपम सौन्दर्य न्यातपोल।
क्रमशः पहलवान, हाती, सिंह, शार्दुल र देवी मूर्तिको प्रस्तरकला।
त:मारी नियालिरहेको न्यातपोल।

(सबै तस्बिरहरू: उज्ज्वल प्रजापति)