नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकमा अन्तिम समयमा आएर वरिष्ठ उपाध्क्ष ईश्वर पोखरेल मौन बसे।
बैठकमा सहभागी एक नेताका अनुसार सोमबारबाट सुरू भएको एमालेको नवौं केन्द्रीय कमिटी बैठकको सुरूको दिन पोखरेल बोल्ने मुडमा देखिएका थिए।
उनको त्यो चाहना बहस नोट समितिसम्म पनि पुगेको थियो। एक केन्द्रीय सदस्यका अनुसार महासचिव शंकर पोखरेलले त्यो चाहना बुझेर अध्यक्ष केपी शर्मा ओलीसमक्ष कुरा पुर्याएका पनि थिए।
यो पनि: पाण्डेले स्टालिनको शैलीमा पार्टी चलाएको भनेपछि ओलीले भने- म खेद व्यक्त गर्छु, म स्टालिन हो?
तर मंगलबार मध्यरातसम्म पुग्दा पनि वरिष्ठ उपाध्यक्ष बैठकमा बोलेनन्। मंगलबार मध्यरात सकिएको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमन रोक्ने निर्णय गर्यो।
दुई उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले यसको जमेर प्रतिवाद गरे। पाण्डेले छैठौं महाधिवेशन पछिको विग्रहको उदाहरण दिँदै निषेधले द्वन्द्वको रूप लिनसक्ने तर्फ सचेत गराउन खोजेका थिए। उनले लिखित अहसमति नै दर्ज गराएका छन्।
ज्ञवालीले पनि उनलाई साथ दिँदै पूर्वराष्ट्रपतिलाई रोक्ने निर्णय नगर्न ध्यानाकर्षण गराए। तर अध्यक्ष ओलीले 'निर्णय भइसक्यो, परिवर्तन हुँदैन। बरू लिखित असहमति राख्ने हो भने दर्ज गर्नु' भनेपछि उनले पनि नोट अफ डिसेन्ट लेखे।
स्थायी कमिटी सदस्य कर्ण थापाले त बैठकमा कुरा राख्नै पाएनन्। निर्णय चरणमा प्रवेश नगर्दै बोल्न खोजेका थापाले सुरूमै अध्यक्ष ओलीसँग बोल्न अनुमति मागेका थिए।
‘अहिले निर्णय भएको छैन। निर्णय सुनाइसकेपछि केही छन् भने भन्नु’ भन्ने जबाफ अध्यक्ष ओलीबाट पाएपछि उनी बैठककक्षमा उभिइरहे। उनी उभिएपछि ओली पक्षका केन्द्रीय सदस्यले होहल्ला गर्दै बस्न आग्रह गरेका थिए। तर लामै समय उनले अटेर गर्दै ओली निर्णयको मौन प्रतिवाद गरे।
यसरी तीन जना नेताले पार्टी निर्णयको असहमतिमा आफ्नो खरो उपस्थिति देखाइरहँदा वरिष्ठ उपाध्यक्ष पोखरेल मौन देखिए। उनले आफ्नो असहमति राख्ने त परै जाओस्, बोल्दा पनि बोलेनन्। र नोट अफ डिसेन्ट पनि लेखेनन्।
जबकी पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको राजनीतिमा फर्काउन उनले सक्रिय भूमिका खेलेका थिए। यहाँसम्मकी असार १४ गते ७५ औं जयन्तीका अवसरमा आयोजित स्मृति दिवस कार्यक्रममा भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्दा पोखरेलले प्रमुख वक्ताको रूपमा त्यसको औचित्य प्रमाणित गर्ने हिसाबले बोलेका थिए।
उनी भण्डारीको समर्थनमा मात्र बोलेनन्, उनीभन्दा अघि बोलेका अध्यक्ष केपी ओलीले भनेका कुराको बुँदागत ‘काउन्टर’ पनि गरे। ओलीको कार्यशैलीका कारण पार्टीमा विभाजन देखा परेकोसम्म उनले आरोप लगाएका थिए। उनले राजनीतिक पार्टीभित्र द्वन्द्वले निकास पाएन भने विद्रोह हुने र त्यसले विग्रहको रूप लिने सिद्धान्तसम्मत विषय भएको बताए।
‘राजनीति दलभित्र द्वन्द्वले निकास पाएन भने विद्रोह हुन्छ। विग्रह निम्त्याउने, गर्नेहरूलाई मात्रै दोष दिएर हुँदैन। हाम्रो कार्यसम्पादन गर्ने शैलीमा कहाँ त्रुटि छ भन्ने कुरा ख्याल गर्नुपर्छ। यो दर्शन र सिद्धान्तले बताएको कुरा हो,’ उनले भनेका थिए।
असार १४ गतेको कार्यक्रम पछि पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा र अध्यक्ष ओलीको विकल्पमा ‘प्रोजेक्ट’ गर्ने पात्र नै पोखरेल हुन् भन्ने चर्चा एमालेवृत्तमा भयो।
त्यसपछि केही समयपछि बसेको पार्टीको ५४ औं सचिवालय बैठकमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबीच नोकझोक नै चलेको थियो। पोखरेलले ओलीलाई पार्टी अध्यक्षबाट हट्नसमेत भनेका थिए। ओलीले सर्वसत्तावाद लादेको, आफूलाई विकल्पहीन ढंगले प्रस्तुत गरेको भन्दै उनले पहिलो पटक ओलीविरूद्ध बैठकमै मुख खोलेका थिए।
यसरी विद्या भण्डारीको तर्फबाट ओलीविरुद्ध 'फायर खोलेका' पोखरेल पोलिटब्युरो हुँदै केन्द्रीय कमिटीसम्म पुग्दा मौन रहे।
ओली पक्षका एक नेताका दाबी अनुसार पोखरेल साउन ४ गते बिहान वालुवाटार गएर अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विधानको संशोधनको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष किन हटाएको भन्दै गुनासो गरेका थिए।
उनी अहिले एमालेको वरिष्ठ उपाध्यक्ष छन्। सचिवालय बैठकले भने आउने महाधिवेशनमा सो पद हटाउने प्रस्ताव पारित गरेको थियो।
बालुवाटारको बैठकमा पोखरेलले आफू अध्यक्षबाट टाढा नभएको भन्दै फरक व्यवहार नगर्नसमेत आग्रह गरेको प्रधानमन्त्री निकट एक नेताले बताए।
‘अध्ययक्ष ओलीसँग आफ्नो असहमति नरहेको, अध्यक्षसँगै रहेको र विधानबाट वरिष्ठ उपाध्यक्ष हटाएकोबारे गुनासो गर्नुभएको रहेछ,’ ओली पक्षका एक नेताले भने, ‘जबाफमा ओलीले तपाईं ७० वर्षे उमेरहदको पक्षमा उभिएपछि वरिष्ठ उपाध्यक्ष बनाउने अर्को मानिस देखिएन, त्यसैले हटाएको बताउनुभएछ।’
बालुवाटारमा साउन ४ गते प्रधानमन्त्रीलाई भेटेको पोखरेल स्वयंले पनि स्वीकार गरिसकेका छन्। तर के विषयमा कुरा भयो भन्नेबारे बताएका छैनन्।
त्यही दिन (साउन ४ गते) अपराह्न अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलस्थित पार्टी कार्यालयमा भेट भएको थियो। भण्डारीसँगको भेटमा अध्यक्ष ओलीले सदस्यता नवीकरणको विषय राजनीतिक भएको बताउँदै सम्मानित पदमा पुगिसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कंदा बाहिर टिकाटिप्पणी हुने भन्दै नआउन सन्देश दिइसकेका थिए।
भण्डारीको सदस्यता कायम नरहने र राजनीतिमा फर्कने बाटोसमेत बन्द गर्ने हो भने पार्टी अध्यक्ष दाबी गर्ने अवस्था नै रहँदैन। सायद त्यो कुरा बुझेका पोखरेल त्यसपछि पार्टी अध्यक्षसँग ‘भिड्न’ बाट हच्किए।
केन्द्रीय कमिटी बैठकले त्यही संकेत गरेको ओलीनिकट नेताहरूको दाबी छ।
पोखरेलको मौनताबारे हामीले भण्डारीनिकट नेतालाई पनि सोध्यौं। एक नेताले केन्द्रीय कमिटी बैठकमा ओलीले भण्डारी पक्षलाई ज्यादै अपमानित गर्ने गरी प्रस्तुत भएको बताए। त्यसपछि बोल्ने वातावरण नै नरहेको उनले दाबी गरे।
‘पूर्वराष्ट्रपतिका सन्दर्भमा निर्णय गर्ने भनेर कार्यसूचीमै राखिएको थिएन। कार्यसूचीमै नभएको विषयलाई प्रस्तावका रूपमा राखेर निर्णय गर्ने तयारी गरेपछि स्थायी कमिटी सदस्य कर्ण थापाले प्रतिवाद गर्नुभयो। उहाँलाई अध्यक्षले बोल्नै नदिएपछि उभिएरै प्रतिवाद गर्नुभयो। ओली पक्षका केन्द्रीय सदस्यले हलमै अपमानित गर्न खोजे,’ ती नेताले भने।
भण्डारीको आगमनलाई रोक लगाउने गरी निर्णयार्थ प्रस्ताव आएपछि उपाध्यक्ष युवराज ज्ञवालीले बोल्न समय माग गरेको र उपाध्यक्ष नै उठेपछि अध्यक्ष ओली र महासचिव कानेखुसी गर्दै सुरेन्द्र पाण्डेलाई बोल्न दिएको ती नेताले बताए।
‘ईश्वर पोखरेल केन्द्रीय समितिमा नबोलेको होइन। बोल्ने वातावरण नै भएन। हलमा ओली पक्षको बहुमत नै थियो। होहल्ला गर्ने पनि उनै थिए,’ उनको भनाइ छ।
भण्डारीको पक्षका खम्बाझैं उभिइसकेकाले वरिष्ठ उपाध्यक्ष पोखरेल पछि हट्ने ठाउँमा नरहेको ती नेताको दाबी छ।
‘आफै ७० वर्षे उमेरसीमा र कार्यकालको पक्षमा उभिएकाले वरिष्ठ उपाध्यक्षमा लोभ गर्नुहुन्छ भन्ने विश्वास हामीलाई छैन,’ ती नेताले भने।
तर पोखरेलले अरू दुई पदाधिकारी जस्तो नोट अफ डिसेन्ट पनि लेखेका छैनन्। सक्रिय राजनीतिमा फर्किसकेको र अब खुट्टा नकमाउने उद्घोष गरेकी पूर्व राष्ट्रपति भण्डारीलाई पोखरेलले आगामी दिनमा साथ दिन्छन् वा दिँदैनन् हेर्न बाँकी छ।
केन्द्रीय कमिटीमा बोल्न नपाएपछि स्थायी कमिटी सदस्य कर्ण थापाले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्।
‘घृणा, अपमान र निषेधको अन्त्य र जनताको बहुदलीय जनवादको मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ संकल्प गरौं। स्वाभिमान र स्वतन्त्रताको लडाइँ नयाँ शिराबाट लडौं,’ उनले सामाजिक सञ्जालबाट आग्रह गरेका छन्।
पार्टी केन्द्रीय समितिले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको छ। यसबारे भण्डारीले पनि प्रतिक्रिया दिइसकेकी छैनन्।