नेकपा (माअोवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पार्टी एकताका लागि नहतारिन नेतृत्वसँग आग्रह गरेका छन्।
माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी भने यही बेला एकीकरणको अन्तिम गृहकार्यमा छन्। नाम, नीति, नेतृत्व टुंगो लागेर दुवै पार्टीको सर्वोच्च कमिटीबाट अनुमोदन हुन मात्र बाँकी छ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबारबाट जारी छ। सम्भवतः त्यसले एकताबारे निर्णय गर्नेछ।
यसैबीच माओवादी नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र नेतृत्व पुनर्गठन र रूपान्तरणको प्रश्न उठाइरहेका छन्।
जेन–जी आन्दोलनपछि अझ मुखर रूपमा आफ्ना कुरा राखिरहेका छन्।
उनले बृहत् वामपन्थी एकता आजको आवश्यकता रहेको पनि औंल्याएका छन्।
अहिले चर्चा गरिएको एकतालाई त्यसैको प्रस्थानविन्दु बनाउनुपर्ने उनको धारणा छ।
यही सन्दर्भमा हामीले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग कुराकानी गरेका छौं:
माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकताको गृहकार्य अन्तिम चरणमा पुगेका बेला तपाईंले अहिले हतार नगरौं भन्ने अभिव्यक्ति दिनुभयो। एकता प्रक्रियामा के तयारी पुगेको छैन?
यहाँहरूलाई थाहा छ, नेकपा एमाले र माओवादी केन्द्रबीच कुनै बेला निकै तिक्तापूर्ण सम्बन्ध थियो। त्यस्तो बेला पनि एमालेसँग सहकार्य, संवादको ढोका बन्द गर्न हुँदैन भन्ने मेरो दृष्टिकोण थियो। मेरो विचारमा मुलुकको रूपान्तरण, अग्रगामी विकासका लागि वामपन्थी शक्ति, उनीहरूबीचको एकता र सहकार्यको खाँचो छ। मुलुकको समृद्धि र समुन्नतिका लागि वामपन्थीकै नेतृत्व आवश्यक छ भन्ने मेरो मान्यता हो।
त्यसैले पनि वामपन्थी शक्तिहरूबीचको एकता, सहकार्यको ढोका बहुआयामिक हिसाबले खुला राखिनुपर्छ। अहिलेको सन्दर्भमा एमालेसँग सहकार्य वा एकताको सम्बन्ध देखापरेको छैन। यद्यपि त्यसको ढोका अहिले पनि हामी बन्द गर्दैनौं।अहिले चाहिँ एकीकृत समाजवादीलगायत समाजवादी मोर्चामा भएका सबै पार्टीसँग एकता गर्ने भनेर हाम्रो पार्टीले नीतिगत निर्णय गर्यो।
त्यस क्रममा पहल गर्दै जाँदा नेत्रविक्रम चन्द (विप्लवजी) हरूको निर्णय पार्टी एकतामा आउनेजस्तो देखिएको छैन।महिन्द्र राय यादवको नेपाल समाजवादी पार्टी, एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने भनेर माओवादी केन्द्रले निर्णय गरेकै हो।अहिलेको सन्दर्भमा केही समस्या देखिएको छ। एकीकृत समाजवादी सिंगै आउने देखिएको छैन। सिंगै पार्टी एकता हुनुपर्यो। चोइटिने, विभाजित हुने, पार्टी खण्डित हुने एकता हामीले खोजेका होइनौं।
पार्टी एकता गरिरहँदा हामीले दुइटा कुरामा ध्यान दिनैपर्छ।
पहिलो, पार्टी एकतालाई समग्र पार्टीकै एकता होस् भन्ने बुझ्नुपर्छ। पार्टी एकता गर्ने पार्टीहरू नै विभाजित हुने स्थिति नहोस्। त्यसमा हामी सचेत हुनैपर्छ।
दोस्रो, यो पार्टी एकताले समग्र कम्युनिस्ट आन्दोलनकै, वामपन्थीहरूकै एकता र पुनर्गठनको सकारात्मक सन्देश दिने गरी प्रस्थान विन्दु बनोस्। यी दुइटा कुरा अनिवार्य हुनुपर्छ भनेका हौं। अहिले यसैका निम्ति मिहिनेत गरौं।
हतार गर्ने तर अपुरो हुने, न सिंगै पार्टी एकतामा आउने, न कम्युनिस्ट आन्दोलनमा वामपन्थीहरूको एकीकरण र पुनर्गठनमा सन्देश दिने! यस्तो चाहिँ नहोस्।
यसरी एकता गर्दा अहिलेको सन्दर्भमा नेपाली कम्युनिस्ट आन्दोलनको रूपान्तरण र पुनर्गठनको माग छ नि, त्यसलाई ध्यान दिनुपर्छ। यथास्थितिको निरन्तरताको एकताले अहिलेको देशको नेतृत्व गर्न सक्दैन।
आफ्नै पार्टीको हकमा पनि यथास्थितिमा पार्टी आन्दोलन राखेर देशको नेतृत्व गर्न सक्दैन। त्यसैले यथास्थिति तोडेर रूपान्तरण र नयाँ कार्यदिशाका साथ पार्टी आन्दोलन पुनर्गठन गर्नुपर्छ। एकताबद्ध, क्रान्तिकारी र शक्तिशाली पार्टी बनाउनुपर्छ भनेका हौं।
यसमा हामीले भनेझैं रूपान्तरण हुन सकेको छैन। यसमा हाम्रो पनि कमजोरी रहेको छ। फेरि पनि हाम्रो कुरा के हो भने यथास्थितिमा पार्टी आन्दोलन राख्न सकिँदैन।
पार्टी आन्दोलनको रूपान्तरण र पुनर्गठन कसरी गर्ने, महाधिवेशनबाट नेतृत्व फेर्ने या नयाँ ढंगले कम्युनिस्ट पार्टीहरू बीचको एकताको आधार तयार पार्ने? पार्टी एकताले त अल्मल्याउला नि!
हामीले धेरै अघिदेखि पार्टीको बहुआयामिक रूपान्तरण र पार्टी पुनर्गठनको प्रश्न उठाउँदै आएका छौं। अहिले झन् सान्दर्भिक भएको छ। पार्टीको नीति, विधि, पद्दति, पार्टीको संगठनात्मक चरित्र, पार्टी संगठनात्मक सिद्धान्त आचारसंहिताको प्रश्न उठी नै राखेका छन्। यी प्रश्नको विधिसम्मत निरूपण हुनेछ। हामी त्यही दिशामा छौं।
माओवादी केन्द्रले मंसिरभित्र महाधिवेशन गर्ने भनेर निर्णय गरिसकेको छ। तर यसबीचमा समाजवादी मोर्चा घटक दलसँग एकता गरेर प्रचण्ड फेरि अध्यक्ष बन्ने जस्तो देखिन्छ। अहिलेको एकताको चर्चा त्यसैको कडी हो भन्ने ढंगले पनि टिप्पणी भइरहेको छ। यही कुराले यहाँहरूलाई पनि झस्काएको त होइन?
जेनजी आन्दोलनपछि बसेको केन्द्रीय समिति बैठकमा कम्युनिस्ट आन्दोलनको प्रगतिशील रूपान्तरण र वाम सहकार्यबारे घनिभूति छलफल भएकै हो। आगामी अधिवेशन एकता अधिवेशन हुन पनि सक्छ। एकता अधिवेशन भयो भने परिस्थिति हेरेर महाधिवेशनलाई अलि पर धकेल्न पनि सकिन्छ भनेर पनि केन्द्रीय समितिमा छलफल भएकै हो। तर मुख्य कुरा के हो भने त्यो एकता चाहिँ मैले अघि भनेकै शर्तका आधारमा गरिनुपर्छ।
ती सर्त पूरा गर्दा यो एकताई बहृत् कम्युनिस्ट एकता र रूपान्तरणको प्रस्थान विन्दु बनाउन सकिन्छ, कथम् त्यस्तो नहुने हो भने यो एकता फगत एकताका लागि एकता हुन्छ, यसले कुनै शक्ति र सामर्थ्य दिँदैन।
जहाँसम्म नेतृत्वको प्रश्न छ। संयोजक प्रचण्डले नेतृत्व छाड्छु त भन्नुभएको छ। तर कहिले छाड्ने हो? कसरी छाड्ने भन्ने कुरा चाहिँ नेपाली कम्युनिस्ट आन्दोलनको रूपान्तरण र पुनर्गठनलाई नै योगदान पुर्याउने गरी छिटोभन्दा छिटो आफूले भनेका कुरालाई लागू गराउने दिशामा जाँदा राम्रो हुन्छ भन्ने छलफल त पार्टीमा भइराखेकै छ।
जेनजी आन्दोलनले त मौजुदा ठूला दलका शीर्ष नेताहरूको राजनीतिक उपादेयता कमजोर बनाइसकेको छ। यो कुरा कांग्रेसका सभापति शेरबहादुर देउवाले बुझेर आत्मसात् गर्नुभयो। माओवादी केन्द्रमा चाहिँ तपाईंहरूले अझै बुझाउनु सक्नुभएन?
जेनजी आन्दोलन, त्यसमा अभिव्यक्त चेतनाले जसरी हस्तक्षेप गर्यो त्यसलाई ग्रहण गर्नुको कुनै विकल्प छैन। जेनजी आन्दोलनको चेतनालाई मानेर, आत्मसात् गरेर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो पार्टीको निष्कर्ष हो। यसमा कहीँ, कतै द्विविधा छैन।
पहिलो, हाम्रो पार्टीले समग्रतामा पार्टी आन्दोलनको रूपान्तरण र पुनर्गठनलाई नारा दिँदै आएको थियो। दोस्रो, जेनजीहरूले जसरी राजनीतिक शुद्धीकरणको मुद्दालाई सघन बनाए। सडकमा प्रकट गरे। आन्दोलनका् स्वरूप दिए। त्यो सन्दर्भमा जेनजीकै मागलाई बलियो बनाउने गरी हामीले पनि कुरा उठाइराखेकै छौं।
केन्द्रीय समितिको आवाजको मर्म, भावना त्यही हो। त्यो निरन्तर रूपमा उठी नै राखेको छ। यो छलफलले सकारात्मक निष्कर्ष निकाल्नुपर्छ भन्ने कुरामा हामी छौं।
संयोजक स्वयंले यी दुवै पक्षलाई ध्यानमा दिएर म चाहिँ नेतृत्व छाड्छु भन्नु भएको छ। उहाँले नेतृत्व छाड्छु भनेको राजनीति छाड्छु भनेको होइन, पार्टी छाड्छु भनेको पनि होइन। पार्टीको नयाँ भूमिका जान्छु भनिराख्नुभएको छ। त्यसलाई कुनै कोणबाट विलम्ब नगरिकन पार्टीलाई एकताबद्ध पनि गर्ने, एकीकरणको प्रक्रियालाई पनि सिंगो कम्युनिस्ट आन्दोलनको पुनर्गठनको प्रक्रियाको प्रस्थान विन्दु बनाउने र देशको अहिलेको अवस्था र यथार्थमा पार्टीलाई जसरी प्रस्तुत गर्नुपर्ने हो, त्यसरी प्रस्तुत गर्ने गरी उहाँ अगाडि बढ्नुहुन्छ भन्ने आशा गरिएको स्थिति छ। एउटा निचोडमा पुग्छ।
पुराना पार्टीहरूमा नीति, नेतृत्व, विचार, दृष्टिकोणकै संकटको अवस्था छ। उनीहरूका विचारलाई नयाँ पुस्ताको चेतनाले उछिनिराखेको सन्दर्भमा पार्टीबाट प्रचण्ड हट्ने वा अर्को पात्र आउने कुराले मात्रै अहिलेको संकटबाट माओवादी केन्द्र मुक्त होला त?
देशको सन्दर्भमा मेरा दुइटा प्रष्ट कुरा छन्। जेनजी पुस्ताले गरेको विद्रोहात्मक आन्दोलनका मुद्दाहरूलाई सम्बोधन गर्दै देशलाई सकारात्मक दिशातिर अगाडि बढाउने सम्भावना एकातिर छ भने अर्कातिर राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रमाथिकै खतरा कायम छ। त्यसप्रति पनि हामी गम्भीर हुनुपर्ने आवश्यकता छ। यो पृष्ठभूमिमा हामीले एकातिर सम्पूर्ण देशभक्त, सुशासन र समृद्धिका पक्षधर सबै वामपन्थी–लोकतन्त्रवादी शक्ति जम्मै एकताबद्ध भएर जानुपर्ने टड्कारो छ।
ताकि, राष्ट्रिय स्वाधीनताको रक्षा होस्। संविधान र लोकतन्त्रको रक्षा हुन सकोस्। यो सँगै संविधानको परिमार्जन हुन जरूरी छ। संविधान परिमार्जन भएर परिस्कृत हुने र देश समृद्धिको दिशातिर जान सकोस् भन्ने नै सबैको अभिप्रायः हुनुपर्छ।
जेनजीले यत्रो विद्रोह गरे। परिवर्तनको पक्षमा प्राण आहुति दिए। आन्दोलनमार्फत् मुखर उनीहरूको भावनालाई मुलुकको हितका लागि सकारात्मक उपयोग गर्नुपर्छ। त्यसका लागि सबै लोकतन्त्र, वामपन्थी, प्रगतिशील शक्तिहरूको एकता, सहकार्य हुनुपर्छ।
दोस्रो मुलुकलाई सकारात्मक दिशातिर लैजान सबै वामपन्थी–कम्युनिस्ट शक्तिहरूबीच वैचाकिर पुनःजागरणसहित रूपान्तरण र पुनर्गठन आवश्यक छ। त्यसका निम्ति हामीले गर्ने भनेको अहिलेका वापपन्थी शक्तिहरूबीचको एकता प्रस्तान विन्दु बन्न सक्नुपर्छ।
तपाईंले बृहत कम्युनिस्ट एकता, रूपान्तरणको कुरा गरिाख्नुभएको छ। त्यसमा एमाले पनि जोडिन्छ? तपाईंको कुरा सुन्दा एमालेसँग पनि संवादमै हुनुहुन्छ जस्तो लाग्यो। एमालेका चाहिँ कुन तहका नेताहरूसँग यहाँ बढी संवादमा हुनुहुन्छ?
मैले अघि नै भनेँ, एमालेसँग अत्यन्तै तीतोपनाका बेला पनि एमालेसहित वामपन्थी, कम्युनिस्ट पार्टीबीचको सहकार्यको ढोका खुलै राखेका थियौं। एकताको ढोका पनि बन्द गर्नुहुँदैन भन्ने हाम्रो कुरा थियो। अहिले त एमाले पनि पार्टी पुनर्गठन, रूपान्तरण, नयाँ राजनीति, वैचारिक कार्यदिशाको बहसको प्रक्रियाभित्रै छ। उसले महाधिवेशनको मिति पनि निश्चित गरेको छ। त्यसबारे उहाँहरूको छलफल, बहस, विमर्श कसरी अगाडि बढ्छ? पार्टी पुनःनिर्माणको बहसले कस्तो आकार लिन्छ? महाधिवेशन कसरी सम्पन्न हुन्छ भन्ने कुरामा नै समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण र पुनर्गठनको प्रक्रियामा एमाले कसरी जोडिन्छ भन्ने कुरा भर पर्छ।
तपाईं एमालेसहित सबै वामपन्थी शक्ति सहकार्य र एकताको प्रक्रियामा जानुपर्छ, यसले मात्रै समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण र पुनर्गठन सम्भव छ भन्ने तर्क गरिरहनुभएको छ। तर तपाईंकै पार्टीभित्र चाहिँ तपाईं एमालेमा जाँदै हुनुहुन्छ भन्ने हल्ला चलाउन थालिएको छ? यसलाई चाहिँ कसरी लिनुभएको छ?
मैले यसअघि नै भनेँ- कम्युनिस्ट, वाम प्रगतिशील शक्तिसँग सहकार्यका लागि म सबैसँग संवादमा छु। स्वाभाविक एमालेसँग म संवादमा छु। एमालेका नेताहरूसँग मेरो कुराकानी भई नै रहेको छ। कम्युनिस्ट आन्दोलनको प्रगतिशील रूपान्तरण, वैचारिक र नेतृत्वको पुनर्गठनका हिसाबले सबैसँग संवादसँग जरूरी छ। यस्तो विचार बोकिरहँदा ममाथि अनेक टिप्पणी हुने गरेका छन्। यसलाई मैले यही अर्थमा बुझेको छु।
एमाले अहिले ११ औं महाधिवेशनको सङ्घारमा छ। महाधिवेशन गर्न लागेको पार्टीलाई मेरो के आवश्यकता हुन्छ होला? तसर्थ यस्ता हल्ला निराधारा, कपोलकल्पित, दुरासयपूर्ण, कम्युनिस्ट आन्दोलन एकताबद्ध हुनुपर्छ, वामपन्थी आन्दोलनले नयाँ रूपान्तरणको मार्गचित्र खोजिरहेको छ भन्ने मेरो दृष्टिकोणलाई कमजोर बनाउने प्रयत्न हो। वास्तवमा यो खण्डन गर्न योग्य विषय नै होइन।
***