सेतोपाटी चुनाव विश्लेषण– ६
यसपालि चुनावको सबभन्दा बढी रौनक मधेसमा छ।
यो अनुभव हामीले मधेस प्रदेशको राजधानी जनकपुरधाम आएर गर्यौं।
काठमाडौंबाट चितवन, दाङ हुँदै रूपन्देही आइपुग्दासम्म, ती जिल्लामा पनि फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ भन्ने अनुभूति त्यति बेला मात्र हुन्थ्यो, जब हामी निर्वाचन क्षेत्रका प्रत्येक वडा घुमेर मतदाताहरूसँग प्रत्यक्ष संवाद गर्थ्यौं।
त्यसबाहेक सहर–बजार, गाउँ–टोल र चोक–गल्लीहरूमा चुनाव हुन लागेको महसुस गराउने दृश्य खासै देखिँदैन थियो। बेला बेला विभिन्न पार्टीका उम्मेदवारले साना साना र्याली निकाल्दा र घरदैलो घुम्दा केही बेर हल्लाखल्ला हुन्थ्यो, त्यसपछि फेरि सामसुम!
रूपन्देहीबाट जसै हामी मधेस प्रदेशको राजधानी जनकपुरधाम पुग्यौं, सहरदेखि गाउँका भित्री बस्तीसम्म चुनावी रौनकमा रंगिएका पायौं।
घरका भित्ता–भित्तामा, पर्खालहरूमा, बिजुलीका खम्बादेखि गाउँका साना–साना चोक र चिया पसलहरूमा राखिएका विभिन्न पार्टीका उम्मेदवारका पोस्टर र तोरणहरूले यो सहरलाई चुनावमय बनाएको छ।
र, मधेसको चुनावी रौनकमा चर्चाको केन्द्रमा छन् — बालेन शाह।
हामीले दुई दिन धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने प्रत्येक स्थानीय तहका प्रत्येक वडामा पुगेर मतदाताहरूसँग कुरा गर्दा के देख्यौं भने, उनीहरूमा यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने 'जुनून' सवार छ।
पार्टीको मुद्दा, उम्मेदवार वा अरू कुनै पनि कुरा उनीहरूका लागि गौण छन्।
धनुषा– ३ निर्वाचन क्षेत्रमा जनकपुर उपमहानगरपालिकाका १ देखि ८, १०, ११, १२, १५, १६, २०, २३, २४ र २५ नम्बर वडा छन् भने नगराइन नगरपालिकाका १ देखि ९ नम्बर वडा, धनौजी गाउँपालिकाका १ देखि ५ नम्बर वडा, मुखियापट्टी मुसहरनिया गाउँपालिकाका १ देखि ६ नम्बर वडा र विदेह नगरपालिकाको वडा नम्बर ९ पर्छन्।

फागुन २१ को निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसका विमलेन्द्र निधि, नेकपा एमालेकी जुली महतो महासेठ, रास्वपाका मनिष झा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रामललित मण्डल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हुसैन कवारी, जनता समाजवादी पार्टी (जसपा) का परमेश्वर साह सुडी, जनमत पार्टीका गोपालप्रसाद साहसहित विभिन्न दलका र स्वतन्त्र उम्मेदवार समेत गरी ४५ जना प्रतिस्पर्धामा छन्।
सेतोपाटी टिमले पछिल्ला दुई दिन यो निर्वाचन क्षेत्रका सबै वडा घुमेर धेरैभन्दा धेरै मतदातासँग कुराकानी गरेको छ। चुनावमा उठेका दल र तिनका उम्मेदवारबारे मतदाताहरूको राय बुझेको छ। उनीहरूका मुख्य चासो के के हुन् र उनीहरू कसलाई किन मत दिन चाहन्छन् भनेर सोधेको छ।
मतदातासँगको कुराकानीका आधारमा विश्लेषण गर्दा यो निर्वाचन क्षेत्रमा रास्वपाका मनिष झा अरू प्रतिस्पर्धीको दाँजोमा धेरै अगाडि रहेको हामीले पाएका छौं।
हाम्रो विश्लेषणमा मनिषभन्दा धेरै पछि छन् नेपाली कांग्रेसका विमलेन्द्र निधि। अनि विमलेन्द्रभन्दा धेरै पछि छिन् एमालेकी जुली महतो।
आजका दिनमा कांग्रेस र एमालेका उम्मेदवारसँग मनिषको जति फराकिलो अन्तर हामीले पाएका छौं, त्यसलाई चिर्दै चुनावका दिनसम्म उनलाई उछिन्न धेरै नै कठिन देखिन्छ।
यो निर्वाचन क्षेत्रमा बदलिएको राजनीतिलाई बुझ्न अघिल्लो पटकको निर्वाचनमा यहाँ कुन दलको कस्तो स्थिति थियो हेर्नुपर्छ। २०७९ सालको निर्वाचनमा यहाँ रास्वपा दौडमै थिएन!
प्रत्यक्षतर्फ ३३ हजार ३८८ मत ल्याएर एमालेकी जुली विजयी हुँदा उनका निकट प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिलकुमार झाले २३ हजार ६८६ मत ल्याएका थिए। रास्वपाका रञ्जित पञ्जियारको भागमा जम्मा ४३३ मत परेको थियो।
समानुपातिकतर्फ कांग्रेसले सबभन्दा बढी २५ हजार १९५ भोट ल्याएको थियो भने दोस्रो स्थानमा रहेको एमालेले १७ हजार ८७४ मत ल्याएको थियो। रास्वपाको भागमा जम्मा १ हजार २१९ समानुपातिक मत परेको थियो।
हाम्रो विश्लेषणमा यसपालि यो निर्वाचनमा शक्ति–सन्तुलन उलटफेर हुनेछ। प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ठूलो अदली–बदली आउनेछ।
यसपालि धनुषा– ३ मा रास्वपा, कांग्रेस र एमाले बाहेक अन्य पार्टीका कोही उम्मेदवार यहाँ प्रतिस्पर्धामा नरहेको हामीले पायौं। जसपाका परमेश्वर साह सुडीलाई मत दिन्छु भन्ने केही मतदाता हामीले भेट्यौं। तर त्यो संख्या उल्लेख्य छैन।
एक लाख २५ हजारभन्दा बढी मतदाता रहेको यो क्षेत्रमा हामीले कुराकानी गरेकामध्ये अहिलेसम्म कसलाई भोट हाल्छु भनेर टुंगोमा नपुगेका १२ प्रतिशत छन्।
यस्ता अनिर्णित मतदातामध्ये अधिकांश अघिल्लो पटक एमालेलाई भोट दिएकाहरू छन्। त्यसपछि कांग्रेसलाई मत दिएका मतदाता छन्। चुनावसम्म आइपुग्दा उनीहरूले आफ्नो मत पक्कै निधो गर्नेछन्। उनीहरूरुले जे जस्तो निर्णय गरे पनि, हाम्रो विश्लेषणमा चुनावको परिणाममा त्यसले फरक पार्दैन। विगतको हाम्रो अनुभवमा यी अनिर्णित मत पनि अन्तिममा बाँडिन्छन्। र, तीमध्ये कतिले रास्वपालाई, कतिपय आफूले पहिले दिएकै कांग्रेस वा एमाले वा अरू दललाई मत दिने सम्भावना हुन्छ।


गत निर्वाचनमा धनुषा–३ मा लगभग अस्तित्वमै नरहेको रास्वपा यसपालि कसरी यति बलियो देखिइरहेको छ? विगतमा कुन, कुन दललाई मत दिएका मतदाता यसपालि रास्वपामा सर्दैछन्?
हामीले मतदातासँग गरेको कुराकानीका आधारमा विश्लेषण गर्दा, अघिल्लो पटक सबैजसो प्रमुख दललाई मत दिएका धेरै मतदाता यसपालि रास्वपातिर सर्ने देखिन्छ। कांग्रेस, एमालेका साथै क्षेत्रीय दलहरू जसपा, लोसपा, जनमत पार्टी र राजावादी दल राप्रपालाई मत दिएका धेरै मतदाताले समेत यसपालि रास्वपालाई मत दिने बताए।
त्यसमध्ये पनि कांग्रेस र एमालेका पुराना मतदाताको ठूलो संख्या यसपालि रास्वपाप्रति आकर्षित छ।
त्यस्तै, हामीले भेटेका र पहिलो पटक मत हाल्न लागेका सबैजसो मतदाताले रास्वपालाई नै मत हाल्ने बताए।
यसरी लगभग हिजो अरू दलहरूलाई मत दिएका र नयाँ मतदाताको ठूलो हिस्सा रास्वपातिर जाने हुँदा यसको भरपुर लाभ रास्वपाले उठाउनेछ।
अर्कातिर, प्रतिस्पर्धामा रहेका मुख्य दुई दल कांग्रेस र एमालेले पुराना मतदाता जोगाउन नसक्ने मात्र होइन, नयाँ वा अरू दलका मतदाता तान्न सक्ने सम्भावना पनि क्षीण छ।
हामीसँग जति मतदाताले कांग्रेसका विमलेन्द्रलाई भोट हाल्छौं भने, तीमध्ये बहुसंख्यकले विगतमा पनि कांग्रेसलाई नै भोट हालेको बताए। विगतमा एमाले र लोसपालाई मत दिएका केही मतदाताले भने यसपालि विमलेन्द्रलाई मत दिने बताए।
त्यस्तै, एमालेका जुलीलाई भोट हाल्छौं भन्नेहरू त सबैजसो नै एमालेका पुरानै मतदाता हुन्। जसपाका परमेश्वरको अवस्था पनि त्यस्तै छ।
यसरी अरू दलहरूबीच मत साटफेर नहुनु र उनीहरूले आफ्नो पुरानो मत जोगाएर राख्न नसक्नुले अरू सबै दलले पाउने मतको आकार घट्नेछ।
प्रत्यक्षमा भन्दा समानुपातिकमा रास्वपाको मत झनै बढ्ने सम्भावना हामीले देख्यौं।
यसपालि प्रत्यक्षमा कांग्रेस, एमालेलाई मत दिन्छु भनेका कतिपय मतदाताले पनि समानुपातिकमा रास्वपालाई मत दिन्छु भनेको हामीले पायौं। जबकि, रास्वपालाई भोट हाल्छु भन्ने मतदाताहरूमा समानुपातिक भोट कांग्रेस वा एमालेलाई दिन्छु भन्नेहरू नगन्य छन्। यसले समानुपातिकमा रास्वपालाई थप फाइदा पुग्ने देखिन्छ।
अब धनुषा–३ मा 'बालेन फ्याक्टर' को कुरा गरौं।
हामीसँगको कुराकानीमा जसले 'घन्टी' मा भोट हाल्ने मन बनाएको बताएका थिए, तीमध्ये धेरैले न रास्वपाको नाम लिए, न सभापति रवि लामिछानेको, न त धनुषा–३ का रास्वपा उम्मेदवार मनिष झाको।
उनीहरूले एउटै नाम लिए — बालेन शाह।
रास्वपाका धेरै मतदाताले हामीलाई यही भने, 'यसपालिको भोट बालेन शाहलाई।'
यसको कारण सोध्दा धेरैले काठमाडौं महानगरपालिकाको मेयरका रूपमा बालेनले गरेको भनेर उनीहरूले कामको विवरण सुनाए। कतिपय उनले नगरेका काम पनि सुनाए।
काठमाडौं नआएका गाउँका बूढापाका मतदाताको मुखबाट समेत हामीले बालेनले राजधानी सहर कायापलट गरेको, फुटपाथ व्यवस्थित गरेको, हरेक वडामा एम्बुलेन्स सञ्चालन गरेको, फोहोरमैला थन्को लगाएको, गरिब विद्यार्थीहरूलाई नि:शुल्क शिक्षा प्रबन्ध गराएको लगायत सूची सुन्यौं।
कतिले त यो पनि भने, 'तपाईंहरू काठमाडौंबाटै आउनुभयो, यी सबै देख्नुभएकै होला। हामीले त फेसबुक हेरेर थाहा पाएको। पुराना पार्टीका नेताहरूले वर्षौंदेखि गर्न नसकेको काम बालेनले तीन वर्षमै गरेर देखाए। मेयर हुँदा त यति गरे भने प्रधानमन्त्री हुन पाए के गर्लान्!'
यो निर्वाचन क्षेत्र घुम्दा चितवन, दाङ र रूपन्देहीभन्दा फरक अर्को एउटा अनुभव पनि हामीलाई भयो।
हामीले धनुषा– ३ मा यस्ता धेरै मतदाता भेट्यौं, जो फागुन २१ को चुनावमा भोट हाल्न भनेर वैदेशिक रोजगारीबाट नेपाल फर्किएका छन्। तीमध्ये धेरैले चुनावकै मिति पारेर नेपाल आउने छुट्टी मिलाएका थिए। पहिले नै आइसकेका कतिपयले चुनावसम्म यतै बस्ने गरी छुट्टी लम्ब्याएका छन्।
उनीहरू कामबाट छुट्टी लिएर भए पनि भोट हाल्न आउनुको कारण एउटै थियो — बालेन शाहलाई प्रधानमन्त्री बनाउने!
जनकपुरसँग सीमा जोडिएको नगराइन नगरपालिका–५, गंगुली बजारमा हामीले त्यस्तै एक मतदाता भेट्यौं।

बिहानको समय घरको पिँढीमा सुतिरहेका ४१ वर्षीय अवधेश मण्डल साउदी अरबबाट आएको १० दिन मात्र भयो। चार वर्षपछि नेपाल फर्केका उनी यसपालि भोट हाल्नकै लागि आएको बताउँछन्।
अवधेशले एउटा अर्को रोचक कुरा पनि हामीलाई सुनाए।
उनका अनुसार साउदीमा काम गर्ने नेपालीहरूको समूहमा जसको छुट्टी लिने समय भएको छ, उनीहरू धेरैले चुनावकै बेला पारेर घर फर्किने सल्लाह गरेर छुट्टी लिएका हुन्। त्यही सल्लाह अनुसार चुनावको मेसो पारेर चार महिनालाई नेपाल आएको उनको भनाइ छ।
'ज–जसको छुट्टी मिल्छ, उनीहरू नेपाल गएर घन्टी (रास्वपा) मा भोट हालौं भन्ने हामी नेपाली दाजुभाइहरूको सल्लाह भयो,' उनले भने, 'छुट्टी पाउनेहरू अरू पनि धेरै फर्केका छन्।'
हामीले अवधेशको परिवारसँग गरेको कुराकानीले धनुषा–३ मा रास्वपाको लहर कुन हदसम्म फैलिएको छ र त्यो लहर कसरी र कहिलेबाट सुरू भयो भन्ने संकेत गर्छ।
अवधेशले बालेनको चर्चा साउदी हुँदा नै सुनेका थिए। तर जुन दिन बालेनले जनकपुरधाममा गरेको पहिलो राजनीतिक भाषणमा आफू 'मधेसको छोरा' भएको सार्वजनिक घोषणा गरे, त्यस दिनबाट 'क्रेज' बढेको उनी बताउँछन्।
'ए यिनी त मधेसी दाजुभाइ नै रहेछन् भन्ने मैले त त्यस दिन बल्ल थाहा पाएँ,' अवधेशले भने, 'अनि त फ्यान भइहालेँ। मधेसको छोरा पहिलो पटक प्रधानमन्त्री हुने अवसर आउँदैछ, त्यसमा त हामीले पनि सहयोग गर्नुपर्छ भन्ने लाग्यो।'
अवधेशको परिवार पुस्तैनी कांग्रेस मतदाता हो। उनका बुबा सिंहेश्वर मण्डलले जिन्दगीमा 'गाछी' (रूख) बाहेक अन्यत्र भोट हालेका छैनन्। तर यसपालि उनी अलमलमा छन्।
छोराले घन्टीमा भोट हाल्ने सुझाव दिए पनि रूख छाड्न गाह्रो परिरहेको उनले बताए।
'छोराले जहाँसुकै हालोस्, म चाहिँ गाछीमै हाल्छु होला,' सिंहेश्वरले भने।

अवधेशकी पत्नी ३८ वर्षीया शकुन्तला कुमारीले यसैमा थपिन्, 'बुबाले गाछीमा भोट दिए पनि हामी दुई जनाको भोट त परिवर्तनको पक्षमै जान्छ।'
'यही पाराले देश कसरी चल्ला?' उनले अगाडि भनिन्, 'जेनजी आन्दोलनमा मारिएका ७६ जनाले न्याय पाउनुपर्यो, हाम्रो बालबच्चाको भविष्य सुध्रिनुपर्यो। पुरानाहरूबाट त अब केही आस छैन।'
यस्तै भनाइ हामीले धनुषा– ३ का धेरै मतदाताको मुखबाट सुन्यौं।
कांग्रेस, एमाले, नेकपा लगायतका पुराना पार्टीलाई भोट दिँदा दिँदा आजित भइसकेको बताउने यहाँका मतदाताले यसपालि संयुक्त रूपमा परिवर्तनको पक्षमा मत जाहेर गरेको हामीले पायौं।
एमालेका पुराना मतदाता धेरैले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतका मधेसविरोधी अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरे। त्यस्ता एमाले मतदाता यसपालि रास्वपातिर सरेका छन्।
बालेनलाई पाँच वर्ष सरकार चलाउने अवसर दिन रास्वपालाई बहुमत दिनुपर्ने धारणा पनि कतिपय मतदाताले राखे।
नगराइन नगरपालिका–१, हाँसपट्टीका ५४ वर्षीय महेश्वर यादवले परिवर्तन निम्ति रास्वपालाई एकचोटि सत्तामा पुर्याउने र बालेन शाहलाई प्रधानमन्त्री बनाउने चाहना भएको बताए।
'अरू सबै दललाई पटक पटक हेर्यौं, यसपालि बालेन शाहलाई हेर्छौं,' उनले भने, 'पाँच वर्षमा उनले पनि केही गर्न सकेनन् भने फेरि अर्कोलाई मौका दिने हो।'
जनकपुर उपमहानगर–२ का रामचन्द्र मण्डल कांग्रेसका पुराना मतदाता हुन्। यसपालि भने उनी 'परिवर्तनका लागि' रास्वपामा भोट हाल्ने मन बनाएर बसेका छन्।
यसको कारण सोध्दा उनी भन्छन्, 'चार–पाँच बालीपछि बीउ पनि फेर्नुपर्छ। मेरो भोट पनि त्यस्तै हो भन्ने बुझ्नुस् न!'
नगराइन नगरपालिका–१ का ४५ वर्षीय रामकुमार मण्डल आफ्नो परिवार पुस्तैनी कांग्रेस भएको बताउँछन्।
कांग्रेस उम्मेदवार विमलेन्द्रका बुबा महेन्द्रनारायण निधिको पालादेखि नै आफूहरूले कांग्रेसलाई भोट दिँदै आएको भए पनि यसपालि मत परिवर्तन गर्न लागेको उनको भनाइ छ।
'नयाँ पार्टीले काम गर्न सक्छ कि सक्दैन भन्ने शंका त छ, तर पुराना पार्टीलाई मौका दियो भने पक्कै केही गर्दैनन् भन्ने पनि थाहा छ,' रास्वपामा भोट हाल्ने मन बनाएका मण्डलले भने, 'त्यसैले यसपालि नयाँलाई नै मौका दिने निधो गरेँ।'
जनकपुर उपमहानगर–१२ का रामबहादुर दासले पनि कांग्रेसलाई भोट हाल्दा हाल्दा थाकेर अब देश विकासका लागि रास्वपामा मतदान गर्न लागेको बताए।
'आफ्नै कमाइले खाइन्छ, देश विकास गर्न घन्टी चाहिन्छ,' उनले भने।
रामबहादुर दास
रूपन्देही–२ मा जस्तै यहाँ पनि धेरै मतदाताले कुनै धक नमानी आफू रास्वपाको पक्षमा रहेको बताए। जो रास्वपालाई भोट हाल्ने मन बनाएर बसेका छन्, उनीहरू सुरूमै खुल्थे। कांग्रेस र एमालेलाई भोट हाल्नेहरू भने केही बेर कुराकानी गरेपछि आफ्नो मत जाहेर गर्थे।
जेनजी आन्दोलन बेला सरकारको नेतृत्वमा रहेको एमाले र कांग्रेसले खासगरी युवा पुस्तालाई कुनै पनि ढंगमा आकर्षित गर्न नसकेको हामीले पायौं। हामीले भेटेकामध्ये पहिलो पटक भोट हाल्न लागेका बहुसंख्यक युवा मतदाता रास्वपाको पक्षमा खुलेका थिए।
उनीहरूले कांग्रेस वा एमालेतिर जान सक्ने आफ्ना आमाबुबाको मत पनि रास्वपातिर तान्ने प्रयास गरिरहेको खुलाए।
कांग्रेसका कतिपय मतदाताले भने आफूले भोट हाल्दै आएको दलमै कायम रहने बताएका छन्।
जनकपुर उपमहानगर–४, क्याम्पस चोकका ८१ वर्षीय कामेश्वर मल्लिक आफू विमलेन्द्रका शिक्षक रहेको बताउँछन्। विमलेन्द्रले गरेको संघर्ष र विकासमा योगदानका कारण उनी विजयी हुनुपर्ने कामेश्वरको धारणा छ।
'यो क्षेत्रको विकासका लागि विमलेन्द्रको योगदान धेरै छ। राजनीतिमा लागेर उसले पाएभन्दा धेरै गुमाएको छ। उसले ६ कक्षादेखि प्रजातन्त्र ल्याउन लडेर जलेश्वर जेलबाटै एसएलसी दिएको धेरैलाई थाहा नहुन सक्छ। राजनीतिमा लागेर उसको परिवारको थुप्रै बिघा जमिन सकिएको छ,' उनले भने।
कामेश्वर मल्लिक
मधेस प्रदेशको केन्द्र धनुषा–३ मा मधेसी दलहरू जसपा, जनमत पार्टी लगायतको प्रभाव पनि यसपालि निकै कम रहेको हामीले पायौं।
हामीले भेटेका मतदातामध्ये जसपालाई भोट दिन्छु भन्नेहरू निकै कम थिए भने सिके राउत नेतृत्वको जनमत पार्टीको पक्षमा मत जाहेर गर्नेहरू त नगन्य नै थिए। यी दल छिन्नभिन्न अवस्थामा पुग्नु, प्रदेश सरकारमा रहेर पनि डेलिभरी गर्न नसक्नु र आम जनतामा परिवर्तनको आशा जगाउन नसक्नुले यहाँका मतदाता असन्तुष्ट रहेको हामीले पायौं।
यसरी मधेस प्रदेशमै मधेसवादी दलहरूको मुर्झाएको अवस्थाले पनि रास्वपालाई लाभ पुग्ने देखिन्छ।
धनौजी गाउँपालिका–५, बहुअर्वाका ६० वर्षीय महेन्द्रप्रसाद यादवले अघिल्लो पटक सिके राउत नेतृत्वको जनमत पार्टीलाई भोट हालेका थिए। यसपालि उनले रास्वपामा भोट हाल्ने मन बनाएका छन्।
'मधेसी दलहरू कसैले पनि राम्रो डेलिभरी गर्न सकेनन्। आशा धेरै देखाए, नतिजा देखाउन सकेनन्,' उनले भने, 'त्यसैले मधेसकै मतदाता मधेसी दलहरूबाट सन्तुष्ट छैनन्। हाम्रो मत परिवर्तनको पक्षमा जाँदैछ।'

***
यी पनि पढ्नुस्– सेतोपाटी संविधान मान्छ, सर्वोच्च अदालत जान्छ
सेतोपाटी चुनाव विश्लेषण – १ ► चितवन–३ मा सोविता गौतमले जित्ने प्रबल सम्भावना
सेतोपाटी चुनाव विश्लेषण– २ ► काठमाडौं–३ मा मुख्य प्रतिस्पर्धा राजु पाण्डे र कुलमान घिसिङबीच
सेतोपाटी चुनाव विश्लेषण– ३ ► दाङ–२ मा रास्वपाका विपिन आचार्य अरूभन्दा धेरै अगाडि
सेतोपाटी चुनाव विश्लेषण– ४ ► रूपन्देही–२ मा अरू उम्मेदवारभन्दा रास्वपाका सुलभ खरेल धेरै अगाडि
सेतोपाटी चुनाव विश्लेषण – ५ ► काठमाडौं– ६ मा यसपालि पनि रास्वपाका शिशिर खनाल अगाडि