माइतीघर मण्डल — यो काठमाडौंको एउटा व्यस्त चोक मात्र होइन, सिंहदरबार र भुइँमान्छेबीच न्यायको दुरी नाप्ने ऐना पनि हो।
यहाँको आकाश नारा, जुलुस र आक्रोशले गुन्जिरहेको हुन्छ। यहाँको सडक देशभरबाट न्याय खोज्दै काठमाडौं आएकाहरूको आँसुले भिजिरहेको हुन्छ।
कठ्याङ्ग्रिँदो चिसो होस्, वा मुसलधारे झरी — मौसमी कहरको परवाह नगरी हप्तौंदेखि महिनौंसम्म सडक किनार त्रिपाल टाँगेर भोकभोकै अनसन वा धर्नामा बसिरहेका भुइँमान्छेहरू यहाँ कहिल्यै खाली हुन्नन्।
धेरैलाई सहरको कलात्मक मण्डल छेउमा सधैंजसो घन्चमन्च गराइरहने यी मान्छे को होलान्, कहाँबाट आएका होलान् भन्ने लाग्न सक्छ।
उनीहरू अन्यायबाट पिल्सिएका आम नागरिक हुन् — राज्यका अरू निकायबाट निराशा भोग्नुपरेपछि सिंहदरबारमा न्यायको दस्तक दिन आएका हुन्। सिंहदरबारलाई आशाको अन्तिम केन्द्र ठानेर आएका हुन्। अरूले आफ्नो कुरा नसुने पनि सिंहदरबारले त सुन्ला भन्ने भरोसा लिएर आएका हुन्।
सिंहदरबारको आँखाले भने आफ्नो गेटबाट केही सय मिटर दुरीमा रहेको माइतीघर मण्डलका त्रिपालहरू विरलै देख्छ।
बेला बेला कुनै मन्त्रीको आँखा परिहाले पनि ती आँखा समस्या समाधानतिर सोझिँदैनन्। बरू भिड र क्यामराको चमकधमककै बीचमा गुम हुन्छ।
प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले १०० दिन पूरा गर्दै गर्दा हामीले माइतीघर मण्डलमा रहेका समूहको गन्ती गरेका छौं। बबरमहलबाट माइतीघर हुँदै थापाथली आउने झन्डै २०० मिटर सडक खण्डमा अहिले पनि १० वटा समूह आन्दोलनरत छन्।
हामीले यी सबै समूहलाई छुट्टाछुट्टै भेटेर उनीहरू कहाँबाट आए, किन आए र उनीहरूको मुद्दा के हो भनेर सोधेका छौं।
१) रेखा हमाल
मुद्दा : छोराको अपहरण र हत्या गरेका व्यक्तिलाई राज्यले माफी दिएको

आफ्नो छोराको हत्याका व्यक्तिलाई सरकारले आममाफी दिएपछि ६० वर्षीया रेखा हमाल जेठ २९ देखि माइतीघरमा चौबीसै घन्टा धर्ना बसिरहेकी छन्।
दाङ तुल्सीपुर-११ घर भएकी रेखाका छोरा रमेश हमालको २०६६ चैत २६ गते अपहरणपछि हत्या भएको थियो।
उनको छोराको हत्या आरोपमा मुख्य योजनाकार दाङकै कालुराम चौधरीलाई जिल्ला तथा उच्च अदालत तुलसीपुर र सर्वोच्च अदालत काठमाडौंबाट जन्मकैदको फैसला गरिएको थियो।
तर केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा २०७७ फागुन ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनलाई माफी दिइयो।
'छोराको ज्यान मार्नेहरू खुलेआम घुमेको देखिपछि चित्त बुझाउनै गाह्रो भयो। चार-पाँच वर्षसम्म सहने कोसिस गरेँ। सकिनँ,' उनले भनिन्, 'घरबाट एक्लै काठमाडौं आएर आवाज उठाइरहेकी छु।'
उनी दाङबाट जेठ २८ गते काठमाडौं आइपुगेकी थिइन्। त्यस दिन सडकमै म्याट ओछ्याएर रात बिताइन्। भोलिपल्ट केही अभियानीले त्रिपाल किनिदिने भनेपछि उनी सँगै गएकी थिइन्। त्यसै दिन गृहमन्त्री गुरूङ माइतीघर आएका थिए। त्रिपाल किन्न गएकाले गृहमन्त्रीसँग भेट्न नपाएको उनी बताउँछिन्।
'त्रिपाल राखेपछि चौबीसै घन्टा यहीँ बसिरहेकी छु,' रेखाले भनिन्, 'सहयोगी मनहरूले दिएको खाना/खाजा खाएर बाँचेकी छु, न्याय नपाएसम्म कतै जाँदिनँ।'
२) दीपा नेपाली
मुद्दा : जातीय विभेद
-1776941743.jpg)
जातीय विभेद र छुवाछूतविरूद्ध प्रश्न गर्दै दीपा नेपालीले माइतीघरमा प्रदर्शन गर्न थालेको ८० दिन भयो।
कैलाली घर भएकी ३२ वर्षीया दीपाले ९ वर्षअघि काठमाडौंमा डेरा खोज्दा भोगेको जातीय विभेदविरूद्ध सरकारलाई प्रश्न गरिरहेकी छन्।
'जातकै कारण पटक पटक कोठाबाट निकालिनुपरेपछि कानुनी लडाइँ लडेँ। त्यतिले मात्र पुग्दैन भनेर सडकमै ओर्लिएको हुँ,' उनले भनिन्, 'यहाँबाट बोल्दा सरकारले सुन्छन् कि भन्ने लाग्थ्यो। तर यहाँ पनि आश्वासन मात्रै दिएर जाने रहेछन्।'
सुधन गुरूङ दोस्रो पटक गृहमन्त्री भएपछि माइतीघर आएर दीपासँग कुरा गरेका थिए। उनले यसबारे थप छलफल गर्न मन्त्रालय बोलाउने आश्वासन पनि दिएका थिए। तर अहिलेसम्म मन्त्रालयबाट कुनै खबर नआएको दीपा बताउँछिन्।
'यहाँ आउँदा मिडियाका अगाडि ठिक्क पार्नुभयो, त्यसपछि अत्तोपत्तो छैन,' उनले भनिन्।
दीपा अहिले दलित समुदायको आत्मसम्मानको सवाल उठाउँदै माइतीघर मण्डलमा 'सरकार, कोठा खाली छ?' भन्ने प्लाकार्ड बोकेर बसिरहेकी छन्। उनको यो प्रश्नमा ७५० जनाभन्दा बढीले ऐक्यबद्धता जनाएका छन्।
उनी प्रत्येक दिन ३ बजेदेखि ५-६ बजेसम्म यहाँ आएर प्रदर्शन गर्छिन् र साँझ घर फर्किन्छिन्।
३) जमुना खत्री
मुद्दा : बलात्कारविरूद्ध न्यायको लडाइँ

आफूमाथि बलात्कार भएको भन्दै २९ वर्षीया जमुना चैत ८ देखि माइतीघर मण्डलमा धर्नमा छिन्।
नेकपा एमाले नेता कर्णबहादुर मल्लले आफूलाई बलात्कार गरेको उनको आरोप छ।
उनी अनसन बसेको एक सातापछि चैत १४ गते प्रहरीले मुगुको सोरू गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई पक्राउ गरेको थियो।
मल्ल पक्राउ परेपछि ललितपुर प्रहरी र प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा जमुनाले अनसन त तोडिन्, तर सडक छाडेकी छैनन्।
मल्ल हाल पुर्पक्षका लागि जेल चलान भइसकेका छन्। प्रहरीले सुरूमा उजुरी समेत दर्ता नगरेकाले अझै पनि राज्यका शक्तिकेन्द्रले पीडकलाई जोगाउन सक्ने उनको आशंका छ। त्यही भएर दोषीलाई पूर्ण सजाय नभएसम्म र समाजमा आफ्नो सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित नभएसम्म माइतीघर नछाड्ने उनको अडान छ।
'भोलिको दिनमा जे पनि हुनसक्छ। त्यसैले सम्बन्धित निकायलाई दबाब दिन सडकमै बसिरहेको हुँ,' उनले भनिन्।
जमुना २४ घन्टा नै माइतीघरमा बस्छिन्। एउटा त्रिपाल पनि टाँगेकी छन्।
'गृहमन्त्रीज्यू यहाँ आउँदा उहाँलाई आफ्नो कुरा सुनाएँ। तपाईंको मुद्दालाई हामी यसै छाड्दैनौं भन्नुभएको छ। कानुनी लडाइँमा साथ दिन्छौं, सकेको सहयोग गर्छौं भन्नुभएको छ,' जमुनाले भनिन्, 'यो सरकारबाट बाचा पूरा होला भन्नेमा म आशावादी छु।'
४) साराकुमारी शाही (शर्मिला)
मुद्दा : बलात्कारविरूद्ध न्यायको लडाइँ

जाजरकोटकी २७ वर्षीया साराकुमारी शाही (शर्मिला) जेठ २७ देखि काखे शिशु च्यापेर सडकको धुलो खाँदै न्यायका लागि सडकमा छिन्।
सुर्खेतका प्रहरी भुपेन्द्र ठगुन्नाले आफूलाई बलात्कार गरेको उनको आरोप छ। उनी ७ महिनाकी गर्भवती हुँदा पहिलो पटक सडकमा धर्ना बसेकी थिइन्। अहिले उनको छोरा तीन महिनाको भइसकेको छ।
गाडीको धूलोधुवाँको परवाह नगरी तीन महिनाको शिशु च्यापेर प्रदर्शनरत शर्मिला माइतीघरको सडक आफ्नै घरजस्तो लाग्न थालेको बताउँछिन्।
'यो ठाउँ मेरो दुःख र आँसुको साक्षी बनेको महिनौं भइसक्यो। पटक पटक आश्वासन दिएर सडकबाट उठाएको राज्यले अन्ततः धोका दिएपछि म फेरि तीन महिनाको दूधे बालक बोकेर यहाँ धर्ना दिन आएकी हुँ,' उनले भनिन्।
उनी माइतीघरमा धर्ना बसेपछि आरोपी ठगुन्नालाई प्रहरीले पक्राउ गरेको थियो। उनलाई पुर्पक्षका लागि सुर्खेत कारागारमा राखिएको छ।
'त्यति बेला आरोपीलाई थुनामा पठाएपछि कानुनी कारबाही हुन्छ र क्षतिपूर्ति दिलाउँछौं भनेपछि धर्ना तोडेकी थिएँ,' उनले भनिन्, 'म धर्ना तोडेर गाउँ गएँ, तीन महिनाअघि बच्चा जन्मियो, तर कहीँ कसैले एक रूपैयाँ सहयोग गरेनन्। बच्चा जन्मिएपछि म फेरि सडकमा आउन बाध्य भएँ।'
'यो बच्चाको जन्मदर्ता बनाइदिए म सडकबाट उठ्छु,' उनले भनिन्।
५) रमिला कार्की
मुद्दा : सहकारी ठगी र घरेलु हिंसा

रमिला कार्की माइतीघरमा त्रिपाल टाँगेर बस्न थालेको ५० दिन भयो।
ललितपुर-२२ घर भएकी ४० वर्षीया रमिलाले जग्गा बेचेर ७५ लाख रूपैयाँ सुमेरू सहकारीमा राखेकी थिइन्। सहकारी बन्द भएपछि आफ्नो सारा पुँजी लुटिएको भन्दै उनी माइतीघरमा प्रदर्शनरत छिन्।
'ललितपुरका सिडिओ र प्रहरीको समन्वयमा किस्ता किस्ता गरेर पैसा तिर्ने सहमति भएको छ,' उनले भनिन्।
सहकारी ठगीसँगै रमिलाले घरेलु हिंसाको मुद्दा पनि उठाएकी छन्।
दस वर्षअघि सम्बन्ध विच्छेद गरेकी रमिलालाई मासिक खर्च र केही सम्पत्ति दिने भनिएको थियो। पूर्वपतिबाट शारीरिक र मानसिक हिंसा भएकाले उपचारमा सहयोग पुर्याउने पनि भनिएको थियो। तर अहिलेसम्म कार्यान्वयन नभएपछि उनले कानुन अनुसार आर्थिक सहयोग र उपचारको माग गरिरहेकी छन्।
'यो सडक धर्ना केवल एक दिनको विरोध होइन, निरन्तर अभियान हो। जबसम्म हाम्रो समाजमा घरेलु हिंसाको पूर्ण रूपमा अन्त्य हुँदैन र महिलाहरूले न्याय र समानता पाउँदैनन्, मेरो आन्दोलन जारी रहनेछ,' उनले भनिन्।
गृहमन्त्री सुधन गुरूङ माइतीघर आउँदा रमिलासँग पनि कुराकानी भएको थियो। उनले घरेलु हिंसामा न्याय दिने र सहकारीको पैसा फिर्ताका लागि पहल गर्ने प्रतिबद्धता गरेको रमिलाको भनाइ छ।
६) पुष्पमाया कार्की
मुद्दा : वैदेशिक रोजगारी क्रममा ठगी र सामूहिक बलात्कार

उदयपुरकी पुष्पमाया कार्की डेढ वर्षअघि तीन लाख रूपैयाँ खर्च गरेर मलेसिया गएकी थिइन्।
त्यहाँ दुई महिनासम्म नुवाकोटकी एक महिलाले आफूसँगै राखेको र त्यसपछि यौन व्यवसायमा पठाउन खोजेको उनी बताउँछिन्।
'मैले नमानेपछि शारीरिक यातना सहनुपर्यो,' उनले भनिन्, 'जबर्जस्ती गरेपछि तीन ठाउँमा दुई-दुई महिना काममा जान बाध्य भएँ।'
उनले अगाडि भनिन्, 'जसको सहारामा मलेसिया गएकी थिएँ, उनैले विभिन्न ठाउँमा मलाई बेचिदिइन्। आखिरमा म सामूहिक बलात्कारको सिकार पनि भएँ।'
आफूमाथि सामूहिक बलात्कार गर्नेहरू नेपाली नै रहेको र ती सबै अहिले मलेसियामै भएको उनको भनाइ छ।
पुष्पमायाले नेपाल फर्केपछि आफूले मलेसिया जान पैसा दिएको नुवाकोटकी एक महिलाविरूद्ध मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएकी छन्।
साथै, सामूहिक बलात्कार गर्नेहरूलाई पक्राउ गरेर कानुनी कारबाही अघि बढाउन माग पनि गरेकी छन्।
यिनै माग राखेर २८ वर्षीया पुष्पमाया पाँच महिनादेखि माइतीघरमा प्रदर्शनरत छिन्। त्रिपाल टाँगेर बस्न थालेकै तीन महिना भइसकेको उनी बताउँछिन्।
'सुरूमा म दिउँसो मात्र बस्थेँ,' उनले भनिन्, 'कसैले कुरा नसुनेपछि अहिले दिनरात यहीँ बस्छु।'
७) देविका खनाल
मुद्दा : दुर्घटनाको क्षतिपूर्ति माग

सुनसरीको इनरूवा नगरपालिका-६ घर भएकी २९ वर्षीया देविका खनाल सडक दुर्घटनामा परेर घाइते भएकी छन्।
उनले आफूलाई ठक्कर दिएर शारीरिक रूपमा अशक्त बनाइदिएका व्यक्तिलाई कानुनी कारबाही गर्न र क्षतिपूर्ति दिलाउन माग राखेकी छन्। उनी ७३ दिनदेखि त्रिपाल टाँगेर चौबीसै घन्टा माइतीघरमै बसिरहेकी छन्।
२०८१ फागुन २२ गते इनरूवा नगरपालिका-६ का वडाध्यक्ष सुमन थापाले चलाएको गाडीले ठक्कर दिँदा आफू घाइते भएको उनको भनाइ छ।
'दुर्घटनामा परेको २१ दिनसम्म जिल्ला अस्पतालमा उपचार भयो। त्यसपछि थप उपचार गरिएन, क्षतिपूर्ति पनि दिएनन्,' उनले भनिन्, 'दुर्घटनामा परेर मेरो दाहिने खुट्टा नचल्ने भएको छ। म हिँडडुल गर्न पनि सक्दिनँ।'
देविकाकी १३ वर्षकी छोरी छिन्। छोरीको हेरचाहदेखि घरको सबै खर्च देविकाकै भरमा चल्थ्यो। पीडक पक्षले उपचार खर्च समेत नबेहोरेपछि २०८२ साउन १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको उनी बताउँछिन्।
उजुरीपछि वडाध्यक्ष थापालाई पक्राउ गरिए पनि केही दिन हिरासतमा राखेर छाडिएको उनले जानकारी दिइन्।
'म माइतीघरमा धर्ना बस्न थालेयता थुप्रै अभियानी र नेताहरू भेट्न आइसक्नुभएको छ। कानुनी पहलमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। तर सबै जना बाचा गरेर हराउनुहुन्छ,' उनले भनिन्, 'केही दिनअघि गृहमन्त्री सुधन गुरूङले पनि कानुनी प्रक्रिया छिटो अघि बढाउने आश्वासन दिनुभयो। हामी तपाईंको साथमा छौं भन्नुभयो। त्यसपछि पनि केही कुरा अगाडि बढेको छैन।'
देविकाले वडाध्यक्षको पहुँचकै कारण प्रहरीले यो मुद्दामा लापरबाही गरेकाले निष्पक्ष छानबिनको माग गरेकी छन्।
८) 'लालीबजार' फिल्मको विरोधमा प्रदर्शनरत वादी समुदाय
मुद्दा : फिल्मले वादी समुदायबारे भ्रामक चित्रण गरिएको भन्दै विरोध

देविका खनालको त्रिपालकै छेउमा वादी समुदायका केही व्यक्ति प्रदर्शनरत छन्। 'लालीबजार' फिल्ममा वादी समुदायबारे गरिएको चित्रणको विरोधमा धर्ना दिइरहेको यो समूहसँग हामीले कुरा गर्न भने सकेनौं।
धर्नामा बसेका व्यक्तिहरू केही कामले बाहिर गएको वरपरका अन्य प्रदर्शनकारीले बताए। उनीहरूका अनुसार धर्नामा बस्नेहरू ९ जना छन्।
धर्ना दिइरहेका व्यक्तिलाई प्रत्यक्ष नभेटे पनि हामीले उनीहरूको ब्यानर पढ्यौं। उनीहरूको ब्यानरमा लेखिएका थिए —
– फिल्मको बर्बरता र अन्यायविरूद्ध हामी एकजुट हौं
– रूढीवादी अपमानजनक र भ्रामक चित्रण बन्द गर
– वादी समुदायलाई अपमानित र गलत देखाउने फिल्मको विरोध गरौं
– झूटा, भ्रामक र विभेदपूर्ण प्रस्तुतीकरण तत्काल बन्द गर
– वादी पहिचान, संस्कृति र आत्मसम्मानमा पारिएको आघातको न्याय होस्
९) उमा महतो र भागनारायण महतो
मुद्दा : मिटरब्याजी साहुलाई कारबाहीको माग

सर्लाहीको बरहथवा नगरपालिका-८ का उमा र भागनारायण महतो श्रीमान-श्रीमती हुन्।
यी दम्पती ४० दिनदेखि माइतीघर मण्डलमा धर्नामा छन्। उनीहरू दिनभर माइतीघरमै बस्छन्, साँझ आफन्तको घरमा बास बस्न जान्छन्।
मिटरब्याजका कारण आफूहरू ठगिएको भन्दै उनीहरू सर्लाहीबाट प्रदर्शन गर्न काठमाडौं आएका हुन्।
'ऋण लिएको रकमभन्दा १० गुना बढी तिरिसक्दा पनि हाम्रो जग्गा-जमिन फिर्ता भएन। त्यसैले हामी मिटरब्याजविरूद्ध आन्दोलनमा ओर्लिन बाध्य भयौं,' उनीहरूले भने।
१०) हरिभक्त मिजार
मुद्दा : अजित मिजारको 'अनर किलिङ' (जातका नाममा गरिएको हत्या)

२०७३ साल असार २५ गते १८ वर्षीय अजित मिजारले एक गैरदलित (पराजुली थरकी) युवतीसँग प्रेम विवाह गरेका थिए।
केटीका परिवार र आफन्तले यो अन्तरजातीय विवाह स्वीकार गरेनन्।
विवाह गरेको केही दिनमै केटा र केटीको उमेर नपुगेको भन्दै प्रहरीकै रोहवरमा उनीहरूलाई अलग गराइयो।
यो घटनालगत्तै असार २९ गते घरबाट चार्जर किन्न निस्किएका अजित फर्किएनन्। भोलिपल्ट धादिङमा उनको शव फेला परेको बुबा हरिभक्त मिजार बताउँछन्।
उनका अनुसार धादिङ प्रहरी र स्थानीय प्रशासनले परिवारलाई खबरै नगरी, पोस्टमर्टम समेत नगरी अजितको शवलाई बेवारिसे भनेर गाडिदिए।
हरिभक्तले छोराको हत्या भएको आशंकामा खनेर शव निकाल्न लगाए र न्यायको माग गर्दै शव काठमाडौं लिएर आए।
अजितको शव १० वर्षदेखि टिचिङ अस्पतालमा न्याय पर्खिरहेको छ।
हरिभक्तले छोराको हत्या गर्ने व्यक्तिहरूमाथि कानुनी कारबाही नभएसम्म शव अन्त्येष्टि नगर्ने अडान लिएका छन्।
'सुधन गुरूङ गृहमन्त्री भएपछि जेठ २९ गते माइतीघरमा रहेका सबै पीडितसँग कुरा गर्न आउनुभएको थियो। त्यही सुनेर मैले पनि ब्यानर झुन्ड्याएर राखेको हुँ,' उनले भने, 'घरव्यवहार पनि चलाउनुपर्ने भएकाले म सधैं यहाँ बसेर प्रदर्शन गर्न भ्याउँदिनँ। अजितको न्यायका लागि केही अभियानीहरू बस्नुहुन्छ।'
ती अभियानीसहित हरिभक्तले माइतीघरमा ब्यानर झुन्ड्याएको करिब २० दिन भयो। तर अहिलेसम्म कसैले भेट्न नबोलाएको उनी बताउँछन्।
***