२०७२ सालको भुइँचालोले धादिङ सदरमुकाम मास्तिरको डाँडामा रहेको रिजाल गाउँका सबै घरहरू भत्कायो।
६५ वर्षे रुद्रकुमारी रिजालको घर पनि बचेन। ढल्न त ढलेन, क्षतविक्षत भयो। खाँबा र पर्खालहरू चर्किए। बूँइगल थ्याच्चै बस्यो।
अलिकति ढुङ्गामाटो, अलिकति पसिना र अलिकति हर्षको आँशुले बनेको यो दुई तले संरचना रुद्रकुमारीका लागि केबल एउटा घर थिएन, मायालु सम्झनाहरूको पोको पनि थियो।
२०३२ सालतिर यो घर बन्दा रुद्रकुमारी नवदुलही थिइन्। श्रीमानसँग मिलेर उनी आफैंले यो घर बनाइन्। श्रीमान मिस्त्री बने। उनले माटो मुछिन्, कोठा–चोटा लिपिन्। ज्यामीहरूका लागि चाम्रे पकाइन्, गुन्द्रुक साँधिन्।
यही घरमा रुद्रकुमारी सुत्केरी भइन्। दुई छोराहरू जन्मिए, हुर्किए। यही घरको आँगनमा दुवै छोराको व्रतबन्ध भयो।
हरेक दसैंमा उनी रातो माटोले लिपेर घर चिटिक्क सजाउँथिन्। लक्ष्मी पूजाको रात माटाका पालामा तेल हालेर झिलीमिली बत्ती बाल्थिन्। तिजमा सङ्गीहरू भेला हुन्थे। सुख–दुःखका गीत गाउँथे।
यति धेरै सम्झना गुँडुल्किएको यो घर २०७२ साल वैशाख १२ गते एक मिनेटभित्रै बस्नै नमिल्ने गरी चर्कियो। धन्न उनी त्यो दिन घरभित्र थिइनन्, श्रीमान पनि बारीतिरै थिए।
भुइँचालो आएपछि उनीहरू बारीको पाटामा टहरो बनाइ बस्न थाले। जेठा छोरा पहिल्यै अलग्गिएका थिए। कान्छा छोरा पनि काठमाडौं गए।
टहरोले दर्के झरी नथामेपछि उनले गाईवस्तु बेचिन्, र गोठ सफा गरी त्यहीँ बस्न थालिन्। श्रीमानलाई चिसोले भेट्यो। रुघाखोकी लाग्यो। दम पनि बढ्यो। केही साता थलिएपछि श्रीमान बिते। रुद्रकुमारी एक्लै भइन्।
यो घर बनाउँदा रुद्रकुमारी जवान थिइन्। श्रीमान साथै थिए। दुवैका पाखुरामा तागत थियो।
भुइँचालोपछि नयाँ घर बनाउन रुद्रकुमारीलाई आँटै आएन। श्रीमान बितेपछि त उनी झन् निरीह महशुस गर्न थालिन्। नयाँ घर बनाउने भनेर भूकम्प पुनर्निर्माण प्राधिकरणबाट ५० हजार रुपैयाँ त लिएकी थिइन्, तर घर बनाउनै सकिरहेकी थिइनन्।
तर, गोठमा चार वर्ष बिताएपछि अब भने रुद्रकुमारी आफ्नै घर फिर्ने तयारी गर्दैछिन्। यसपालि दसैंमा छोराबुहारी र नाति–नातिनालाई पुरानै घरमा बोलाएर टीका लगाइदिने धोको उनको छ।
भूकम्प प्रभावित जिल्लामा जोखिमपूर्ण घरहरूको प्रबलीकरण गर्दै आएका 'यूएन–ओपीएस' र 'बिल्ड चेञ्ज'ले रुद्रकुमारीको घर फेरि बस्न मिल्ने गरी बलियो बनाएका छन्।
झण्डै तीन महिना लाएर प्रबलीकरण गरिएको रुद्रकुमारीको पुरानो घर नयाँजस्तै बलियो र भूकम्प प्रतिरोधी रहेको बिल्ड चेञ्जका इञ्जिनियर अनिल बस्नेतले बताए।
गत साता आफ्नो घरको प्रबलीकरण सकिएपछि रुद्रकुमारीले दङ्ग हुँदै भनिन्, ‘अब त जत्रो ठूलो भुइँचालो आउँदा पनि मेरो घर ढल्दैन रे!’
पुनर्निर्माण प्राधिकरण, यूएन–ओपीएस र बिल्ड चेञ्जका अधिकारीहरूसँग रुद्रकुमारी रिजाल। तस्बिरः सेतोपाटी
भूकम्पले क्षतिग्रस्त करिब ७० हजार घर अझै प्रबलीकरणको पर्खाइमा छन्। प्राधिकरणले अर्को वर्षभित्र यी सबै घरको प्रबलीकरण गरिसक्ने महत्वकांक्षी लक्ष्य राखेको छ।
तर, प्राधिकरणले प्रबलीकरणका लागि प्रति परिवार एक लाख रुपैयाँमात्रै अनुदान दिँदै आएको छ, जुन अपुग भएको गुनासो भूकम्प प्रभावितहरूको छ। बाँकी पैसा उनीहरू आफैंले थप्नुपर्छ।
रुद्रकुमारीले भने पैसा खर्च गर्नै परेन। वृद्ध र एकल महिला भएकीले उनको घरलाई नमूना प्रबलीकरणका लागि छानिएको थियो।
उनको घर प्रबलीकरण गर्न ३ लाख ८२ हजार रुपैयाँ खर्च भएको थियो। पुरानो घर भत्काएर नयाँ बनाउनु परेको भए झण्डै तीन गुणा बढी खर्च हुने धादिङ जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)का प्रमुख कोषनाथ अधिकारीले बताए।
रुद्रकुमारीको घर प्रबलीकरण गर्ने काममा रिजाल गाउँका धेरै मानिस सरिक भए। उनीहरूले पनि प्रबलीकरणको महत्व बुझे। प्रविधि सिके। वडाध्यक्ष होमनाथ रिजालले भने, ‘यो घर क्षतिग्रस्त थियो। यस्तो घरमा के बस्न सकिएला जस्तो लागेको थियो। तर, अहिले नयाँजस्तै बलियो घर पो बन्यो।’
रुद्रकुमारीको घर प्रबलीकरण गर्न सघाएका स्थानीयबासी मित्रप्रसाद रिजालले भने, ‘हाम्रो गाउँमा भूकम्पपछि नयाँ घर बने। पुरानो घर त यही एउटा मात्र बाँकी रह्यो। रिजाल गाउँमा पहिले कस्ता घरहरू थिए भन्ने हेर्न पनि अब त यहीँ आउनुपर्ने भयो।’
उनले थपे, ‘यो घर पनि भत्काएर नयाँ बनाएको भए त रिजाल गाउँको पुरानो स्वरुप नै बिलाउँथ्यो।’