पूर्वऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का सोमबार आफ्नो बुढानिलकण्ठ निवासमा सार्वजनिक भएपछि उनलाई 'देश छाडेर भागिसके' भनेका गृहमन्त्री ओमप्रकाश अर्यालमाथि प्रश्न उठेको छ।
गृह प्रशासनको नेतृत्व गरेकै मन्त्रीलाई गलत सूचना आएको हो वा उनले बिनाआधार यस्तो दाबी गरेका हुन् भनेर सेतोपाटीले गृहमन्त्री अर्याललाई प्रश्न गरेको छ।
उनले हामीसँगको कुराकानीमा पनि दीपक खड्का भागेरै गएको दाबी दोहोर्याउँदै प्रतिप्रश्न गरे, 'आज प्रकट हुनुभएको हो कि कहिले हुनुभएको हो उहाँ?'
गृहमन्त्री अर्यालले अगाडि भने, 'मेरो अन्तर्वार्ता कहिले रेकर्ड भयो, अनि उहाँ कहिले प्रकट हुनुभयो? मेरो अन्तर्वार्ता कहिले छापियो, अनि उहाँ कहिले प्रकट हुनुभयो? उहाँले एयरपोर्ट प्रयोग नगरेर स्थलमार्ग हुँदै जानुभयो भन्ने पनि आफै भन्नुभएको छ, हैन? अब यी सूचनाको विश्लेषणबाट के निष्कर्ष आउला?'
गृहमन्त्री अर्याललाई हामीले थप सोध्यौं, 'दीपक खड्का भाग्नु नै भएको हो भन्ने ठहरमा कसरी पुग्नुभयो, जबकि उहाँले त उपचारका लागि गएको बताइरहनुभएको छ नि?'
जबाफमा गृहमन्त्री अर्यालले राज्यका निकायहरूले गरेको अनुसन्धानकै आधारमा आफूले त्यसो भनेको बताएका छन्।
'सरकारले केही अनुसन्धान सुरू गरेको थियो। त्यस क्रममा उहाँ कहाँ हुनुहुन्छ, के हुनुहुन्छ भनेर हाम्रो पनि इन्टेलिजेन्सले लोकेट त गर्ला नि, डिटेक्ट गर्छ होला नि त होइन?' अर्यालले भने, 'कानुनी कारबाहीमा जानुअघि छानबिनहरू हुन्छन् नि, होइन?'
त्यही छानबिन क्रममा सम्भावित कोही व्यक्ति उम्किँदै छ कि छैन, के–कस्तो अवस्थामा छ, कहाँ छ भनेर खोजतलास र निगरानी गर्ने काम राज्यले गरिरहने मन्त्री अर्यालको भनाइ छ।
'राज्यले यस्तो काम गर्नुपर्दैन भन्यो भने त ठिकै हो,' उनले भने, 'तर राज्यले छानबिन सुरू हुन लाग्यो भनेपछि पहिलेदेखि निगरानी त गर्छ होला मान्छेलाई। त्यसरी नै वाच गर्ने बेला उहाँ फेला पर्नु भएन। एयरपोर्टबाट गएको पनि देखिन्न।'
गृहमन्त्रीले थपे, 'अनि उहाँका पिएसओहरूले के भन्छन्, उनीहरूको पनि कुरा त होला नि हैन?'
राज्यले त्यति बेलाको अवस्थामा विविध सूचनाहरू विश्लेषण गरेर त्यस्तो निष्कर्ष निकालेको मन्त्री अर्यालको दाबी छ।
'राज्यले आफूले पाएको सूचना विश्लेषण गरेको हो। उहाँ आज प्रकट हुनुभएछ। उहाँले भन्या कुरा सत्य र मन्त्रीले भन्या कुरा झूट भन्ने हुँदैन,' उनले भने।
भदौ २३ र २४ को जेन–जी आन्दोलनताका कांग्रेस नेता दीपक खड्का ऊर्जामन्त्री थिए। आन्दोलन क्रममा प्रदर्शनकारीहरूले बुढानीलकण्ठमा रहेको खड्काको घर पनि जलाइदिएका थिए।
गृहमन्त्री अर्यालले आइतबार 'नयाँ पत्रिका' दैनिकमा अन्तर्वार्ता दिँदै तत्कालीन ऊर्जामन्त्री खड्का देश छाडेर भागेको बताएका थिए।
नाम नलिए पनि अर्यालको भनाइ खड्कातिरै लक्षित थियो। अर्यालले भनेका थिए, 'अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ। अब यहाँ ठुल्ठूला नेताबारे छानबिन सुरू भइरहेको कुरा आइसकेको छ। कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जामन्त्री भागिसके। अरू पनि भाग्न खोज्दै छन्।'
मुलुकको गृह प्रशासनको बागडोर सम्हालेका अर्याल कानुन पृष्ठभूमिका व्यक्ति हुन्। उनैले भागेको दाबी गरेको अन्तर्वार्ता प्रकाशित भएको भोलिपल्टै सोमबार दीपक खड्का बुढानिलकण्ठस्थित आफ्नै निवासमा पत्रकारहरूमाझ प्रकट भए।
त्यस क्रममा खड्काले आफू भागेको भनेर सरकारले गलत प्रचार गरेको बताउँदै आफूविरूद्ध कुनै आरोप नलागेको भए पनि गृहमन्त्रीले भाग्यो भनेर गलत प्रचार गरेको बताए।
'सरकारले मलाई चिठी काटेको छ? वारेन्ट जारी भएको छ? कहिँ नजानू भनेको छ? मेरो के रोक गरेको छ र म भागेँ भन्ने? सरकारले त्यसो भन्न मिल्छ? गृहमन्त्री त कानुनको विद्यार्थी पनि हो,' उनले भने।
गृहमन्त्रीले आफ्नो बदनाम गरेको भन्दै पूर्वमन्त्री खड्काले भदौ २४ गते जलाइएको आफ्नै घरको आँगनबाट प्रस्टीकरण दिएका हुन्।
उनले भदौ २४ पछि आफू ७–८ दिन सेनाको सुरक्षामा बसेर चितवन गएको र त्यहाँ जाँदा छोरालाई डेंगी भएपछि भारत गएको बताएका छन्।
'११ दिन मेदान्त हस्पिटलमा उपचार क्रममा बसेको छु बच्चासहित। मलाई पनि डेंगी भयो। श्रीमती उतै छिन्। त्यो छोडेर समाजमा दिग्भ्रमित पारेर सरकार एक जनाको पछि लाग्दा सिंगो समाज भ्रमित भयो। दुःख लागेर आएँ,' उनले पत्रकारहरूसँग भने।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्काकै जोडबलमा नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रमुख कुलमान घिसिङलाई कार्यकाल सकिन केही महिना बाँकी छँदा हटाइएको थियो।
जेन–जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारमा उनै घिसिङ ऊर्जामन्त्री बनेका छन्। भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पनि घिसिङले सम्हालेका छन्।
अर्यालले अन्तर्वार्तामा तत्कालीन प्रधानमन्त्री ओलीलाई पनि 'शैतानी सोच भएको मान्छे' को संज्ञा दिएका थिए।
'उहाँमा शैतानी प्रवृत्ति छ, खालि भड्काउने मात्र खोज्नुहुन्छ। उहाँको विगत पनि त्यस्तै छ। आजसम्म उहाँ सुध्रिनुभएको छैन,' गृहमन्त्री अर्यालले भनेका थिए।
भदौ २४ को दिन पूर्वमन्त्री खड्काको घरबाट लाखौं रूपैयाँ भेटिएको भन्दै पैसा उडाइएको भिडिओ पनि सार्वजनिक भएको थियो।
उक्त भिडिओबारे पत्रकारहरूले सोमबार खड्कालाई नै प्रश्न गरेका थिए।
जबाफमा खड्काले प्रदर्शनकारीहरूले पैसा उडाउँदै गर्दा आफू घरमै रहेको बताए।
'मेरो घरमा कति पैसा थियो। कति विदेशी पैसा थियो भनेर प्रहरीसँग दर्ज गरेको छु। उडाएर फोटो खिचिएको थियो। यही घरमा बसेर हेरिरहेको थिएँ,' उनले भने।
उनले दसैंका लागि भनेर राखिएका २० र ५० रूपैयाँका नोटका बन्डल लगेर प्रदर्शनकारीहरूले उडाएको दाबी गरे।
'मैले दसैंका लागि ल्याएर राखेको पैसा थियो। २० र ५० रूपैयाँका नयाँ नोट थिए। त्यसका एक–एकवटा बन्डल ल्याएर फुर्ररर उडाएर सँगसँगै फोटो खिचिरहेका थिए। त्यो प्लानमा भएको थियो। चरित्र हत्या गर्न प्लान गरिएको थियो,' उनले भने।
उनले आफ्नो व्यवसायिक पृष्ठभूमिका आधारमा केही पैसा हुनु अस्वाभाविक नभएको बताए।
'दीपक खड्कासँग दुई–चार लाख नहुन सक्छ भनेर तपाईंहरू विश्वास गर्नुहुन्छ? मेरो पृष्ठभूमि हेर्नुभाकोछ? संगत गर्नुभाछ?' पत्रकारहरूलाई उनले भने, 'म त्यो पृष्ठभूमिबाट आएको मान्छे। मेरो जे व्यावसायिक संरचना छ, त्यो मन्त्री हुनु र राजनीति गर्नुभन्दा पहिल्यै तयार भएका थिए,' उनले भने।
यो पनि: