नेपाली सेनाले काठमाडौं– तराई मधेस द्रुत मार्ग (फास्ट ट्रयाक)को सुरुङ निर्माण मंसिरदेखि थाल्ने योजना बनाएको छ।
सुरुङ मार्ग निर्माणका लागि त्यहाँको जमिनको प्राविधिक अध्ययन भइरहेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले सेतोपाटीलाई बताए।
‘सुरुङ निर्माणको लागि ठेक्का आह्वानको अन्तिम तयारी भइरहेको छ। अबको १५ दिनभित्र हामीले ठेक्का आह्वान गर्छौ होला’ उनले भने, ‘कात्तिक महिनाको अन्तिम अथवा मंसिरको सुरुआतदेखि काम सुरु गर्ने हाम्रो योजना हो।’
उनले प्राविधिक अध्ययनको कामले गति लिएको भन्दै आगामी दिनमा आयोजनाको भौतिक प्रगति बढ्ने बताए।
७२.५ किमि दुरीको फास्ट ट्रयाकमा महादेबटार, धेद्रे र लेनडाँडामा ६. ४ किलोमिटर सुरुमार्ग रहनेछ। सुरुङ मार्गको कामलाई तीन चरणमा गर्ने योजना बनाएको समेत प्रवक्ता पौडेलले बताए।
कोभिड १९ का कारण छनौट भएको परामर्शदाता नेपाल आउन समेत समय लागेको सेनाको भनाई छ। ‘अन्तर्राष्ट्रिय परामर्श दाताले काम सुरु गरेको आधारमा नेपाली सेनालाई बाँकी काम अघि बढाउन सजिलो हुनेछ’ सैनिक प्रवक्ता पौडेलले भने, ‘कोभिडले गर्दा काममा व्यवधान आएको थियो।
अब काम अगाडि बढाउने वातावरण बनेको छ। हामीले बनाएको योजना अनुसार नै आयोजना सम्पन्न हुनेमा हामी आशावादी छौँ।’ नेपाली सेनाले २०८१ को वैशाखसम्म फास्ट ट्रयाक निर्माण गरिसक्ने योजना गत वर्ष सार्वजनिक गरिसकेको छ।
चार किलोमिटर सडकमा खन्ने र पुर्ने काम बाँकी रहेको भन्दै सेनाले त्यसका लागि १२ वटा प्याकेजमा काम अघि बढिरहेको जनाएको छ।
मकवानपुरमा ९९ रोपनी जग्गाको पुर्जा तयार भएको, मुआब्जा बितरणको प्रक्रिया अगाडि बढाइएको र खोकना क्षेत्रको हकमा सम्बन्धित निकाय मार्फत आवश्यक पहल भइरहेको सेनाको भनाई छ।