फिनल्यान्डको हेल्सिन्की एयरपोर्टमा कुकुरहरूबाट गरिएको कोरोना भाइरस परीक्षण नतिजा 'लगभग शतप्रतिशत सही आएको' अनुसन्धाताहरूले बताएका छन्।
हेल्सिन्की एयरपोर्टले तालिमप्राप्त कुकुर प्रयोग गरेर कोरोना परीक्षण सुरू गरेको हो। ती कुकुरले यात्रुको पसिनाको गन्ध सुँघ्छन् र त्यसै आधारमा संक्रमण छ कि छैन पत्ता लगाउँछन्।
कुकुरबाट हुने कोरोना परीक्षण अनुगमन गरिरहेको हेल्सिन्की विश्वविद्यालयकी आना हेल्म बिज्रोकम्यानले यसलाई 'उत्साहजनक नतिजा' भनेकी छन्।
'यो परीक्षणकै क्रममा छ, यसको नतिजा पूर्ण रूपमा पुष्टि भयो भने अन्य विमानस्थल, अस्पताल, घर वा सार्वजनिक ठाउँहरूमा यही तरिकाबाट कोरोना परीक्षण गर्न सकिन्छ,' उनले भनिन्।
अहिलेसम्मको नतिजाअनुसार यो पिसिआर परीक्षणको दाँजोमा छिटो, सस्तो र प्रभावकारी देखिन्छ। पिसिआर परीक्षणको नतिजा ७० प्रतिशत मात्र सही पाइएको छ।
कोरोना परीक्षण निम्ति कुकुर प्रयोग गर्नेमा फिनल्यान्ड पहिलो युरोपेली मुलुक हो। अस्ट्रेलिया, फ्रान्स, जर्मनी र बेलायतले यस्तै खालको अनुसन्धान गरिरहेका छन्। दुबई अन्तर्राष्ट्रिय विमानस्थलले पनि गत महिना यस्तो परीक्षण गरेको थियो।
यो विधिअनुसार हेल्सिन्की विमानस्थलमा यात्रुहरू प्रवेश गरेसँगै उनीहरूलाई मुख र घाँटी पुछ्न लगाइन्छ। यसरी पुछ्दा पसिनाको गन्ध टिस्यू पेपरमा सर्छ। यात्रुहरूले त्यो पेपर डब्बामा राख्छन्। त्यसपछि कुकुरको काम सुरू हुन्छ।
यात्रुले पसिना पुछेको पेपर कुकुरलाई सुँघ्न लगाइन्छ। अध्ययनकर्ताका अनुसार तालिमप्राप्त कुकुरले १० सेकेन्डमै संक्रमित व्यक्ति पत्ता लगाउँछ। यात्रु एयरपोर्ट पुगेदेखि यो प्रक्रिया पूरा हुन जम्मा एक मिनेट लाग्ने उनीहरू दाबी गर्छन्।
कुकुरको सुँघ्ने क्षमता तीखो हुन्छ। लामो समयेखि एयरपोर्टमा बम, लागूपदार्थ र अन्य वस्तु जाँच्न कुकुरहरू प्रयोग गरिँदै आएको छ। कुनै समय कुकुरले क्यान्सर र मलेरियाजस्ता रोग पनि पत्ता लगाएका थिए।
अहिलेको महामारी बेला यी प्रशिक्षणप्राप्त कुकुर प्रयोग गर्नु सजिलो हुने हेल्म बताउँछिन्।
उनका अनुसार, प्रशिक्षणप्राप्त कुकुरले पहिलो चरणमा लक्षण नदेखिएका कोरोना संक्रमित पत्ता लगाउने छन्। भन्नुको मतलब, कुनै व्यक्तिलाई कोरोना संक्रमण छ तर लक्षण देखिएको छैन भने यस्ता कुकुरले सुँघेर पत्ता लगाउँछन्। अहिलेसम्म लक्षण नदेखिएका बिरामीको पहिचान पिसिआरबाट मात्र हुँदै आएको थियो।
हेल्सिन्की विश्वविद्यालयको भेटरिनरी विभागअनुसार भाइरस पहिचान गर्न तालिमप्राप्त कुकुरले मान्छेको पसिना वा पिसाबको गन्ध सुँघेर ती व्यक्ति संक्रमित छ कि छैन पत्ता लगाउँछ। कुकुरले आफूलाई सुँघाएको नमूनामा भाइरसको गन्ध फेला पार्यो भने उसले तुरून्तै संकेत दिन्छ।
विश्वविद्यालयकी हेल्म बिज्रोकम्यान र उनको टोलीले ती कुकुरलाई भाइरसको गन्ध चिन्न मात्र होइन, संक्रमित व्यक्ति फेला परे कसरी संकेत गर्ने भन्ने प्रशिक्षण पनि दिएको छ।
नमूना पोजेटिभ भएको संकेत दिन कुकुरले विशेष आवाज निकाल्छ भने नेगेटिभ नमूनामा कुनै संकेत गर्दैन। ऊ त्यो नमूना सरक्क छाडेर अर्को नमूना सुँघ्न थाल्छ।
कोरोना भाइरसको छुट्टै गन्ध हुने र संक्रमित व्यक्तिमा त्यही गन्ध पाइने विभिन्न अध्ययनकर्ताले बताएका छन्। तर, कुकुरले सुँघ्दा ठ्याक्कै के पत्ता लगाउँछ भन्ने प्रस्ट नभएको हेल्म बताउँछिन्।
यसका लागि एकैपटक १६ वटा कुकुरलाई प्रशिक्षण दिएको थियो। तीमध्ये ४ वटा कुकुर एयरपोर्टमा खटिएका छन्। छवटा कुकुर प्रशिक्षणमै छन्। बाँकी कुकुरले हल्लाखल्ला भएको ठाउँमा काम गर्न सकेका छैनन्।