लगातारको झरीले निम्त्याएको बाढी पहिरोले प्रदेश १ मा हालसम्म २४ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता छन्।
बुधबार बिहान ११ बजेसम्म २४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ६ जना पुरूष, ९ महिला, ७ बालक र २ बालिका रहेको १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।
उनका अनुसार बाढी-पहिरोमा परेर इलाममा ९, पाँचथरमा ६, उदयपुरमा १, धनकुटामा ६, सुनसरीमा २ जनाको मृत्यु भएको हो।प्रदेशमा ८ जना बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ का २५ वर्षीय सुवध राई झरनामा नुहाउने क्रममा मंगलबार दिउँसो १ बजे बेपत्ता भएका थिए। खोजी गर्ने क्रममा बुधबार बिहान मृत अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
बाढीका कारण तराईको झापा, सुनसरी र मोरङ बढी प्रभावित भएका छन्।
मंगलबार राति सुनसरीको विभिन्न स्थानबाट १ सय ५० जनाको उद्दार गरिएको थियो। मोरङमा करिब पाँच सयभन्दा बढी उद्दार गरिएको छ। मोरङमा हजारौं घर डुबानमा परेका मोरङ प्रहरीले जनाएको छ।
विराटनगर १, २, ७, ८, ११, १२, १५, १७, १८ का सयौं घर डुबानमा परेको छ। बुढीगंगा गाउँपालिका १ र २, शान्ति चोक बस्ती डुबानमा परेको छ। रतुवामाई नगरपालिका ७ मा ३० घर डुबानमा परेको प्रहरीले जनाएको छ। रतुवाखोलाको बाँध फुटेर बस्तीमा खोला पसेको छ।