प्रहरीले सामाजिक सञ्जालको दुरूपयोग गरी युवतीको चरित्र हत्या गरेको आरोपमा प्रहरी जवानलाई पक्राउ गरेको छ।
रौतहट दुर्गा भवानीपुर गाउँपालिका-४ का २७ वर्षीय कृष्ण कुमार यादवलाई पक्राउ गरेको साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए। उनी प्रहरी चौकी बटेश्वर धनुषामा दरबन्दीमा प्रहरी जवानका रूपमा कार्यरत छन्।
यादवलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा बुधबार पक्राउ गरिएको हो।
प्रहरी वरिष्ठ उपरीक्षक अर्यालका अनुसार यादवले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई म्यासेज, च्याट र भिडिओ कल गर्ने गरेका थिए।
सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका अन्तरंग तस्वीरहरू सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएप लगायतमा पोष्ट गर्ने भनी धाकधम्की दिने गरेको उजुरीमा उल्लेख भएको प्रहरी वरिष्ठ उपरीक्षक अर्यालले बताए।
उनका अनुसार यादवले पीडितलाई मानसिक तनाव, दु:ख हैरानी, समाजमा बदनाम र बेइज्जत गरी चरित्र हत्या समेत हुने कार्य गरेको जनाइएको छ।
यादवलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।