प्रहरीले ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
चाँगुनारायण नगरपालिका-७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका-८ का ५८ वर्षीय ईश्वर गाइजुलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
प्रहरीले शुक्रबार उनीहरूलाई भक्तपुर नगपालिका-१० मालपोत गेटबाट पक्राउ गरेको हो।
उनका अनुसार उनीहरूले सरकारी कित्ता समेतको जग्गा बैना गरी रकम ठगी गरेको आरोप छ।
प्रहरी उपरीक्षक कोइरालाका अनुसार उनीहरूले पीडितलाई भक्तपुर सुडाल गाउँपालिका-४ मा अरूको नाममा रहेका विभिन्न कित्ताका जग्गाहरू देखाएका थिए। सो देखाइएको जग्गामा चार रोपनी सरसकारी जग्गा समेत रहेको प्रहरी उपरीक्षक कोइरालाले बताए।
सो जग्गा बिक्री/वितरणका लागि जग्गा धनीसँग अनुमति नलिकन अनुमति लिएका भनी झुक्याएर बैनाका लागि ५ करोड बीस लाख पीडितसँग ठगी गरेको आरोप छ।
प्रहरीले आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाएको जनाएको छ।