काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित टौदह पोखरीका माछाहरू मरेका छन्।
शनिबार बिहान एकैपटकमा पोखरीमा ३०-४० वटा माछा मरेको अवस्थामा फेला परेको श्री कर्कट नागराज नागरानी बासस्थान समाज टौदहका अध्यक्ष जयराम कार्कीले जानकारी दिए।
माछाहरू समयअनुसार नै मरेको हुनुपर्ने उनको भनाइ छ। आफू बिहान टौदहमा घुम्न जाँदा माछाहरू मरिरहेको देखेको उनले बताए।
‘माछाहरू समय पुगेर मरिरहेका छन्। हामी ल्याएर छाड्छौं मात्रै निकाल्दैनौं,’ उनले भने, ‘त्यसैले नै हो। पहिले त अलि अलि मर्थ्यो। तर आज चाहिँ अलि बढी मर्यो। आज ३०-४० वटै मरे।’
अक्सिजनको कमीका कारण पनि मरेको हुनसक्ने उनले बताए।
‘अहिले हामी ढल बनाउँदैछौं। माछाहरू मर्यो भनेर ढल बनाएका हौं,’ उनले भने, ‘अर्को माछा धेरै भएको हुँदा अक्सिजनको कमीको कारणले पनि मरेको हुनसक्छ। ठाउँ सानो भयो। आज बिहान मरेको भेटेपछि हामीले डिस्पोज गर्यौं।’
त्यस्तै, टौदह फोहोर नभएको पनि उनले दाबी गरे।
सरसफाइ गर्न कामदार राखेको हुँदा सफा नै रहेको उनले बताए।
वडा नम्बर ६ का वडाध्यक्ष खीरमान सिंह बस्नेत 'पृथ्वी'ले भने बाली नालीमा राखेको विषादीका कारण हो कि भन्ने आशंका गरेको बताए।
तस्बिरहरू:
तस्बिर स्रोत: अजय सिंह