राम्रा सामुदायिक स्कुल
काठमाडौंको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालय काठमाडौं महानगरपालिकाको 'एक वडा एक नमूना विद्यालय' अन्तर्गत वडा नम्बर १३ को नमूना स्कुल हो।
यो स्कुलमा हाल साढे चार हजार विद्यार्थी छन्। पाँचवटा आकर्षक भवन छन्। सबै कक्षाकोठामा विद्यार्थी खचाखच छन्। शैक्षिकसँगै व्यावहारिक सिकाइ र उच्च प्रविधिका प्रयोगशाला ज्ञानोदयको खास विशेषता हो।
प्रधानाध्यापक नातिकाजी महर्जनका अनुसार हरेक वर्ष कम्तीमा चार सय जना विद्यार्थी थपिन्छन्। २०५२ सालयताको एसएसलसी परीक्षा र हालको विद्यालय शिक्षा परीक्षा (एइसइई) मा उत्तीर्ण नतिजा शतप्रतिशत छ। कक्षा ११ र १२ को पनि नतिजा लोभलाग्दो छ।
शिक्षण सिकाइमा इन्टरनेटसहितको आधुनिक प्रविधि प्रयोग हुन्छ। यस्तो विद्यालय महानगरको नमूना त हुने नै भयो तर ज्ञानोदय भने देशका सामुदायिक स्कुलहरूकै नमूनाका रूपमा चिनिन्छ।
हरेक विद्यार्थी थपिनुको मुख्य कारण प्रविधिमैत्री शिक्षण, उच्च स्तरीय प्रयोगशाला र विद्यार्थीको राम्रो नतिजा नै हो भन्छन् प्रधानाध्यापक महर्जन। उनका अनुसार विद्यालयमा आइसिटी प्रयोगशाला, होटल म्यानेजमेन्ट प्रयोगशाला र विज्ञान प्रयोगशाला छन्। प्रयोगशालामा विषयअनुसार सिकाइ हुने हुँदा यसप्रति विद्यार्थीको चाहना बढेको छ।
'विद्यालयमा यी प्रयोगशाला बनेपछि विद्यार्थीको संख्या बढ्दै गयो,' प्रधानाध्यापक महर्जनले भने, 'प्रयोगशालाले विद्यार्थीको सिकाइमा ठूलो मद्दत गरेको छ।'
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/gyanodaya%20%287%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/gyanodaya%20%2813%29.jpg)
आइसिटी प्रयोगशालामा जुनसुकै कक्षाका विद्यार्थी पनि पढ्न पाउँछन्। यो प्रयोगशाला अडिओ-भिजुअल प्रस्तुतीकरणका लागि प्रयोग हुन्छ। इन्टरनेटको मद्दतले गुगलमा खोजेर निकालेका उपयोगी सामग्री र पावर प्वाइन्ट स्लाइड यसमा डिस्प्ले गरिन्छ। यसले विद्यार्थीको सिकाइ प्रभावकारी बनेको प्रधानाध्यापक महर्जनको भनाइ छ। आइसिटीसँग जोडेर प्रभावकारी शिक्षण गर्न स्मार्ट बोर्ड प्रयोग गरिन्छ।
विद्यालयले २०६५ सालमा कम्प्युटर शिक्षा सुरू गरेको हो। त्यति बेला कक्षा ४ देखि ८ सम्मका विद्यार्थीका लागि कम्प्युटर कक्षा अनिवार्य गरिएको थियो। कम्प्युटर कक्षाप्रति विद्यार्थी र अभिभावकको रूचि बढ्दै गयो। हाल कम्प्युटर कक्षा सञ्चालनका लागि प्रयोगशाला बनाइएको छ। शिक्षकहरूले अत्याधुनिक स्मार्ट बोर्ड र ट्याबलेट प्रयोग गर्छन्।
'विद्यालयले सिकाउनुपर्ने कुरामा कुनै कन्जुस्याइँ गरेका छैनौं। गुणस्तरीय र प्रभावकारी शिक्षण सिकाइ गरेका छौं,' महर्जन भन्छन्, 'विभिन्न जिल्लाका विद्यालयबाट शिक्षकहरू आएर अवलोकन गर्नुहुन्छ। व्यवस्थापनबारे छलफल गर्नुहुन्छ।'
ज्ञानोदय अन्य विद्यालयका लागि अवलोकन र सिकाइको माध्यम पनि बनेको छ। सामुदायिक विद्यालयहरूले शैक्षिक गुणस्तर, प्रविधि लगायतका कुरा सिक्ने अवसर पाएका छन्। ज्ञानोदयमा पूर्वप्राथमिकको नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुन्छ। कक्षा ११ र १२ मा विज्ञान, कानुन र व्यवस्थापन संकायमा पढाइ हुन्छ। कक्षा ९ देखि १२ सम्म प्राविधिक धारअन्तर्गत सिभिल इञ्जिनियरिङ विषय पनि पढाइ हुन्छ।
ज्ञानोदयमा विद्यार्थीहरू १०४ वटा कक्षाकोठामा पढ्छन्। एउटा कक्षामा ६० जनासम्म विद्यार्थी अटाएका छन्। विद्यार्थीको संख्या धेरै भएकाले हरेक कक्षामा समूह विभाजन गरिएको छ। कम्तीमा ३ देखि बढीमा ९ वटासम्म समूह अर्थात वर्ग (सेक्सन) मा विभाजन गरिएको छ। सबैभन्दा धेरै विद्यार्थी कक्षा नौ र दशमा छन्।
'यी दुई वटा कक्षामा चार–चार सय विद्यार्थी छन्,' उनले भने, 'विद्यार्थी संख्या बढी भएकाले यी दुवै कक्षालाई नौ–नौ वटा समूहमा विभाजन गरेका छौं।'
प्रधानाध्यापक महर्जनका अनुसार ज्ञानोदयले २०५२ सालको एसएलसी परीक्षामा शतप्रतिशत उत्तीर्णको नतिजा ल्यायो। यस्तो नतिजा आजसम्म कायम छ।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/gyanodaya%20%2812%29.jpg)
यो सफलताको बिउ रोप्ने काम २०३८ सालमै भएको थियो। तत्कालीन प्रधानाध्यापक रेवरत्न बज्राचार्यले त्यस वर्ष पूर्वप्राथमिक कक्षा सुरू गरेका थिए। पूर्वप्राथमिक तह नभई विद्यार्थीको जग बलियो हुँदैन भन्ने उनको धारणा थियो। यो पूर्वप्राथमिक कक्षा नै विद्यालयमा प्रगतिको पहिलो कोसेढुंगा साबित भयो। पहिलो पटक पूर्वप्राथमिक कक्षामा भर्ना भएका विद्यार्थीले २०५२ सालमा एसएलसी परीक्षा दिए। तिनै विद्यार्थी शतप्रतिशत उत्तीर्ण भए।
प्रधानाध्यापक महर्जनका अनुसार त्यसअघि वार्षिक औसत ३६ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए।
'एसएलसीमा शत प्रतिशत विद्यार्थी पास भएपछि ज्ञानोदयलाई हेर्ने अभिभावकको नजर फेरियो,' उनले भने, 'त्यसयता विद्यार्थीको संख्या बढिरहेको छ। राम्रो निजी स्कुललाई पनि चुनौती दिने ज्ञानोदय बनाउने काम बज्राचार्य सरबाटै सुरू भएको हो।'
प्रधानाध्यापक महर्जन २०४६ सालमा शिक्षकका रूपमा विद्यालय प्रवेश गरेका थिए। उनी कक्षा ६ र ७ मा गणित र विज्ञान विषय पढाउँथे, २०४८ सालमा माध्यमिक शिक्षक भए। त्यस बेला विद्यालयमा करिब ९ सय विद्यार्थी थिए। कक्षाकोठाको क्षमताअनुसार त्यति विद्यार्थी पनि धान्न मुश्किल थियो। सामुदायिकबाट निजी स्कुलमा जाने प्रवृत्ति बढिरहँदा ज्ञानोदयले २०६८ सालमा अंग्रेजी माध्यममा पढाउन सुरू गर्यो। यसको परिणाम निकै सकारात्मक देखियो। आसपासका निजी विद्यालयका विद्यार्थी ज्ञानोदयमा आउन थाले।
'बिस्तारै ज्ञानोदयमा अंग्रेजी माध्यमको प्रभावकारिता देखियो। नतिजा पनि राम्रो हुँदै गयो,' प्रधानाध्यापक महर्जनले भने, 'विद्यालयका लागि विद्यार्थीको नतिजा महत्त्वपूर्ण कुरा रहेछ।'
ज्ञानोदयमा पढ्न चाहने विद्यार्थीले शैक्षिक वर्ष सुरू हुनुअघि प्रवेश परीक्षा दिनुपर्छ। उत्तीर्ण हुनेले मात्रै भर्ना पाउँछ। शिक्षक-अभिभावक संघका अध्यक्ष सागरराज कुँवरका अनुसार विद्यालयको भौतिक, शैक्षिक, सामाजिक लगायत सबै पक्षको अनुगमन हुन्छ। हरेक कक्षाका लागि इन्चार्ज तोकिएका छन्।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/gyanodaya%20%2811%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/gyanodaya%20%285%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/gyanodaya%20%289%29.jpg)
'कुनै समस्या भए हामी विद्यालय व्यवस्थापन समितिलाई सुझाव दिन्छौं,' कुँवरले सेतोपाटीसँग भने, 'पढ्ने वातावरण बनाउन हामी सबै लागिपरेका छौं।'
कुँवरका छोराछोरी ज्ञानोदयमै पढ्छन्।
'ज्ञानोदय काठमाडौंको एउटा यस्तो सामुदायिक विद्यालय हो जहाँ पढ्न शैक्षिक सत्र सुरू हुनु केही महिनाअघि नै भर्ना सुरू हुन्छ,' उनी भन्छन्, 'यहाँ पढ्न नपाएर जानेहरू पनि धेरै हुन्छन्।'
ज्ञानोदयमा नुवाकोट, गोरखा, धादिङ, दोलखा र सिन्धुपाल्चोकका विद्यार्थी धेरै छन्। रूकुम, हुम्ला, जुम्लाका पनि छन्। प्रधानाध्यापक महर्जनका अनुसार विद्यार्थीहरू काठमाडौं उपत्यकाका धेरै ठाउँबाट सार्वजनिक सवारीसाधन चढेर पुग्छन्।
घरबाट विद्यालय आइपुग्न कम्तीमा एक घन्टा लाग्ने विद्यार्थीहरू निकै जना भेटिए। उनी नौ कक्षामा पढ्छन्। कक्षा बिहान साढे ६ बजे सुरू हुन्छ। घरबाट साढे पाँच नबज्दै निस्कन्छन्।
बालाजुबाट आउने एक विद्यार्थीले भने, 'मलाई झन्डै एक घन्टा लाग्छ। घर नजिकै स्कुल भए पनि ज्ञानोदय राम्रो लागेर आएको हुँ।'
निजी स्कुल छाडेर कक्षा नौमा भर्ना भएका विद्यार्थी पनि भेटिए। सामुदायिक विद्यालयबाट पढेका विद्यार्थीले राज्यबाट निजीमा पढेकाले भन्दा बढी सुविधा पाउँछन्। कलंकी घर भएकी एक छात्राले ज्ञानोदय स्कुलको पढाइ र विद्यार्थीको नतिजा निकै राम्रो निजी विद्यालयको भन्दा कम नरहेको बताइन्।
विद्यालयमा नियमित रूपमा शिक्षक–अभिभावक छलफल हुन्छ। यसको चाँजोपाँजो 'शिक्षक अभिभावक' संघले मिलाउँछ। शिक्षा ऐनमा विद्यालयमा शिक्षक अभिभावक संघ रहने प्रावधान छ।
सरोकारवाला टिमहरूको समग्र प्रयासले ज्ञानोदय माध्यमिक विद्यालय राष्ट्रिय स्तरमा चिनिएको प्रधानाध्यापक महर्जन बताउँछन्। उनले विद्यालयमा यस वर्ष हालसम्मै धेरै विद्यार्थी रहेको बताए।
'एउटा सामुदायिक विद्यालयमा ४५ सय विद्यार्थी सानो संख्या होइन,' उनी भन्छन्, 'विद्यार्थी संख्या मात्र बढाएका छैनौं, शिक्षाको गुणस्तर पनि कायम राखेका छौं।'
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/gyanodaya%20%283%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/gyanodaya%20%282%29.jpg)
ज्ञानोदयमा हाल १०५ जना शिक्षक छन्। यीमध्ये ७० जना सरकारी दरबन्दीमा छन्, बाँकी आन्तरिक स्रोतमा। विद्यालयमा औपचारिक शिक्षणसँगै विद्यार्थीको क्षमता वृद्धि र प्रतिभा प्रस्फुटनका लागि अतिरिक्त क्रियाकलाप हुन्छ। विद्यार्थीको रूचिअनुसारका केही फरक सिप पनि सिकाउने गरेको प्रधानाध्यापक महर्जनले बताए। उनका अनुसार हाल कक्षा ७ का ६० जना विद्यार्थी मादल बजाउन सिक्दैछन्। यसपछि उनीहरूलाई पियानो सिकाउने योजना छ। विद्यालयमा स्काउट गतिविधि पनि हुन्छ।
हाल ज्ञानोदयका १५ वटा कक्षाकोठामा प्रोजेक्टर राखिएको छ। कक्षाकोठा धेरै भएकाले सबैमा राख्न नसकिएको प्रधानाध्यापक महर्जनको भनाइ छ।
'८० वटा सेक्सन छन्। सबैमा प्रोजेक्टर राख्न सम्भव छैन। आवश्यकताअनुसार कक्षामा लैजान मिल्ने गरी राखिएको हो,' उनले भने।
ज्ञानोदयले २०७३ सालमा ब्रिटिस काउन्सिलले दिने 'अन्तर्राष्ट्रिय स्कुल पुरस्कार' पनि पाएको थियो। ब्रिटिस काउन्सिलले एक वर्षमा आठ वटा अतिरिक्त क्रियाकलाप दिएको थियो। ती सबैमा उत्कृष्ट ठहरिएर विद्यालय पुरस्कृत भएको उनले जानकारी दिए।
काठमाडौं महानगरले नमूना विद्यालयलाई अतिरिक्त आर्थिक सहयोग पनि गर्छ। बाहिरी सजावट, हरियाली, भित्ते लेखन जस्ता कामका लागि महानगरले आर्थिक सहयोग गरेको प्रधानाध्यापक महर्जनले बताए।
विद्यार्थी संख्या बढ्दो छ तर विद्यालयमा खेलकुद मैदान छैन। मैदान नहुँदा खेल गतिविधि कम भएको महर्जनको भनाइ छ। पिउने पानी र शौचालयको सुविधा राम्रो छ। खाना र खाजाका लागि सफा क्यान्टिन छ।
अनि पढाइको गुणस्तर उत्तिकै राम्रो।
त्यसैले त ज्ञानोदय देशकै नमूना सामुदायिक विद्यालय भएको छ।
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/gyanodaya%20%284%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/gyanodaya%20%281%29.jpg)
यी पनि पढ्नुहोस्ः
नौ सय छात्रा पढ्ने काठमाडौंको नमूना सामुदायिक स्कुल
अन्तर्राष्ट्रिय पुरस्कार पाएको काठमाडौंको सामुदायिक स्कुल
उत्कृष्ट ठहरिएको काठमाडौं सामुदायिक स्कुल, पढाइन्छ प्राविधिक शिक्षा
काठमाडौंको सामुदायिक स्कुल जहाँ निजी छाडेर आउँछन् विद्यार्थी
बोर्डिङ भनेर झुक्किने काठमाडौंको यो सामुदायिक स्कुल
दरबार हाइस्कुलमा एक वर्षमै बढे तीन गुणा विद्यार्थी, शिक्षक भने अभाव
काठमाडौंको एउटा 'नमूना' सामुदायिक स्कुल जहाँ छन् ६५ जिल्लाका विद्यार्थी
साँच्चैको नमूना बन्ने प्रयासमा छ काठमाडौंको यो सामुदायिक स्कुल
६९ वर्ष पुरानो काठमाडौंको नमूना स्कुल जहाँ पढ्छन् २४ सय विद्यार्थी