वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै कैयौंलाई ठगेको आरोपमा पक्राउ परेका सुजन तामाङलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।
३२ वर्षीय विकास वाइवा भनिने सुजन ललितपुर कञ्ज्योसोम गाउँपालिका-४ घर भई इमाडोल बस्छन्। ६ सय १८ जना पीडित सुजनबाट ठगिएको भन्दै प्रहरी कार्यालय र वैदेशिक रोजगार विभाग धाइरहेका छन्।
पीडितको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरी बुधबार पुल्चोकबाट सुजनलाई पक्राउ गरेको हो।
उनले माल्टा, पोल्याण्ड, सिंगापुर, क्यानडा र क्रोएसिया लगायतका देशमा पठाइदिने भन्दै सर्वसाधारणबाट रकम लिने गरेको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।
पीडितहरूबाट सुजनले प्रतिव्यक्ति ५० हजारदेखि १८ लाख रुपैयाँसम्म लिने गरेको अनुसन्धानबाट खुलेको छ। उनी काठमाडौं महानगरपालिका-१६ बालाजुमा रहेको यूरो वीङ्स एजुकेसन कन्सल्टेन्सीका सञ्चालक हुन्।
उनले सामाजिक सञ्जालमा विज्ञापन गरी सर्वसाधारणलाई लोभ्याएर ठग्ने गरेको एसपी रेग्मीले बताए।
उनले विभिन्न युरोपियन मुलुकहरूमा पठाउनका लागि निश्चित रकम तोकेको तथ्य खुलेको छ। क्यानडा १८ लाख, माल्टा ८ लाख, पोल्याण्ड ७ लाख, क्रोएसिया ६ लाख ५० हजार रुपैयाँ लिने गरेको पीडितहरूले बताएका छन्। उनीबाट पीडित भएकाहरू अझै पनि थपिन सक्ने प्रहरीले जनाएको छ।
'एक हजारभन्दा माथि निवेदन आउने अनुमान छ,' एसपी रेग्मीले भने, 'उनीविरूद्ध ७० जनाको निवेदन दर्ता भएको छ। ६१८ जना पीडितले नाम टिपाएका छन्। अहिलेसम्म ३ करोड २५ लाख २२ हजार बिगो देखिएको छ।’
यतिमात्रै नभएर उनले युरोप पठाउने भनेर सरकारी कर्मचारीलाई जागिर छाड्न लगाएर ठगेको एसपी रेग्मी बताउँछन्। नक्कली भिसा देखाएर जागिर नै छाड्न लगाएको उनले बताए।
यसरी ठगेको रकमबाट उनले आफ्नो ऋण चुक्ता गरेका छन्। चार करोडको ऋण समेत तिरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। त्यतिमात्रै नभई उनले राप्ती म्यानपावर बसुन्धरामा ५० लाख बराबरको सेयर र ३५ लाखमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।
त्यस्तै, उनले आफ्ना भाइ सुवासको खातामा साढे १५ लाख रुपैयाँ राखेको, जलविद्युत सहकारीबाट लिएको १५ लाख ऋण तिरेको र ५ लाखमा सुनको ब्रासलेट बनाएर लगाएको पाइएको छ।
-ink-1706789695.jpeg)
ठगी आरोपमा पक्राउ परेका सुजनले प्रहरीबाट बच्नकै लागि नाम समेत फेरेको पाइएको हो। उनीबाट प्रहरीले दुई वटै नामबाट नागरिकता लिएको फेला पारेको छ।
‘उनले फर्जी कागजात बनाएर नागरिकता लिएका हुन् कि अर्कै व्यक्तिको नागरिकता दुरूपयोग गरेका हुन् भन्नेबारे हामीले खोजिरहेका छौं,’ प्रवक्ता रेग्मीले भने।
सुजनविरूद्ध २०७८ साउन २९ गते वैदेशिक रोजगारी विभागमा पनि निवेदन परेको थियो। त्यतिबेला उनले आफूलाई सुजन तामाङ भनेर चिनाउँथे। अहिले भने उनले विकास वाइवा भनेर चिनाउन थालेका हुन्। उनको ललितपुर महानगरपालिका कुमारीपाटीमा स्क्वायर करियर कन्सल्टेन्सी थियो। त्यतिबेला पनि ३०/३५ जनाले उनीविरूद्ध पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउनका लागि विभागमा निवेदन दिएका थिए। तर वैदेशिक रोजगारले उनलाई सोधपुछ गरेर मात्र छोडिदिएको पीडित राजकुमार थापा बताउँछन्।
काभ्रे पनौती नगरपालिका-२ का थापाले २०७८ मा सिंगापुर जानका लागि डेढ लाख रूपैयाँ र पासपोट बुझाएका थिए। पाँच/सात महिनासम्म पनि प्रक्रिया अगाडि नबढेपछि सामूहिक रूपमा विभागमा निवेदन दिएको उनी बताउँछन्।
‘त्यतिबेलै राम्रोसँग अनुसन्धान गरेको भए अहिले थप व्यक्तिलाई ठग्न पाउँदैन थिए,’ थापाले भने, ‘विभागले सोधपुछ गरेर छोडिदियो।’
उनले २०७८ मा बुझाएको पैसा र पासपोर्ट अहिलेसम्म फिर्ता पाएका छैनन्। त्यतिबेला सयौं जनालाई ठगेको उनी बताउँछन्। त्यसअघि उनीविरूद्ध २०७७ सालमा ठगी तथा आपराधिक कसुरमा मुद्दा चल्यो। तर उनी फरार नै रहे।
२०७३ सालमा म्यानपावर एजेन्टको रूपमा काम सुरू गरेका उनले थुप्रै व्यक्तिहरूलाई ठगेको भन्दै उजुरी दिन आउन प्रहरीले अनुरोध समेत गरेको छ। बिहीबार उनलाई सार्वजनिक गर्दा करिब ५० जना पीडितहरू कार्यालयमा उपस्थित थिए। यही ठगीमा संलग्न देखिएका अर्जुन भन्ने कर्म तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ।
-ink-1706789696.jpeg)