सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमेशकुमार सिंहले जनतामा सरकारप्रतिको विश्वास र प्रभाव घट्दै गइरहेको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद सिंहले हत्या, हिंसा, बलात्कारजस्ता घटनाहरू बढेको र विभिन्न आन्दोलनहरू पनि बढिरहनुले जनतामा सरकारप्रतिको विश्वास घट्दै गएको देखिने बताएका हुन्।
'पछिल्लो समय बारा र सप्तरीको घटना मात्रै होइन। सरकार बनेदेखि चाहे कप्तानगन्जको घटना होस् या विभिन्न किसिमका आन्दोलन; मिटरब्याज, चाहे लघुवित्त पीडितको होस्, चाहे डाक्टरको होस् दिनका दिन भइरहेका छन्,' उनले भने, 'यसले के देखाउँछ भने हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ।'
अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार र विभिन्न किसिमका आन्दोलनले भइरहनुले दुःख र आक्रोशित छन् भन्ने बुझिने उनले बताए।
'जब समाजमा बेथिति हुन्छ, विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ। यसमा छलफलको आवश्यकता छ,' उनले भने।