सोमबार बिहान करिब १ बजेर ३० मिनेट जाँदा पृथ्वी राजमार्गको बेनीघाट भैंसीगौंडामा १९ जनाको ज्यान जाने गरी भएको भयंकर बस दुर्घटनाको खबरले धेरै नेपालीलाई झस्काइदिएको छ।
हप्तैपिच्छे आइरहने घातक दुर्घटनाका कारण नेपालमा सडक यात्रा थाल्नुअघि पटक पटक सोच्न बाध्य बनाइदिएको छ। देशको सडक सुरक्षाको अत्यन्त दयनीय अवस्थालाई लिएर विभिन्न प्रश्न गर्न बाध्य तुल्याइदिएको छ।
जस्तो— बेनीघाट क्षेत्रमा ४४ यात्रु बसेको पोखरा–काठमाडौं रात्रिबस अचानक किन राजमार्गबाट करिब ३०० मिटर तल खस्ने अवस्था आयो? के सडक सुरक्षति थियो? के बसमा यान्त्रिक समस्या थियो? के दुर्घटनामा ज्यान गुमाएका चालक २६ वर्षीय सुजित नेपाली थकित, तनावग्रस्त वा अन्य कुरामा भुलिएका थिए?
के उनले मादक वा लागुपदार्थ सेवन गरेका थिए? थिए भने के रातिको समस्या नेपालका व्यस्त राजमार्गमा मापसे तथा लापसे परीक्षण गरिन्छ?
खबर आएलगत्तै गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकमा उद्घार उपचार राहत र क्षतिपूर्तिका अतिरिक्त दुर्घटना छानबिन समिति गठन गर्ने निर्णय गरिएको छ। त्यसले अनुसन्धान सकेर आफ्नो प्रतिवेदन तयार पार्न हप्तौं लाग्न सक्छ। तर प्रश्नहरू आलै छन्।
पहिलो, पोखराबाट आइरहेको रात्रिबस अचानक कसरी राजमार्गबाट ३०० मिटर तल खस्ने अवस्था आयो?
दुर्घटनालगत्तै घटनास्थल पुगेका धादिङ जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी सुमित खड्काको भनाइमा त्यहाँ सडक थोरै उकालो भए पनि सिधा छ।
'सडक ठिक देखिए पनि कारण विविध हुन सक्छन्। बस अचानक खसेको देखिन्छ। खस्नुअघि बस बचाउन चालकले कुनै संघर्ष गरेको निशान देखिँदैन। कुनै कारणले ध्यानभंग भएको हुन सक्छ। तर दुर्घटनाको कारण यकिन गर्न कठिन छ। यकिन कारण विस्तृत छानबिनपछि खुल्ला,' उनले भने।
तर सडक विस्तारको काम चलिरहेकाले पृथ्वी राजमार्गमा ठाउँ ठाउँमा अवरोधहरू छन्। साथै ठाउँ ठाउँमा मोटरले ठक्कर दिएर वा पहिरोका कारण भत्किएका गार्ड रेल तथा क्र्यास ब्यारियरहरू मर्मत नहुँदा जोखिमहरू प्रशस्तै छन्।
दोस्रो, सडकको अवस्था र बसको यान्त्रिक अवस्था कति जिम्मेवार?
पृथ्वी राजमार्गको झन्डै ८० किलोमिटर खण्ड धादिङमा पर्छ जुन अहिले विस्तारको क्रममा छ। अधिकारीहरुका अनुसार दुर्घटनास्थल पुग्नुभन्दा केहीअघि बसले एउटा पहिरोग्रस्त क्षेत्र पार गरेको देखिन्छ तर त्यस क्षेत्रमा विस्तारका कारण अवरोध भएको देखिँदैन।
नेपालमा गुड्ने सबै मालवाहक तथा यात्रुवाहक ट्रक तथा बसहरूको अनिवार्य यान्त्रिक परीक्षण गर्न सरकारले केही वर्ष अघिदेखि सात प्रदेशका विभिन्न स्थानमा 'भेहिकल फिटनेस टेस्ट' गर्ने तयारी थालेको थियो। तर त्यो निकम्मा हुन पुगेको छ।
यातायात व्यवसायीहरूको भनाइमा ती परीक्षण स्थान सुगम र सहज स्थानमा नभएकाले ती उपयोगी हुन सकेनन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौला भन्छन्, 'काठमाडौंमा त्यस्तो सुविधा लिन टेकुभित्र जानुपर्छ, जहाँ पुग्न ट्रक तथा बसहरुलाई निकै कठिन हुने गरेको छ। त्यस्तो ठाउँमा को जान्छ भन्नुस् त?'
त्यसैले यान्त्रिक परीक्षणको नियम अहिलेसम्म कागजमै सीमित देखिएको छ।
के सोमबार एकाबिहानै बेनीघाटबाट त्रिशुली किनारमा गुल्टिएको बसको यान्त्रिक परीक्षण कहिले भएको थियो?
त्यो प्रस्ट छैन।
तेस्रो, के चालक थकित वा तनावग्रस्त थिए?
एसपी खड्काका अनुसार त्यसको जबाफ सहज छैन।
'उनले दिउँसो मोटर चलाएर फेरि राति पनि चलाउने क्रममा थाकेका हुन सक्छन्। वा अन्य कारणले ध्यानभंग भएको हुन सक्छ तर हामीलाई थाहा छैन,' उनले भने।
लामो दुरीको यात्रामा दुई चालक हुनुपर्ने नियम भए पनि त्यसको पालना नभएको गुनासो नौलो होइन। चालक सुजित नेपालीले आइतबार दिउँसो पर्याप्त निद्रा पाएका थिए, थिएनन् त्यो प्रस्ट छैन।
तर यातायात व्यवसायी सरोज सिटौलाको दाबी छ — हो हामीकहाँ चालक अभाव छ, धेरै जना विदेशिएका छन्, लाइसेन्स बिनै चलाउन बाध्य छौं। तर हाम्रो नियम प्रस्ट छ चालकहरुले पर्याप्त निद्रा र आराम पाएको हुनुपर्छ।
सडक सुरक्षाको क्षेत्रमा कार्यरत नेपाल अटोमोबाइल एसोसिएसनका गोविन्द भट्टराईको बुझाइमा लामो दुरीका बसमा तीनवटा चालकसम्म रहनुपर्ने नियम भए पनि त्यसको पालना हुन सकेको छैन।
चौथो, के चालकले मादक वा लागुपदार्थ सेवन गरे वा नगरेको थाहा पाउन, रातिको समयमा नेपालका व्यस्त राजमार्गमा मापसे तथा लापसे परीक्षण गरिन्छ?
फाइल तस्बिर
धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार राजमार्गको धादिङ खण्डमा चालकले मापसे वा लापसे गरे नगरेको जाँच्न ट्राफिक प्रहरी २४ घन्टा सक्रिय हुने गरेका छन्।
'त्यसैले ती चालकले मापसे वा लापसे गरेको भएको उम्किने सम्भावना कम हुन्छ। साथै सवारी साधन तीव्र गति रोक्न समेत हामीले विभिन्न पहल थालिसकेका छौं,' उनले भने।
एसपी खड्काका अनुसार धादिङको करिब ८० किलोमिटर खण्डमा मोटर कुदाउने चालकले मापसे वा लापसे गरे नगरेको परीक्षण गर्न तीन 'शिफ्ट' मा ट्राफिक प्रहरीहरू खटिने गरेका छन्। उनीहरु विभिन्न आठ ठाउँमा खटाइने गरेको उनले बताए।
तर आइतबार मध्यरात वा सोमबार बिहान १ बजेतिर पनि त्यस्तो जाँच भइरहेको थियो त?
त्यसको सुवेदी र खड्का दुवैले यकिन रूपमा पुष्टि गर्न सकेनन्।
घाइतेको बयान
सोमबार दिउँसो काठमाडौंमा दुर्घटना छानबिन समिति गठन भएको खबर लगत्तै सामाजिक सञ्जालमा बेनीघाट दुर्घटनामा बाच्न सफल घाइतेका बयान छ्याप्छ्याप्ती हुन थाले। तीमध्ये एक महिलाको बयान यतिखेर भाइरल भइरहेको छ। उनको भनाइमा चालकले गम्भीर लापरबाही गरेका थिए।
दुर्घटनामा आफ्ना श्रीमानको ज्यान गुमाएकी तर आफू बाच्न सफल याङ्जी शेर्पाले अस्पतालको शैय्याबाट दिएको बयान नयाँ पत्रिका दैनिकका पत्रकार शिवहरि घिमिरेले फेसबुक रीलमार्फत साझा गरेका छन्।
त्यसमा याङ्जी शेर्पाले बताए अनुसार ग्याल्बो ल्होसारको छुट्टीमा पोखर घुमेर फर्किँदै गरेका उनी र उनका श्रीमान लोप्साङ लामा चालक पछाडिको सिटमा थिए।
'चालकले बसको क्याबिनको सिटमा महिला यात्रुलाई राखेर गफमा भुलिएका थिए…बसको गति धेरै तीव्र थियो,' उनले भने।
सकुशल उद्धार भएपछि उनी अस्पतालमा स्वास्थ्य लाभ गरिरहेकी छन्। तर आफ्ना घाइते श्रीमानले आफ्नै काखमा प्राण त्यागेको सम्झिँदै उनी भक्कानिइरहेकी छन्।
नेपालमा लगातार दोहोरिरहने सडक दुर्घटनामा आफन्त गुमाएर र गम्भीर घाइते भएर जिन्दगीभर भुल्न नसक्ने गहिरो चोट र आघात सहनबाध्य याङ्जी शेर्पा मात्र छैनन्। यहाँका सडकमा दैनिक औसत ७ जनाको जनाको ज्यान लान्छ; कैयौं घाइते वा अपांग हुन्छन्।
विगत एक महिनामा मात्र देशमा तीन वटा ठूला बस दुर्घटनामा ४६ जनाको मृत्यु भइसकेको छ भने थुप्रै घाइते अझै उपचाररत छन्। बर्सेनि २,५०० को हाराहारीमा सडकमा मारिन्छन्; हजारौं घाइते हुन पुग्छन्। जसका कारण देश र समाजले ठूलो आर्थिक तथा सामाजिक क्षति बेहोर्नु परिरहेको छ।
ठूला दुर्घटनापछि छानिबन समिति गठन भइ प्रतिवेदन समेत तयार हुन थालेका छन्। तर तिनको सुझाव र सिफारिस कार्यान्वयन भएको सुनिएको छैन।
यातायात व्यवसायी सरोज सिटौलाको गुनासो छ — २०८१ साल असारमा दुई सवारी साधन बेपत्ता हुने गरी भएको सिमलताल दुर्घटनाको छानिबन प्रतिवेदनका सुझाव खोइ कार्यान्वयन भएको? अधिकार सम्पन्न सडक सुरक्षा परिषद र प्राधिकरण खोइ गठन भएका? यातायात क्षेत्र सरकारको प्राथमिकतामा कहिल्यै परेन।
नेपाल अटोमोबाइल एसोसिएसनका गोविन्द भट्टराईका विचारमा पाँच मुद्दामा ध्यान नदिएसम्म नेपालमा सडक सुरक्षाको अवस्थामा कुनै सुधार आउँदैन।
ती हुन् — सडक सुरक्षा व्यवस्थापन, सुरक्षित सडक र आवतजावत, सुरक्षित सवारी साधन, सचेत सडक प्रयोगकर्ता र दुर्घटनापछिको प्राथमिक उपचारको सुनिश्चितता।
'नेपालमा सडक सुरक्षा परिषद् भएको भए अहिले छानबिन समिति गठन गर्नै पर्ने थिएन। परिषद र प्राधिकरण गठन भएको भए सडक सुरक्षा कार्ययोजना अनुसार काम गर्न सहयोग हुन्थ्यो। तर त्यस्तो अझै हुन सकेको छैन।'
यी पनि पढ्नुहोस्
दुलहा–दुलहीले जिन्दगीभर बिर्सिन नसक्ने आफ्नो बिहेको दिन!
बसको घातक ठक्कर लगत्तै गुम्यो आयुषाको ज्यान, दुर्घटनाबाट पाठ सिक्नुपर्दैन?
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal