जापानी प्रधानमन्त्री सनई ताकाइचीले निवासमा रहने आफ्नो बानीको बचाउ गर्दै यसले कर्मचारीहरूलाई भार नपारी लामो समयसम्म काम गर्न मद्दत पुर्याउने बताएकी छन्।
गत वर्षको अन्त्यतिर सरकार प्रमुख बनेदेखि ताकाइची चौबिसै घण्टा काम गर्ने शैली र निवासमै एक्लै कागजातहरू अध्ययन गर्न रूचाउने स्वभावका लागि चिनिएकी छन्।
प्रधानमन्त्री बनेदेखि ताकाइची अधिकांश शनिबार, आइतबार र सार्वजनिक बिदाका दिनहरूमा घरबाट बाहिर निस्किएकी छैनन् भनेर निक्केइ पत्रिकाले शुक्रबार समाचार प्रकाशित गरेको थियो।
तुलनात्मक रूपमा, अघिल्ला तीन प्रधानमन्त्रीहरूले बिदाका दिनहरूमध्ये तीनदेखि १६ प्रतिशत समय मात्रै पूर्ण रूपमा घरमै बिताएका थिए भनी उक्त पत्रिकाले हिसाब निकालेको थियो।
त्यसपछि सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै ताकाइचीले आफ्नो बानीको बचाउ गरेकी हुन्।
‘सरकारी निवासमा गरिने काम, जस्तै त्यहाँ हुने बैठकहरू, प्रधानमन्त्रीको दैनिक तालिकाको रूपमा सार्वजनिक गरिँदैन, तर मेरो नजरमा यो पनि एउटा कार्यस्थल नै हो,’ ताकाइचीले लेखिन्।
प्रधानमन्त्रीको कार्यालय नगई निवासमै काम गर्दा कर्मचारीहरूलाई भार नपर्ने पनि उनले औंल्याएकी छन्।
ताकाइचीलाई एकदमै धेरै काम गर्ने व्यक्तिका रूपमा चिनिन्छ। उनी दैनिक दुईदेखि चार घन्टा निदाए आफूलाई पुग्ने दाबी गर्छिन्। उनी सामाजिक भेलाहरूमा खासै सहभागी हुन्नन् र 'काम र जीवनको सन्तुलन' (वर्क लाइफ ब्यालेन्स) हुनुपर्छ भन्ने अवधारणा खुलेरै अस्वीकार गर्छिन्।
प्रधानमन्त्री बनेलगत्तै गत नोभेम्बरमा बिहान ३ बजे बैठक राखेपछि उनको व्यापक विरोध भएको थियो।
संसदमा उपस्थित हुनुअघि सहयोगीहरूसँग बैठक गर्न उनी निवासबाट बिहान ३ बजे निस्किएपछि आफू मातहतका कर्मचारीलाई धेरै दुःख दिएको भनेर उनको आलोचना भएको थियो।
त्यसै कारणले आफू मातहतका कर्मचारीहरूलाई भार नपर्ने गरी उनले निवासबाटै काम गरेकी हुन सक्छिन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)