बलात्कार पछि हत्या आरोपमा पक्राउ परेका व्यक्तिको भिडिओ खिच्ने प्रहरी हवल्दारले जापानमा भएका साथीलाई पठाएपछि सार्वजनिक भएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी हवल्दार कुमार विक अहिले प्रहरीको हिरासतमा छन्।
उनले बलात्कार तथा हत्याका आरोपीलाई अस्पताल लैजाँदा घटनाबारे बताइरहेको भिडिओ खिचेको खुलेको हो।
कार्यालयका प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार हवल्दार विकले खिचेर आफैं सामाजिक सञ्जालमा हालेका थिएनन्।
‘उनले भिडिओ खिचेर जापानमा भएको व्यक्तिलाई पठायो। त्यहाँबाट सामाजिक सञ्जालमा बाहिरिएको देखिन्छ। पछि अरूले पनि हाल्न थाले,’ एसपी कुँवरले भने।
त्यो भिडिओ खिचिएको स्थान पनि प्रहरी कार्यालय नभएको एसपी कुँवरले बताए।
स्वास्थ्य जाँचका लागि प्रादेशिक अस्पताल कलैयामा लैजाँदा खिचिएको उनले बताए।
‘हामीले त्यहाँ देखिएका अन्य प्रहरीमाथि पनि अनुसन्धान गरिरहेका छौं,’ उनले भने।
बालबालिका सम्बन्धी कसुर, गोपनीयता सम्बन्धी कसुर, विद्युतीय कारोबार ऐन लगायत कसुरमा अनुसन्धान अघि बढाउने तयारी प्रहरीको छ।