राप्ती राजमार्ग अन्तर्गत तुलसीपुरको गुम्ह्राचोक र मदन आश्रित चोकको बीचमा भएका दुई ठूला सवारी दुर्घटनापछि सडक सुरक्षा बढाउन डिभाइडर (पिभिसी कोण) राखिएको छ।
गत साउन २१ गते २१ वर्षीया कल्पना केसी डाँगी र साउन २९ गते ३३ वर्षीय कमलेश चौधरीको सोही सडक खण्डमा भएका दुर्घटनामा परी निधन भएको थियो।
सडकमा लेन नछुट्ट्याइएको र आवश्यक ट्राफिक संकेत नहुँदा दुर्घटना बढेको विषय सार्वजनिक भएपछि स्थानीय निकाय, प्रहरी र सामाजिक संघ-संस्थाको सक्रियतामा आज बिहान २२ जोडी रोड डिभाइडर राखिएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार डिभाइडर खरिदका लागि राप्ती बबई क्याम्पसबाट ६८ हजार ५०० रुपैयाँ र तुलसीपुर उद्योग वाणिज्य संघबाट ८३ हजार ४०० रुपैयाँ सहयोग प्राप्त भएको थियो।
उक्त रकमबाट काठमाडौंबाट प्रतिसेट ६ हजार ९५० रुपैयाँका दरले डिभाइडर खरिद गरिएको हो।
त्यसैगरी 'राप्ती परोपकार संघ तुलसीपुर' का अध्यक्ष सुरेश हमालको पहलमा प्राप्त थप ५० हजार रुपैयाँ सहायताबाट थप १० जोडी डिभाइडर ल्याइएको छ, जुन मंगलबार स्थापना गरिँदैछ। हालसम्म १ लाख ५२ हजार रुपैयाँको लागतमा जम्मा ३२ जोडी डिभाइडर व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसी र स्थानीय अगुवा नवराज लामिछानेले सडक दुर्घटना कम गर्न सामुदायिक अपनत्व र सामाजिक दायित्व अन्तर्गत यो पहल गरिएको बताए।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख वरिष्ठ सइ वीरभान रावल र डिएसपी पराजुलीले सडक सुरक्षाका लागि राखिएका डिभाइडरको संरक्षण गर्न र सवारी चालक तथा पैदल यात्रीहरूलाई ट्राफिक नियम एवं लेन अनुशासन अनिवार्य पालना गर्न आग्रह गरेका छन्।
हालैका दिनहरूमा केही भयानक दुर्घटनाहरू बेहोर्नु परेको स्थानमा रोड इञ्जिनियरिङ अर्थात् रोड फर्निसिङ अन्तर्गतका मार्किङ र केही सडक सुरक्षा सम्बन्धी सांकेतिक चिह्नहरू पनि नभएको अवस्था सामाजिक संघ सस्थाको सहयोगमा रोड डिभाइडर स्थापना गरिनु निकै सकारात्मक कार्य मान्नु पर्ने डिएसपी पराजुलीले बताए।
सवारी दुर्घटनाबाट जोगिन सर्वसाधारण आफै सचेत र सजग हुनुपर्ने डिएसपी पराजुलीले बताए।
‘सबैले लेन अनुसाशन पालन गर्नुपर्छ र हतार गर्नु हुँदैन,’ पराजुलीले भने, ‘जसले हतार गर्छ उसले जोखिम निम्त्याउँछ भन्ने सन्देश हामीले स्थापना गरेको कोणले महत्वपूर्ण भूमिका खेल्ने आशा छ।’
सडकमा किनेर राखेका डिभाइडर महंगो मूल्यका भएका हुँदा त्यसको सुरक्षाका लागि सबै सरोकारवालाहरूले भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।