जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव सोमबार जिल्ला प्रहरी कार्यालयमा हाजिर हुन पुगेका छन्।
यादवविरूद्ध पोखरी निर्माणका क्रममा सरकारी लिखत किर्ते गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका यादवमाथि सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।
प्रहरीले सरकारी छाप तथा लेटर प्याड किर्ते गरी दुरूपयोग गरेको आरोपमा जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएपछि यादव फरार रहेका थिए।
नवलपरासी जिल्ला अदालतले गत साउन २० गते यादवविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसअघिदेखि नै सम्पर्कमा नरहेका यादव सोमबार आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका हुन्।
आफू विरूद्ध पक्राउ पुर्जी जारी भएपछि यादवले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निषेधाज्ञाको माग गर्दै निवेदन दिएका थिए। तर, उच्च अदालतले साउन २९ गते अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश गरेको थियो। त्यसपछि यादवलाई पक्राउ गर्ने बाटो खुलेको थियो।
यादव नेपाली कांग्रेसका जिल्ला तहका नेता हुन्। सोमबार दिउँसो कार्यालयमा आफै उपस्थित भएका यादवलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थपको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिए।