अमेरिकामा बसेर फेसन डिजाइनरका रुपमा ख्याती कमाएका प्रबल गुरुङको जीवनी सार्वजनिक हुने भएको छ। आफ्नै नामको फेसन ब्रान्ड स्थापनाको दसौं वार्षिकोत्सव मनाउने क्रममा प्रबलले किताबबारे जानकारी सार्वजनिक गरेका हुन्।
सामाजिक सञ्जालमा आफ्नो ‘कफी टेबल बुक’ सार्वजनिक हुन लागेको खुसी बाँड्दै उनले किताबको तस्बिर पनि सार्वजनिक गरेका छन्। प्रबल गुरुङ शीर्षकमै सार्वजनिक हुने उनको किताबमा आप्रवासीको कथा र आफ्नो अमेरिकी सपना पूरा भएको कथा समेटिएको लेखेका छन्।
सिंगापुरमा जन्मिएर काठमाडौंमा हुर्केका प्रबल हलिउडदेखि बलिउडसम्मका सेलिब्रेटीले रुचाएका चर्चित डिजाइनर हुन्। पूर्वअमेरिकी प्रथम महिला मिसेल ओबामादेखि बेलायती राजकुमारी केटसम्मले उनले डिजाइन गरेको लुगा रुचाएका छन्।
काठमाडौंदेखि नयाँ दिल्ली हुँदै अमेरिकासम्मको संघर्ष र सफलताको कथा नै उनको किताबको मुख्य विषय हुने उनले जनाएका छन्।
अब्राम बुक्सको प्रकाशनमा आगामी नोभेम्बर १२ तारिखमा किताब सार्वजनिक हुनेछ।