काठमाडौंको दक्षिणकालीमा एक पुरूष मृत फेला परेका छन्।
मंगलबार बिहान दक्षिणकाली नगरपालिका वडा नम्बर ६ कमलपोखरीस्थित दुई तले घरमा एक पुरूषको शव फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जानकारी दिएको हो।
मृत्यु हुनेमा सोलुखुम्बु घर भएका अन्दाजी ५० वर्षीय गोले भन्ने प्रीतिकुमार राई छन्। उनी भुइँ तलामा रहेको खाटमा मृत भेटिएका हुन्।
उनी गत दुई हप्तायता कृषि फार्मको लागि प्रयोग हुँदै आएको घरमा बस्दै आएका थिए।
'कृषि फार्मको लागि प्रयोग भएको घरमा उनी आफ्ना साथीसँग बस्ने रहेछन्,' प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले भने।
उनका अनुसार मृतक राईको टाउकोमा चोट लागेको छ। उनी सुतिरहेको अवस्थामा मृत फेला परेका हुन्।
उनीसँग बस्दै आएका साथी भने फरार छन्। ओखलढुंगा घर भएका अन्दाजी ४५ वर्षीय पासाङ शेर्पा फरार छन्।
उनले नै हत्या गरेको हुनसक्ने आशंका गरिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए। प्रहरीले घटनास्थलबाट कुनै हतियार फेला पारिसकेको छैन।
'केले हानेको छ भन्ने ठ्याक्कै खुलेन। पासाङ अहिले फरार छन्,' उनले भने, 'सुतिरहेको अवस्थामा हिर्काएर भागेकोजस्तो देखिन्छ।'
पासाङ सो ठाउँमा पाँच-छ वर्षअघिदेखि सो फार्ममा काम गर्दै आएका थिए। यता गोले भने दुई हप्ता अघि मात्रै उनीसँग बस्न थालेका थिए।
उनीहरूले मापसे गरेर पटक-पटक झगडा गर्ने गरेको प्रहरी नायक उपरीक्षक पोखरेलले बताए। अहिले शव पोष्टमार्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल पठाएको छ।
प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। पासाङको पनि खोजी जारी राखेको वृत्तले जनाएको छ।