तीन दिवसीय नेपाल साहित्य उत्सव जनकपुरधाममा सुरु भएको छ।
बुक वर्ड फाउण्डेशनको आयोजनामा जनकपुरधाममा सुरु भएको नेपाल साहित्य उत्सवको पूर्व राष्ट्रपति डा रामवरण यादवले उद्घाटन गरेका छन्। उनले जानकी मन्दिरकै छेउमा रहेको रामजानकी विवाह मण्डपमा वृक्षारोपण गरेर साहित्य उत्सवको उद्घाटन गरेका हुन्।
उद्घाटनपछि स्थानीय कलाकारहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरे।
कात्तिक आइतबारसम्म चल्ने नेपाल साहित्य उत्सवमा विभिन्न समसामयिक विषयमाथि विद्वानहरुले चर्चा परिचर्चा गर्ने छन्। सन् २०११ देखि हुँदै आएको नेपाल साहित्य उत्सव काठमाडौँ, पोखरा हुँदै यस पटक जनकपुरधाममा आयोजना गरिएको हो।
सो साहित्य उत्सवको विभिन्न सत्रमा जनकपुरधामका ४ वटा ऐतिहासिक स्थलको प्रयोग गरिने छ। कुल १३ वटा सत्र रहने सो उत्सवका लागि जनकपुरधामको जानकी मन्दिर परिसरसँगै रहेको विवाहमण्डप, रेल्वे स्टेशन, गंगासागर पोखरीको प्रयोग गरिने छ।
उत्सवको दोस्रो दिन शनिबारदेखि विभिन्न समसामयिक विषयमाथि चर्चा परिचर्चा हुने आयोजकले जनाएको छ। चुरेको चिन्ता शिर्षकमा पूर्व राष्ट्रपति डा. रामवरण यादव र पूर्व प्रधानमन्त्री माधव नेपालसँग पत्रकार चन्द्र किशोर झाले सम्वाद गर्नेछन्। त्यस्तै जानकी मन्दिरको प्राङ्गढमा नेपाली कांग्रेसका नेता प्रदीप गिरीले सीता माथिको प्रवचन दिनेछन्।
जनकपुरधामको रेल्वे स्टेशनमा हुने सत्रमा अर्थतन्त्र र राजनीतिमाथि चर्चा गर्नुका साथै प्रदेशका विषयमा कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्माले मुख्यमन्त्री लालबाबु राउतसँग मोडरेटर गर्नेछन्।
त्यस्तै मधेशको हिमाल विषयमा डा रामदयाल राकेश र कनकमणि दिक्षितबीच परिचर्चा हुनेछक। स्वाभिमान सम्मान र अभिमान विषयमाथि हिमाल खबर साप्ताहिकका सम्पादक किरण नेपाल, प्रदेश दुईका मुख्य न्यायधिवक्ता दीपेन्द्र झा, प्रदेशसभा सदस्य रानी शर्मा तिवारीबीच परिचर्चा गरिने छ। यस सत्रको मोडरेटर नेपाली कांग्रेसका नेता गगन थापाले गर्नेछन्।
विकासको खाकामाथि जनकपुरधाम उपमहानगरपालिका, विरगंज महानरपालिका र राजविराज नगरपालिकाका प्रमुखबीच सम्वाद हुनेछ। यसको मोडरेटर पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले गर्नेछिन्। यसका साथै साहित्य उत्सवमा सीमा सम्वाद, साहित्य सम्झनामा, कविता वाचन लगायतका सत्रहरु समेत समावेश गरिएको छ।