शुभ भइल चिरैया बोले चुहु चुहु
यी आवाज सहर ना मिली सच कहुँ
सर्दी मे सहरमे हिटर जलावे
हम गाउँमे लकडी फुक फुक के तापे हँ फुक फुक के तापे
सहरमे छव बजे सुभ होजाला
हमर गाउँमे पाँच बजे भोर आजाला
रातमे सहरमे फोन देख देख के खाए
हमरे गाउँमे सब जन बैठके जमिन पर खाए हाँ जमिन पर खाए
यी हमरा गाउँ, सदा सच्चा प्यार से भरल ठाउँ...
दिल्ली पब्लिक स्कुलको कक्षा ९ मा अध्ययनरत सुरवी साहले आफ्नो कविता 'हमर प्यारा गाउँ' सुनाइन्। कविता सहर र गाउँको भिन्नता समेटेर रचिएको थियो।
वीरगञ्जमा बिहीबारदेखि तीन दिने 'मधेस साहित्य महोत्सव–२०२६' सुरू भएको छ। 'गाउँ मन्थन, सपनाको बेर्ना जोगाउन साहित्य' भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो।
मधेसको समृद्ध साहित्य र सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक उत्कर्ष नेपालका संस्थापक एवं कार्यकारी अधिकृत जय साहले जानकारी दिए।
पहिलो दिन सहभागीहरूले गाउँको विशेषता र वर्तमान अवस्थाबारे विभिन्न दृष्टिकोणबाट चर्चा गरेका छन्।
गाउँमा विद्यमान असमानता, सबल तथा दुर्बल पक्ष, राजनीति र विकासका विषयमा महोत्सवमा छलफल भयो। कृषि, पर्यावरण, सिँचाइ, मल, बिउ, भाषा, कला, संस्कृति लगायत विषय वक्ताहरूको छलफलको विषय बने।
लोकबाजा सिंगाहा बजाएर महोत्सव उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा बोल्दै भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले गाउँ नरहे सहर नबन्ने बताए।
'वीरगञ्जमा पहिला गाउँ नै थियो। नगरपालिका, गाउँपालिका जति बनेका छन्, ती गाउँकै कारण बनेका हुन्। हरेक पालिकामा १०, २०, ५० गाउँ रहन्छन्,' उनले भने, 'गाउँ नरहे गाउँ–नगर हुँदैन, भाषा र पहिचान रहँदैन, संस्कृति जोगाउन गाउँ चाहिन्छ।'
महोत्सवमा 'गाउँ– स्मृति, मिथक र यथार्थ' शीर्षकमा डा. भास्कर गौतमले बीजपत्र प्रस्तुत गरेका थिए।
उनले नेपालमा गाउँको इतिहास र वर्तमान अवस्थाबारे चर्चा गरे। अझै पनि गाउँको जनजीवन कृषिको वरपर नै बाँधिएको उनको भनाइ छ।
'कृषि उत्पादन प्रणाली र त्योसँग गाँसिएको पशुपालन लगायतका काम गाउँमा हुन्छन्, कतै बढी कतै कम। समुदायको विशिष्टता र पहिचान त्यहाँ हुने नाचगान संस्कृतिले बाँधेको छ,' उनले भने, 'भाषिक आधार गाउँलाई बुझ्ने फराकिलो आधार हो।'
कृषि आधुनिकीकरण गर्ने, प्रविधिमैत्री बनाउने र विकास गर्ने नाममा निर्वाहमुखी अर्थतन्त्र ध्वस्त पारेर किसानलाई विस्थापित गर्ने कार्य भइरहेको उनको भनाइ छ।

कृषिमा मल, बिउ, सिँचाइको संकट गहिरिँदै गएको र त्यसबाट पार पाउनु प्रमुख सवाल बनेको बताउँदै उनले गाउँमा जमिन, पर्यावरण र प्राकृतिक स्रोतसँगको लडाइँ बढेको तर्क गरे।
'सामाजिक बनोट थिचोमिचो, लैंगिक र जातीय भेदभावसँगै पर्यावरणको समस्या छ। मधेसमा पानीको संकट गहिरिएको छ। भूमिहीन, नदीछेउमा बस्ने, सानो जमिन भएका परिवारलाई बढी समस्या हुन्छ,' उनले भने, 'गाउँको स्वच्छता भत्काएर अव्यवस्थित सहर बनाएका छौँ।'
चुनावको बेला केन्द्रमा देखिने गाउँ अरू बेला हराउने गरेको गौतमले बताए।
'नेताहरू अरू बेला भन्दा बढी चुनावको बेला भोट माग्न गाउँ पस्छन्, जितेपछि हराउँछन्। गाउँको समस्या जस्ताको तस्तै रहन्छ, पुनः चुनावमा भोट माग्न आइपुग्छन्,' भास्करले भने।
गाउँमा माटोको उन्नत विशेषता जोगाएर प्राकृतिक अवस्थामा फर्काउने र रैथाने बिउ जोगाउने मूल समस्या बनेको उनको भनाइ छ।
'जबसम्म मानसिक चिन्तनमा मौलिकता आउँदैन, तबसम्म यो सम्भव छैन,' गौतमले भने, 'अहिले माटो, प्राकृतिक बिउको मात्रै कुरा होइन। यसलाई राष्ट्रिय राजनीतिमा ल्याएर उन्नत माटो र रैथाने बिउको चिन्तन फैलाउनुपर्छ, मौलिकता आउनुपर्छ, मानसिक बीज तयार गर्नुपर्छ।'
बिहीबारको पहिलो सत्रमा 'गाउँका युवा– पलायन, पोलिसी र विकल्प' विषयमा चर्चा गरिएको थियो भने दोस्रो सत्रमा 'गाउँ– लोकतन्त्र र सत्ता' र तेस्रो सत्रमा 'गाउँ– स्मृति र इतिहास' बारे विमर्श भएको थियो।
लोकतन्त्र र सत्ताबारे वक्ता डा. सुरेश ढकाल, डा. सुचेता प्याकुरेल र डा. सबिन निङ्ग्लेखुले बोलेका थिए।

डा. ढकालले विकासको लाभको वितरण कसरी भइरहेको छ भन्नेमा ध्यान दिनुपर्ने बताए। समृद्ध गाउँ, सुदृढ लोकतन्त्र र न्यायपूर्ण सत्ता जनताले चाहेको उनको भनाइ छ।
डा. सुचेताले सत्तामा पहुँच भएका राजनीतिकर्मी पुरूषहरूले महिलालाई अघि बढ्न रोकिरहेको बताइन्। राजनीतिक दलले स्थान नदिँदा स्वतन्त्र उम्मेदवारी दिनुपरेको उनको भनाइ छ।
डा. सबिनले गाउँमा सिंहदरबार पुगे पनि जनताका लागि नभएको बताए।
'गाउँमा सिंहदरबार छ, तर गाउँले चाहँदा सत्ता गाउँमा हुँदैन। हाइड्रोपावर र ठेकेदारको पक्षबाट जनतालाई लाठी र गोली चलाउन पुग्छ,' उनले भने।
उत्कर्ष नेपालका अध्यक्ष ऋतु राजले गाउँ गरिब नभएर गरिब बनाइएको बताए। असमान विकास, जातीय विभेद र श्रमको अवमूल्यन गरेर गाउँलाई उपेक्षामा पारिएको उनको भनाइ छ।
साँझमा नृत्य 'नवरंग' कार्यक्रम राखिएको थियो, जहाँ विभिन्न विद्यालयका बालबालिकाले भोजपुरी, पञ्जाबी लगायत सांस्कृतिक गीतमा नृत्य प्रस्तुत गरेका थिए।
मधेस साहित्य महोत्सवको पहिलो संस्करणमा माटोको बारेमा चर्चा गरिएको थियो।


