फिल्म 'मितज्यू' को ट्रेलर सार्वजनिक गरिएको छ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलर सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत रिलिज गरिएको हो।
सार्वजनिक ट्रेलरमा मुख्य कलाकार दयाहाङ राई र सौगात मल्लबीच मितेरी साइनो गाँसिएको देखाइएको छ। गाउँमा नयाँ खुलेको सडकमा गाडी चलाउने चालकको भूमिकामा रहेका उनीहरूबीच यात्रु छिटो गन्तव्यमा पुर्याउने प्रतिस्पर्धा देखिन्छ। प्रतिस्पर्धासँगै उनीहरूको मित्रता, सम्बन्ध र भावनात्मक उतारचढावलाई ट्रेलरमा रोचक ढंगले प्रस्तुत गरिएको छ।
ट्रेलरमा टेरिया मगरको पात्रले पनि कथामा महत्वपूर्ण मोड ल्याउने संकेत दिएको छ। उनको उपस्थितिले प्रेम, आशा र सम्बन्धको नयाँ आयाम थपेको देखिन्छ। केही दृश्यमा प्रेमभाव, केहीमा पीडा र केहीमा विद्रोही भाव प्रस्तुत गरिएको छ, जसले कथालाई बहुआयामिक बनाउने संकेत गर्छ।
कुनै समय नेपाली समाजमा प्रचलित मितेरी साइनोलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले सामाजिक सम्बन्ध, विश्वास र ग्रामीण जीवनलाई प्रस्तुत गर्न खोजेको ट्रेलरबाट संकेत मिल्छ।
फिल्मका निर्माता जनक घर्ती मगर हुन्। ग्रामीण परिवेशमा आधारित फिल्ममा दयाहाङ राई, सौगात मल्ल र टेरिया फौजा मगरका साथमा पुस्कर गुरूङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरूण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारहरूको अभिनय छ।

टेरियाले यसै फिल्ममार्फत अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्। साथै, फिल्मको एक गीतमा रुषा न्यौपानेको विशेष नृत्य समावेश गरिएको छ।
अनिल बुढा मगर को निर्देशनमा बनेको फिल्ममा लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन तथा श्रीकृष्ण बम मल्लको संगीत छ। गीतमा श्रीकृष्ण बम मल्ल, मेलिना राई र लक्ष्मी मल्लको स्वर रहेको छ।
आरआर फिल्म्सले वितरण गर्ने फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।
'मितज्यू' आगामी जेठ ८ गतेदेखि नेपालभर प्रदर्शनमा आउने तयारीमा छ।