आगामी शुक्रबार (जेठ १ गते) देखि प्रदर्शन तयारीमा रहेको चलचित्र 'एक मुठ्ठी बादल'को प्राइभेट स्क्रिनिङ गरिएको छ।
आइतबार काठमाडौंमा आयोजित उक्त विशेष प्रदर्शनमा पूर्व प्रधानमन्त्री सुशीला कार्की, कांग्रेस नेता सुनिल कुमार थापा, पत्रकार नारायण वाग्ले, निर्देशक अमन प्रताप अधिकारीलगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो।
चलचित्र हेरेपछि हलबाट बाहिरिँदै गर्दा पूर्वप्रधानमन्त्री कार्कीले 'एक मुठ्ठी बादल' आफूलाई मन परेको प्रतिक्रिया दिइन्। उनले आफू सामान्यतया चलचित्र कमै हेर्ने व्यक्ति भएको उल्लेख गर्दै निमन्त्रणाका कारण हेर्न आएको बताइन्।
कार्कीले भनिन्, 'म चलचित्र धेरै हेर्ने मान्छे होइन। अहिले हेरेँ भने पनि पुराना चलचित्र मात्र हेर्ने बानी छ। यहाँ निमन्त्रणा आएपछि हेर्न आएँ। चलचित्रको मूल्यांकन सबैले आफ्नो दृष्टिकोणबाट गर्ने कुरा हो।'
उनका अनुसार चलचित्रलाई उनले आर्ट फिल्मको शैलीमा प्रस्तुत गरिएको अनुभव गरेकी छिन्। उनले थपिन्, 'यसले अहिलेको समाजलाई देखाएको छ। मध्यमवर्गीय परिवारको कथा छ। दुई दिन अर्थात् एक रात र भोलिपल्टको घटनामा आधारित कथा हो।'
उनले चलचित्रले पुस्तागत द्वन्द्वलाई पनि उठाएको बताइन्। 'पुरानो पुस्ता र नयाँ पुस्ता (जेनेरेसन) बीचको सोचको अन्तर देखाइएको छ। आधुनिक र परम्परागत संस्कारबीचको टकराव पनि चलचित्रमा प्रस्तुत गरिएको छ,' उनले भनिन्।
त्यसैगरी, उनले मध्यमवर्गीय परिवारभित्रको आर्थिक असमानता, सम्बन्ध र सामाजिक अवस्थालाई पनि चलचित्रले चित्रण गरेको उल्लेख गरिन्। 'आर्थिक अवस्था नमिलेको परिवारमा विवाहपछि देखिने समस्या, विदेशमा अध्ययन गरेर फर्किएकी छोरी र परिवारको सपना पूरा गर्न गरिएको संघर्षजस्ता पक्ष पनि समेटिएको छ,' कार्कीको भनाइ थियो।
नेता सुनिल कुमार थापाले पनि चलचित्रले देखाउन खोजेको सन्देश मार्मिक रहेको बताए। यस्तै, रियालिटी शो निर्देशक अमन प्रताप अधिकारीले 'एक मुठ्ठी बादल' हालसम्मकै उत्कृष्ट नेपाली चलचित्रमध्ये एक भएको दाबी गर्दै नेपाली चलचित्रको सिफारिस गर्दा यो चलचित्र अवश्य हेर्नुपर्ने बताए।

सहारा शर्माको डेब्यु निर्देशनमा निर्माण भएको 'एक मुठ्ठी बादल' मा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीलगायत कलाकारहरूको अभिनय छ।
चलचित्रलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्। निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन्।
चलचित्रमा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला, जानकी कडायतको भेषभूषा डिजाइन, कीर्ति जोशीको मेकअप रहेको छ। मर्णा जेम्सले चलचित्रको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रुपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन्।
महिला नेतृत्वमा बनेको यो चलचित्र गौंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सनको सहकार्यमा निर्माण भएको हो। चलचित्रलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।