फिल्म 'लालीबजार' हेर्ने दर्शकसँग प्रत्यक्ष भेटघाट तथा साक्षात्कार गर्न कलाकारसहितको टोली मोफसल यात्रामा निस्किएको छ।
अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराईसहितको टोली मंगलबारदेखि सुर्खेतबाट मोफसल यात्रा सुरू गर्न लागेको हो। त्यसपछि टोली नेपालगञ्जसम्म पुग्ने कार्यक्रम तय छ।
वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्मले दर्शक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। पछिल्लो समय परिवारसहित दर्शक हलसम्म पुगेर फिल्म हेर्ने क्रम बढेको निर्माणपक्षले जनाएको छ। निर्माणपक्षका अनुसार बादी समुदायका अभियन्ताहरूले पनि फिल्म हेरेर सामाजिक सञ्जालमार्फत प्रशंसा व्यक्त गरेका छन्।
यो फिल्म विवादका कारण पूर्वनिर्धारित मितिभन्दा एक साता पछि रिलिज भएको थियो।
प्रदर्शन सुरू भएयता काठमाडौंका विभिन्न सिनेमा हलमा पुगेर दर्शकसँग भेटघाट गर्दै आएको टोलीले अब केही दिन उपत्यका बाहिरका दर्शकसँग प्रत्यक्ष संवाद गर्नेछ।
कार्यकारी निर्माता प्रदीप भट्टराईका अनुसार दर्शकसँग प्रत्यक्ष भेटघाट र अनुभव आदानप्रदान गर्न यो यात्रा गरिएको हो।
फिल्म 'लालीबजार' मा स्वस्तिमा खड्का, विशाल देवकोटा, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठलगायत कलाकारहरूको अभिनय छ।
षट्कोण आर्टसको व्यानरमा फिल्म बनेको हो।