गत वर्ष प्रदर्शनमा आएर बक्स अफिसमा सफल भएको फिल्म 'मन बिनाको धन'को सिक्वेल निर्माण हुने भएको छ। निर्माणपक्षले सोमबार 'मन बिनाको धन २' निर्माणको औपचारिक घोषणा गरेको हो।
गत वर्ष रिलिज भएको 'मन विनाको धन'ले बक्स अफिसमा करिब ४ करोड रूपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको थियो।
सिक्वेललाई पनि निर्देशक टंक बुढाथोकीले नै निर्देशन गर्नेछन्। यो फिल्म टंक बुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुतिका रूपमा निर्माण हुन लागेको हो।
फिल्ममा पटकथा तथा संवाद शिवम् अधिकारीको रहनेछ। हाल शिवम् फिल्मको कथामा व्यस्त रहेको निर्माणपक्षले जनाएको छ। फिल्ममा कथा र संगीत निर्देशक बुढाथोकीकै रहनेछ।
यसैबीच, फिल्मको मुख्य भूमिकाका लागि अभिनेत्री पूजा शर्मा अनुबन्धित भएकी छन्। सोमबार टंक बुढाथोकी र पूजा शर्माबीच कागजी सम्झौता भएको बताइएको छ। फिल्मको छायांकन भदौ महिनाबाट सुरू गर्ने तयारी गरिएको छ।
फिल्ममा अन्य कलाकार को-को रहनेछन् भन्ने विषयमा निर्माणपक्षले हालसम्म खुलाएको छैन। निर्देशक बुढाथोकीले भने, 'हामी अहिले प्रि-प्रोडक्सनको काममा व्यस्त छौं। सुरुवातमै पूजाजीलाई फिल्ममा अनुबन्धित गरेका छौं। अन्य कलाकारलाई पनि क्रमशः अनुबन्ध गर्ने तयारी भइरहेको छ।'
अभिनेत्री पूजा शर्माले पनि फिल्ममा आबद्ध हुन पाउँदा खुसी लागेको बताएकी छन्। उनले भनिन्, 'फिल्मको कथावस्तु निकै पारिवारिक छ। आफ्नो भूमिका र टिम मन परेकै कारण मैले काम गर्न सहमति जनाएको हुँ।'
फिल्मलाई विष्णुमाया मैनालीले निर्माण गर्नेछिन्।