यसपालिको हिउँद गत वर्षजस्तै सुख्खै रहने देखिएको छ। जल तथा मौसम विज्ञान विभागले हिउँद अवधिको वर्षा र तापक्रम प्रक्षेपण गर्दै यसपालिको हिउँदमा सरदरभन्दा कम पानी पर्ने सम्भावना अधिक देखाएको हो।
‘यस हिउँद अवधिमा देशका अधिकांश भू–भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको छ,’ विभागले भनेको छ।
यसपालिको हिउँद याममा सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी भू–भाग अर्थात् बझाङको दक्षिणी भेग, डोटीको उत्तरी भेग, अछामको पश्चिमी भेग, बाजुराको दक्षिणपूर्वी भेगमा सरदरभन्दा कम पानी पर्ने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहने सम्भावना छ।
त्यस्तै कैलाली अधिकांश भूभाग सुख्खा नै रहने प्रक्षेपण गरिएको छ।
लुम्बिनी प्रदेशअन्तर्गत् बर्दिया, बाँके, दाङका पूरै भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म छ। कर्णालीको सुर्खेतका अधिकांश भाग, दैलेखको दक्षिणी भेग, सल्यानको दक्षिणी भेगमा सरदरभन्दा कम वर्षा हुने सम्भावना सोही प्रतिशतसम्म छ।
बागमती प्रदेशअन्तर्गत रसुवाको दक्षिणी भेग, धादिङको दक्षिणी भेग, मकवानपुरको दक्षिणी भेग, नुवाकोटको अधिकांश भेग, काठमाडौंको पश्चिमी भेग, सिन्धुपाल्चोकको पश्चिमी भेग, मकवानपुरको दक्षिणी भेगमा सरदरभन्दा कम वर्षाको प्रक्षेपण छ। त्यहाँ पानी नपर्ने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म छ। रामेछापका दक्षिणपूर्वी र दोलखाको केही दक्षिण भूभागमा सुख्खा छाउनेछ।
मधेसको उत्तरी पर्सा, उत्तरी बारा, रौतहटका पश्चिमका आंशिक भूभाग, सर्लाही, महोत्तरी, धनुषा, सप्तरीका उत्तरी भेगमा पनि कम पानी पर्ने प्रक्षेपण छ। कोशीको ओखलढुंगा, उदयपुरका सम्पूर्ण भूभाग खोटाङ, भोजपुर, धनकुटाका दक्षिणी भेग, सुनसरी, मोरङ, झापाका उत्तरी भेग, इलाम पूरै, पूर्वी ताप्लेजुङ, पाँचथरका दक्षिणपूर्वी भेग, पाँच थरका केही भागमा पानी नपर्ने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म छ।
‘कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग, बागमती प्रदेशका दक्षिणी भू–भाग, मधेश प्रदेशका उत्तरी भू–भाग र कोशी प्रदेशका मध्य तथा पूर्वी भू–भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको छ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका मध्य भू–भाग, लुम्बिनी प्रदेशका मध्य तथा पूर्वी भू–भाग, गण्डकी प्रदेशका पूर्वी भू– भाग, बागमती प्रदेशका मध्य तथा उत्तरी भू–भाग, मधेश प्रदेशका दक्षिणी भू–भाग र कोशी प्रदेशका केही भू–भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको पनि विभागले जनाएको छ। देशका बाँकी भू–भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ रहेको छ विभागले जनाएको छ।
अधिकतम तापक्रम सरदरभन्दा बढी
अधिकतम तापक्रम देशका अधिकांश भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना रहको छ विभागले जनाएको छ। गण्डकी प्रदेशका उत्तरी र दक्षिणपूर्वी भू–भाग, बागमती प्रदेशका दक्षिणी भू–भाग र कोशी प्रदेशका उत्तरी र दक्षिण–पश्चिमी भू–भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशका उत्तरी भू–भाग, लुम्बिनी प्रदेशका उत्तरपूर्वी भू–भाग र कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भू–भागमा सरदर भन्दा बढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका दक्षिण–पश्चिमी भू–भाग र लुम्बिनी प्रदेशका पश्चिमी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको विभागले बताएको छ। लुम्बिनी प्रदेशका दक्षिणी भू–भाग र मधेश प्रदेशका भू–भागहरूमा सरदर भन्दा कम, सरदर र सरदरभन्दा बढी अधिकतम तापक्रम हुने समान सम्भावना रहेको विभागले बताएको छ।
न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी
न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना रहेको विभागले बताएको छ। सुदूरपश्चिम प्रदेशका उत्तरी र दक्षिण–पश्चिम भू–भाग, कर्णाली प्रदेशका मध्य तथा उत्तरी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग, बागमती प्रदेशका उत्तर–पूर्वी र दक्षिण– पश्चिम भू–भाग, मधेश प्रदेशका अधिकांश भू–भाग र कोशी प्रदेशका दक्षिणी र उत्तर–पश्चिम भू–भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ भने देशका बाँकी भू– सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ।