कल्पना गर्नुहोस्, तपाईं सडकमा हिँड्दै हुनुहुन्छ र एक ब्यागभित्र गन्नै नसकिने नोट भेट्टाउनुहुन्छ।
एक करोड रुपैयाँ!
धेरैलाई लाग्ला— बाबु, जिन्दगी त सेट भयो!
तर मेरो मनमा पहिलो कुरा आउँछ— त्यो साथीको अनुहार, जसले मलाई कहिल्यै नबिर्सिने चोट दिएको थियो। त्यो चोट पैसाको थिएन, त्यो चोट अविश्वासको थियो।
मानिसको जिन्दगीमा यस्ता घाउहरू हुन्छन् जो पैसाले भरिँदैनन्। तर कहिलेकाहीँ पैसाले त्यस घाउको मूल्य बुझाउने मौका आउँछ।
म अहिले तपाईंलाई काल्पनिक कुरा सुनाउँदै छु तर यसको चोट असली हो। कल्पना गर्नुहोस्— तपाईं एक दिन बाटोमा हिँड्दै हुनुहुन्छ र एक करोड रुपैयाँ फेला पर्छ।
सायद अधिकांशले भन्छन्— ‘जिन्दगी बन्यो!’
घर, गाडी, ब्रान्डेड लुगा, विदेश घुमफिर, सायद केही धर्म-कर्ममा लगानी पनि।
तर यदि म त्यो एक करोडको मालिक भएँ भने, म सबैभन्दा पहिले त्यस साथीको सम्झना गर्नेछु जसले मलाई कहिल्यै विश्वास गरेन।
सही पढ्नुभयो— मैले दुई हजार रुपैयाँ माग्दा हेला गर्ने त्यो साथीलाई म एक लाख रुपैयाँ दिन चाहन्छु। त्यो पनि बिना ब्याज, बिना सर्त।
‘तँ कसरी तिर्छस्?’ भन्ने एउटा चोटिलो प्रश्न
तीन वर्षअघिको कुरा हो। जिन्दगीको उकालो चढ्दै गर्दा म एक दिन भिरबाट चिप्लिएँ। जागिर गुमेको, आफन्त टाढिएको र डेरा मालिकले लात्तै लाउने गरी बोल्ने समय थियो त्यो।
त्यस बेला म एउटा साथीकहाँ पुगेँ— स्कुलदेखि सँगै हुर्केको, धेरै खानेकुराहरू आधा-आधा बाँडेका साथी।
मैले भनेँ, ‘दुई हजार चाहिएको छ, दुई दिनमै तिर्छु।’
उसले सिधा भन्यो— ‘तँ कसरी तिर्छस्? तेरो त आम्दानी पनि छैन।’
त्यस दिन मलाई थाहा भयो— अझ ठुलो अभाव भनेको पैसाको होइन, विश्वासको हो। त्यो रात न भोकले निद्रा आयो, न घृणाले आँसु रोकियो।
सायद तपाईं सोच्नुभयो— ‘उसलाई नै किन?’
किनभने म बदला लिन चाहन्नँ। म आफ्नो अस्तित्व प्रमाणित गर्न चाहन्छु। म देखाउन चाहन्छु कि मेरो मूल्य तिमीले नाप्न सकेनौ तर म तिमीलाई अझै माफ गर्न सक्छु। त्यो माफी शब्दबाट होइन, पैसाबाट पनि होइन। त्यो माफी हो व्यवहारबाट, आत्मिक निर्णयबाट।
हिजो म त्यो साथीको नजरमा गरिब थिएँ। सायद आज म करोडपति भएँ भने उसले फेरि आँखा मुनि हेरेर नमस्कार गर्ला। तर मलाई त्यो झुकेको नमस्कार चाहिएको छैन। मलाई चाहिएको छ कि म आफैँबाट टुटेको भरोसा उसकै अगाडि पुनर्निर्माण गरूँ।
१ लाख दिनु पैसाको हिसाब होइन, इज्जतको हिसाब हो। उसले मलाई विश्वास नगरेको दिन म भङ्ग भएको थिएँ। आज म बलियो छु र बलियाले नै क्षमाशील बन्न सक्ने हैसियत राख्छ।
यो लेख बदला लिने होइन— सन्देश दिने हो
आज सामाजिक सञ्जालमा सफलताको कुरा गर्दा गाडी, घर र विदेशको कथा सुनाइन्छ। तर साँचो सफलता भनेको त्यो हो— जहाँ तपाईंले आफूमाथि अन्याय गर्नेहरूलाई पनि सम्मान गर्न सक्नुहुन्छ।
मैले त्यो साथीलाई १ लाख दिन्छु ताकि ऊ महसुस गरोस्— पैसाको हैसियत त धेरैसँग हुन्छ। तर आत्मसम्मान बाँड्न सक्ने मुटु थोरैसँग मात्र।
म उनलाई बदलाको कड्वा चुस्की होइन, मिठास एक चोटि दिनेछु। किनभने हिजो म दुई हजार खोज्दै थिएँ, आज म करोडको मालिक छु अनि मेरो हृदय अझ ठुलो भएको छ।
एक लाखको महत्त्व मेरो लागि करोडभन्दा ठुलो छ किनभने त्यो १ लाखमा हिजोको अपमानको मूल्य समेटिएको छ, आजको आत्मविश्वास अटेको छ र भविष्यको सम्बन्धमा लगानी गरिएको छ।
हामी पैसालाई बैंकमा राख्न सिकेका छौँ तर कहिल्यै मनमा राखेर चलाउन जानेका छैनौँ। यदि मैले साँच्चै एक करोड फेला पारेँ भने म पहिलो काम बैंक होइन, त्यो साथी भेट्ने गर्दछु।
उभिएर उसलाई एक लाख दिन्छु—बिना कुनै सम्झौता, बिना कुनै सम्झना ताजा पार्दै। किनभने मैले सिकेको छु— असली धनी त्यो होइन जसको खातामा करोड हुन्छ, असली धनी त्यो हो जसको मुटुमा क्षमा हुन्छ।