खाडीचौर आइपुगिसकेका रहेछौँ। भोटेकोशी शान्त किसिमले सुसाएको छ। चार्ज गर्ने ठाउँमा गाडी टक्क रोकिन्छ। सडकभन्दा पारी हेर्छु दोलखातिरको भूभाग। घना जंगल लिएर उभिएको पहाड बडो रहस्यमयी लाग्छ। कोशीको पानी गाडा हरियो देखिन्छ। गाडीबाट झरेर प्रकृतिको सौन्दर्य हेर्न सडकभन्दा तल कोशीतिर झर्छु। मनोहरी सौन्दर्यमा मोहित भएपछि छोरीहरूलाई पनि बोलाउँछु। गाडा कालो र बाक्लो देखिएको जंगल ध्यानस्थ देखिन्छ।
कोशीको शान्त बहाव देखेर निकैबेर हराउँछु कोशीको शालीन गतिमा। पानीको अथाह शक्ति बोकेर पनि कोशी आफ्नै धरातलमा मस्त छ। कोशीले पानी मात्र बोकेको छैन। धर्तीलाई जीवन्त पार्ने शक्ति बोकेको छ। कोशीले पानी मात्र बोकेको छैन आगो पनि सँगै लिएर हिँडेको छ। कोशीले जीवन मात्र बोकेको छैन, विनाश पनि सँगसँगै लिएर हिँडेको छ। कोशीको गर्भमा रहस्यको विशाल संसार छ। मानव जातिको अस्तित्व कोशीको प्रत्येक जलकणमा समाहित देख्छु। शिरनत हुन्छु कोशीप्रति। कोशी हाम्रो पहिचान हो।
पुनः कोशीको शालीनताप्रति अनुराग प्रकट गर्छु। आफ्नै जन्मस्थानमा स्थिर भएर युगदेखियुगसम्म यसरी नै बगिरहने छ कोशी। कोशीसँग मान्छेलाई तुलना गर्न पुग्छु, ‘अहो! सफलता र सम्भावनाको उचाइ अलिकति बढेपछि कतिपय मान्छेहरूमा किन होला अहंकारले डरलाग्दो आकार लिने? मान्छेले मात्र किन आफ्नो धरातल छोड्न खोज्छ?
गतिशील हुनु भनेको आफ्नो धरातललाई सधैंका लागि बिर्सनु हो त? आफ्नो स्थान नै छोडेर हिँड्नु हो त? कोशी बगेर पनि कहिले आफ्नो स्थान छोडेर भाग्दैन। बगेर पनि कहिल्य रित्तिँदैन। कोशी सीमामा बाँधिए पनि जीवनदायिनी अमृत ठाउँ ठाउँमा पुर्याएकै छ। कल्पिन्छु कोशी जस्तै मान्छेले पनि आफ्नो ज्ञान, सीप र क्षमता आफ्नै स्थानमा बसेर सीमाविहीन भूमिमा किन बगाउन सक्दैन? यो मन बडो दार्शनिक हुन खोज्छ। मनलाई पुनः समेट्दै हरियो वनमा पुर्याउँछु।
मन गौरवान्वित हुन्छ हरियो वन नेपालको धन त्यसै कहाँ भनिएको हो रहेछ र! यस्ता घना जंगल हिजो अझ कति थिए होलान्। अझ कति होलान् मैले पो देखेकी छैन। लाग्छ जंगलमा पात खस्ने ठाउँ पनि कतै छैन होला। मान्छे त झन् कसरी हिँड्लान् यो जंगलको बाटो भएर। सायद यहाँ आफ्नो मनखुसी दाउरा घाँस गर्न पाइँदैन होला। हेरिरहन्छु निकैबेर वर्णनातीत जंगलको सौन्दर्य।
ग्याजेटको गलना उठाउँदै, कौतूकमय जंगलको सौन्दर्यलाई तस्बिरमा सजीव उतार्ने असम्भव कोसिस गर्छु। तत्काल मनले गुनगुनाउँछ हिन्दी गीत जो वात तुझमे है तेरी तस्बिर मे नही ... प्रकृतिको सौन्दर्य तस्बीरमा उतारेर कहाँ उतार्न सकिँदो रहेछ र!
विज्ञानले निर्माण गरेको क्यामराभन्दा सृष्टिकर्ताले मेरो शरीरमा फिट गरेको आँखारूपी अद्भुत, अतुलनीय क्यामरा चारैतिर घुमाउँछु। चिरकालसम्म यी दृश्य मस्तिष्कको महत्त्वपूर्ण फाइलमा सुरक्षित राखेर सेभ गर्छु। प्रकृतिको सौन्दर्यपानमा अतृप्त भएको मनलाई थुमथुम्याउँदै पुनः राजमार्गमा फर्किन्छु।
चार्जमा सँगै राखेको अर्को गाडीमा देख्छु परिचित अनुहार। स-परिवार कालिन्चोक र शैलुङ यात्रामा आएका यात्रीहरू त आफन्ती नै रहेछन्। हाम्रो खुसी दोहोरो हुँदै अङ्गालोमा बेरियो। आँखाहरू आत्मीयताको चास्नीमा लपक्कै भए। ओठहरूले मात्र हैन हृदय पनि आनन्दको सारङ्गी रेट्न थाल्यो। डाँडामा पुगेपछि आज र भोलि पुनः भेट हुन्छ भन्ने विश्वासमा हामी आ-आफ्नो गाडीमा चढ्छौँ।
गाडी सिन्धुपाल्चोकको साँघुरो राजमार्गमा गुड्दै छ। कोशीले सिमाना छुट्याएको छ। एकातिर सिन्धुपाल्चोक आफ्नो सम्भावना, सम्पन्नता र सौन्दर्यको सौगात लिएर हामीलाई लोभ्याउँदै छ। पहिलोचोटि नै आएकी छु यो भूमिमा। मलाई आँखा बन्द गर्न फिटिक्कै मन लाग्दैन। बाह्रबिसे, तातोपानी जाने मन छ तर समय अझ मिलेको छैन। हुन त चीनको सिमानासम्म नै पुग्न खोज्छ मन छ। अझ मनको आयातन बढ्दै जान्छ ‘के चीनको सिमानासम्म मात्र भनेको ग्रेटवाल नै चढ्न मन छ भन्न।'
मनको कुरा सुनेर फिस्स हाँस्दै उसको वाञ्छालाई लगामको साँचोले टम्म कसिदिन्छु।
अनि दृष्टिहरू अर्को दिशातिर केन्द्रित गर्छु। प्रकृति, पर्यावरण र पहराहरूको भव्य भूसंरचना र जंगलको दोसल्ला लिएर सौहार्दपूर्ण स्वागत गर्दैछ दोलखाको दुर्लभ भूमि। गन्तव्य दोलखाकै छ हाम्रो। अनि दोलखातिरै नै हामी सम्मोहित हुँदै जान्छौं।
तर अहिले हाम्रो गाडी सिन्धुपाल्चोककै भूमिमा छ। पसलमा देखिन्छन् चाइनिज वस्तुहरू। गाई चक्लेट झुन्डिएका छन् लोभ्याउने गरी। चाइनिज बिस्कुट र चाउचाउ उस्तै आकर्षक खोलमा सजिएका छन्। जाडो आउँदै छ। थरी थरीका ताता ब्ल्याङ्केटले यात्रीलाई जाडोको स्मरण गराउँदै छ। बजारको सजावटले सौदालाई पक्कै असर गर्छ। रङ रङका चाउचाउ छन्। चिप्स छन्। सडक ठप्प छ। गाडी जाममा आरामी भएको छ। जाममा पनि बजारमा पसेकी छु आँखाको अन्यहीन मार्गबाट।
बाटोमा हिँडेका यात्रुहरूको अनुहारमा हतास छ। छटपटी छ। गाडी अव्यवस्थित तरिकाले बीच बीचमा हालेका छन्। तातोपानीतिरबाट आउने गाडीहरू आउन सकेका छैनन्। नियम पनि देखाउनका लागि मात्र हुन्छ कि के हो। ट्राफिकले नदेख्दा कोही पनि नियम मान्न तयार छैनन्। मोटरसाइकल चालकले पनि पाएसम्म सडक नै छोप्ने गरी मोटरसाइकल घुसार्न भ्याएका छन्। नियम, कानून ट्राफिक पुलिसलाई देखाउने आचरण मात्र हो र? आखिर दुःख र सास्ती त गाडी चालक र यात्रुहरूले नै खेपेका छन्। अनि किन यो किसिमको हतार? गलत बाटोबाट किन लैजानु गाडी।
बाटो निकै साँघुरो छ सबैलाई थाहा छ तर थाहा पाउनु मात्र ठूलो कुरा हैन रहेछ। सचेतनासहितको थाहा मात्र सार्थक हुनेरहेछ। सचेतना बिनाको थाहा त विस्तारै थल्लिँदो रहेछ।
आजित भएपछि गाडीका चालकहरू नै सडकमा झरेर गलत तरिकाले अगाडि अगाडि गाडी लैजानेहरूलाई उल्टो गतिमा गाडी फर्काउन लगाउँछन्। केहीबेरको अथक प्रयासपछि उताबाट आएका गाडीहरू पास हुन्छन्। सडक बल्ल खुल्छ। भोटेकोशीको छातीमा निर्माण भएको बलियो पुल तरेर हामी दोलखातिर लाग्छौँ।
प्रविधि र प्रकृतिको मिलन मलाई अनुपम लाग्छ। प्रविधिले प्रकृतिसँग हामीलाई सजिलै जोडेको छ। सहज छ यात्रा। प्रविधि नहुँदो हो त म यो धराका आजीवन आउन सक्ने थिइनँ। यो विमुग्धकारी सौन्दर्यपानबाट बिमुख हुने थिएँ।
हामी उक्लिँदै छौँ दोलखाको पहाडी मार्ग हुँदै। घुम्तीहरू पार गर्दैछौँ। हरियाली लिएर हाँसेको जंगल हेर्न लायक छ। मौसम छ्याङ्ग छ। पहाडहरूको कलात्मक स्वरूप बडो सुन्दर छ। होचो, अग्लो, होचो अग्लो भूसंरचना प्राकृतिक रूपमा काटछाँट गरेर हातैले बनाएको जीवन्त चित्र जस्तो लाग्छ।
केहीबेरको गुडाइपछि सडक किनारमा मुडे लेखेको बोर्ड देखिन्छ। मुडेको आलु त सुनेकी थिएँ तर मुडेको भूगोल आज चुम्दै छु। यहाँ पनि गाडी चार्ज गर्ने ठाउँमा जान्छौँ मुडे बजारलाई पछाडि छोड्दै।
फोनमा कुरा हुन्छ आयोजक टिमसँग तर उताबाट बडो गैरजिम्मेवारपूर्ण वाणी सुनिन्छ, ‘यात्रुहरूलाई कतै लगेर खुवाइदिनू। छक्क पर्छौं कुनै योजना छैन हामी आउँदैछौं भनेर। अगाडि नै तय हुन्छ नि! कुनै निश्चित होटललाई अग्रिम खाना पकाउन लगाएको रहेनछ कि के हो! आश्चर्य लाग्छ यस्तो अव्यावहारिक व्यवसाय देखेर। हामी मोटर चार्ज गर्ने होटलभित्र पस्छौं। होटलवाला कुन गाडीको यात्रु हो भनेर सोध्छन्। इभी गाडी हो भन्छु। व्यक्तिको नाम सोध्छन्। नाम पनि थाहा छैन मलाई त अनि चालकलाई बोलाउन जान्छु। फोन घुमाउँछन् चालक भाइ। आयोजक टोलीको अर्को नेताले फोन उठाउँछ, ‘ऊ भन्छ नाना होटलमा खाना रेडी छ उहीँ गएर खाना खानूहोला।’ कस्तो समूह हो? एकअर्कामा सूचना पनि संप्रेषित रहेनछ। कोही भन्छ जहाँ खुवाए पनि हुन्छ। कोही भन्छ खाना तयार छ सम्बन्धित होटलमा गएर खाना खानू।
हामी अलमलको मुस्कान छोड्दै चालक भाइलाई हेर्छौं। चालक भाइ भन्छन्, ‘म तल नाना होटलमा लगेर छोड्छु अनि गाडी चार्ज गर्न पुनः आउँछु।’
हामीलाई नाना होटलमा छोडेर चालक भाइ माथि नै आउँछन्। यो इभी गाडीमा यात्रा गर्दा चाहिँ चार्जको समय पनि छुट्याउनु पर्ने रहेछ। बारम्बार राजमार्गमा पालो कुरेर चार्ज गर्दा त यस्तो लाग्यो हाम्रो यात्राको एउटा पाटो गाडी चार्ज गर्नु पनि हो ... नाना होटलकी नाना साँच्चै सरल स्वभावकी हुनुहुँदो रहेछ। हाम्रा लागि खाना पकाएर बस्नुभएको साँच्चै हो रहेछ। फ्रेस भएर खाना खाने ठाउँमा आउँदा घडीले एकभन्दा माथिको उकालो तय गरिसकेको छ। अब शैलुङ गएर कसरी कालिन्चोक पुग्ने होला! गाडी चार्जमा राख्न पनि पालो यसरी कुर्नुपर्ने छ।
होटलकी दिदीसँग बात मार्न थाल्छु, ‘दिदी भात त निकै छ त?’ दिदी शालीन मुस्कानसहित आँखाहरू भान्सामा सचेत गर्दै बोल्छिन्, ‘अझ तीस जनाको अर्डर आएको छ। तपाईंहरूलाई यो तातो भात दिन्छु।’ हेर्छु सहयोगी कोही पनि छैनन्। भान्सासँगै सानो झ्याल छ बाहिरपट्टि। दिदी भात पस्कन थाल्नुभयो। मैले भात टेबुलमा ल्याएर दिएँ छोरीहरूलाई र सुभाष सरलाई। अनि अरू यात्रुहरूलाई पनि अनुरोध गरेँ, ‘सहयोगी कोही हुनुहुन्न रहेछ खाना आफै लिएर आउँदा चाँडो हुन्थ्यो कि।’ मेरो कुरा सुन्ने बित्तिकै मुस्कान भाइ उठेर सेवामा तल्लिन भए। बडो मीठोसँग भात खायौँ। मासु खानेले मासु पनि लिएर खानुभयो। प्याकेजमा मासु पनि लेखेको देखेर हामीले होटलको दिदीलाई भन्यौँ दिदीले पनि केही नभनी मासु खानेहरूलाई मासु दिनुभयो।
हामीले खाना खाइसक्दा दुई बजिसकेको छ। मुस्कान भाइले छुर्पी ल्याएर दिँदै भन्छन्, ‘दुई वटा लिनोस्। जाडोको छुर्पी नरम छ।’ छक्क पर्दै मैले छुर्पी समातेँ। छुर्पी त पनिर जस्तै पो नरम छ त! अघिदेखि छुर्पी हेर्दै दाँत सम्झिएकी थिएँ। कमलो छुर्पी देखेर मैले पनि स्वाद मान्दै छुर्पी खान सकेकोमा खुसीको वर्षा ह्वाह्रै भयो। सुस्वादु छुर्पी चाखेपछि अरू छुर्पी किन्न हतारिएँ।
होटलको दिदी निकै सहयोगी र शान्त पनि हुनुहँदो रहेछ सुस्तरी भन्नुभयो, ‘उः त्यहाँ मीठो छुर्पी पाउँछ। चाहिन्छ भने म ल्याइदिन्छु।’ मैले हतारिँदै दिदीलाई सय रुपैयाँ दिएँ। दिदीले केहीबेरमा छुर्पी लिएर आउनुभयो। घडी २ बजेर अझ मास्तिर लाग्दा पनि गाडी चार्ज भएर आएको छैन।
घाम पनि निकै प्यारो लागेको छ। सबै जना घाम तापेर आरामले बुडे बजारलाई हेर्दै बसेका छौँ। मलाई चिया पिउन तलतल भयो र दिदीलाई भनेँ, ‘दिदी चिनी कम राखेर कडा चिया बनाइदिनू न है!’ मैले चियाको अडर्र गर्दा चियाको चुस्की लिँदै हुनुहुँदो रहेछ। चिया पिएपछि दिदीले बडो स्वादिलो चिया बनाएर मलाई दिनुभयो। मैले चिया पिएको देखेर दुबै छोरीहरू आएर चिया चाख्न खोजे। मैले भने एक कप चिया पनि के बाँडेर खानु खाने भए अर्डर गर न! मलाई आनन्दले खान देओ।’
मेरो कुरा सुनेर सुभांषाले चिया अर्डर दिई तर विडम्बना पसलमा दूध नै रहेनछ। छोरीहरू एक एक सुर्पो खाने भन्दै मेरै चियामा मोहित भए। चिया साँच्चै सुस्वादु थियो। एक सुर्पोमा के मान्थे। तीन जनाले मिलेर एक कप चिया खायौँ।
दिदीलाई फेरि भने, ‘दिदी दूध जति छ उतैकै चिया बनाइदिनू न! कति मीठो चिया बनाउनुभयो हाम्रो त धितै मरेन।’
मेरो कुरा सुनेर दिदी आधिओठ खोलेर हाँस्दै भन्छिन्, ‘अघिको जस्तो मीठो हुँदैन अबको चिया।’ मैले बुझेँ दूध कम हुनेबित्तिकै चियाको स्तर नै घट्छ तर दिदीको इमानदारिता देखेर पहिलेकोभन्दा कमसल चिया खाने सर्तमा छोरीहरू राजी भए। साँच्चै चिया अघिको जस्तो मुखै लठ्याउने भएन तर छोरीहरूले खाए।
परपरको शैलुङ्गे डाँडा हेरेर दिदीलाई सोधेँ, ‘दिदी अहिले गएर शैलुङ घुम्न सकिन्छ?’ मेरो प्रश्न सुनेर दिदीले बडो कलात्मक उत्तर दिनुभयो, ‘यहीँ तीन बज्न लागिसक्यो एक घण्टा त गाडीमै लाग्छ। सानो सानो नानी छ। आज त नगए पनि बेसै हुन्छ। साँझमा जाडो पनि हुन्छ ठूलोलाई त केही छैन सानो नानीहरूलाई दुःख हुन्छ।’
मैले पुनः सोधेँ, ‘दिदी कि आज कालिन्चोक गएर भोलि सबेरै शैलुङ आउँदा ठिक होला। बास बस्न कुरी नै जाने बिहान कालिन्चोक माताको दर्शन गरेर यता आउने?’
दिदी पनि हाम्रो कुरामा सहमत हुँदै भन्नुभयो, ‘हो त्यसो गरे ठिक हुन्छ बरू आज भिमसेनको पनि दर्शन गर्नू। खरी ढुङ्गामा पनि एकछिन झरेर फोटोसोटो खिच्नू।’
अनुभवी दिदी बोल्दै हुनुहुन्थ्यो, गाडी आयो। चालक भाइसँग पनि सल्लाह गर्दा सबैको सहमति मिल्यो। अब कुरा आयो कुरीमा कुन होटलमा बस्ने अझसम्म सूचना आएको छैन। नानीले तल्काल फोन गरी। अरू यात्रीहरूले पनि फोन गर्दै अग्रिम जानकारी लिन चाहेको कुरा व्यक्त गर्दा निमेष भरमा होटल स्नो पिल्मिग्रेजबाट सूचना आयो। अनि बल्ल ढुक्कको श्वास लिँदै हामी चरिकोटको बाटोतिर लाग्यौँ ...।
क्रमशः
प्याकेजमा मान्छे लैजाने भनेपछि पक्का योजना सबैलाई भन्नुपर्दैन!