यात्रा योजना हो, योजनाहरू पूरा नहुन पनि सक्छन्। पूरा भएका योजनाहरू आजीवन मुस्कुराउन पनि सक्छन्। मुस्कुराएका योजनाहरू चीरकालसम्म फुल्न पनि सक्छन्। अक्षर भएर फैलिन सक्छन्।
यात्रा अवसर हो। अवसरहरू हातबाट फुत्कन पनि सक्छन्। तर हातमा अडिएका अवसरहरू अमर बन्न सक्छन्।
आकस्मिकताले डोर्याएर ल्याएको यात्रा साँच्चै शानदार बन्न सक्ने रहेछ। अपर्झटको यात्रा पूरा मात्र हैन सफल पनि बन्न सक्ने रहेछन्। अझ प्रकृति, संस्कृति, सभ्यता र पर्यटनसँगै जोडिएर आएको यात्रा अर्थपूर्ण मात्र हैन अविस्मरणीय पनि बन्दारहेछ।
भाइटीकाको भाले साँझमा अचानक अकल्पनीय यात्राको साइत जुर्यो। कुनै योजना थिएन यात्रामा निस्कने। भाइटीकाको साइत अलि ढिलै भएकोले बिहान एकैछिन मोबाइल हेर्दै थिएँ। टिकटक नबनाए पनि कहिलेकाहीँ हेर्ने गर्छु। कालिन्चोक र शैलुङ यात्राको प्याकेजको प्रचार धमाधम आइरहेको रहेछ टिकटकको पर्दामा।
जेठी छोरी मीमांसालाई त्यो प्रचार तुरून्त पठाएँ।
छोरीले तत्काल भनी, 'कि जाने त मामु दुई दिन त छुट्टी नै छ। यो अवसर हो, अवसरलाई त समात्न सक्नुपर्छ।'
उसका कुरा असम्भव लाग्यो। तिहारको थकाइ मेटिएकै छैन। फेरि मन शंका गर्दै छ 'कसरी विश्वास गर्ने टिकटकको भरमा आएको म्यासेजलाई।' अनि यात्राको कुरा अपुरो छोडेर हामी लाग्यौँ कीर्तिपुरतिर।
यो वर्ष दाजुलाई टीका लगाउन भएन अनि परिवारको कुटुरो बोकेर नन्दको घरतिर लम्कियौँ। टीकाटाला सम्पन्न गरेर साँझ घर फर्कँदै गर्दा, सल्यानथानको ओरालो बाटोमा तय भयो यात्राको उत्साह। छोरी मीमांसाले तत्काल फोन गरी यात्राको प्रचार गर्ने समूहको व्यक्तिलाई। कुरैकुरामा जाने पक्का भयो।
शैलुङ र कालिन्चोकको भूगोलले हामीलाई तत्काल तान्यो।

भोलिपल्ट बिहान ६ बजे कलंकी पुग्ने पर्ने तय भयो। छोरीको भाइटीका साँझमा सम्पन्न भयो। अविस्मरणीय टीका लगाई। २०८२ को भाइटीका अमूल्य नै बन्यो छोरीका लागि। अझ भनौँ चिरस्मरणीय हुने पक्का भयो। टीका सम्पन्न भएपछि हामी झोला मिलाउन व्यस्त भयौँ। भोलिको प्रतीक्षामा उत्साहित बनेको रात बितेको पनि पत्तै भएन।
योजना तय भए पनि आशङ्काको ओडारले छोपेको छ। सशंकित हुन्छ मन ‘कतै ठगको फेला त परिएन?'
बिहान ६ बजे कलंकीको भाटभटेनी छेउमा उभिएका छौँ। यात्रा तय गर्ने व्यक्ति कसैलाई चिनेको छैन। विश्वास र अविश्वासको मिश्रित यात्रा छ। प्रतीक्षाको घडी नघर्किँदै आँखा अगाडि एउटा सेतो इभी गाडी आएर टक्क अडियो। सिन्धुली लेखेको देखेर उचालेको झोला पनि थ्याच्च जमिनमै पछारेँ। गाडीले प्वाँप्वाँ गरेर हर्न बजायो।
नजिकै गएर भनेँ, 'यो त सिन्धुली जाने गाडी रहेछ हामी त कालिन्चोक जाने हो!'
'हो हो यही गाडी हो कालिन्चोक जाने बस्नूस्।' चालकले स्वागत गरे।
अपत्यारिलो मन लिएर गाडीभित्र छिर्यौं।
'कालिन्चोक जाने गाडी पक्का हो नि!'
'हो हो ढुक्क हुनुस्। सिन्धुलीको रूटमा चल्ने गाडी हो टिप पाएर कालिन्चोक जान लागेको हो ढुक्कले बस्नुस्।' शंकाको बादल अझ फाटेको छैन।
हामी गाडीमा बस्यौँ। चालक सिन्धुलीकै हुनुहुँदो रहेछ। एक किसिमले मन ढुक्क भयो। आफ्नै माइतीका मान्छे रहेछन् भन्ने भाव थाहै नपाई उठ्यो। भूगोलप्रतिको प्रेम पनि अचम्मको हुन्छ। अझ माइतीको आँगनको माटो नै स्तुत्य हुन्छ। अपरिचित सिन्धुलीका चालकप्रति विश्वासको ठूलो डालो चुली भएर चुलियो।
तर आयोजकप्रति हाम्रो शंका घट्ने क्रम टुंगिएकै छैन। अझ बढ्दै छ। पेश्की दिएको मान्छेको फोन उठ्दैन। चालकले पनि फोन गरे उनले गरेको फोन पनि उठाउँदैन। चालक पनि फोनको भरमा हिँडेका रहेछन्।
सोह्रखुटे पुगेपछि तीन जना यात्रुहरू अझ थपिए। शंका उठ्दै गर्दा गाडी चाबहिल पुगिसकेको छ। अरू तीन जनाको सिट छ। दुई बच्चासहित एकजोडी हँसिला दम्पती गाडीमा उक्लिए। गाडीमा तनावको वातावरण सिर्जना भएको छ। टिकटकबाट काटेको टिकट के सार्थक होला? कि आज ठगको फेला परियो? शंकालु मन मलाई बिच्क्याउन आउँछ घरीघरी।
फेरि सकारात्मक भएर चालकलाई भन्छु, 'ठिक छ भाइ। पेश्की मात्र दिएका छौँ। फोन नउठाए बाँकी रकम तपाईंलाई नै दिऊँला। जान त जानुपर्छ।'
चालक भाइ असन्तोष व्यक्त गर्छन्, 'कस्तो मान्छे होला। केटाकेटी खेलेको जस्तो। प्याकेजमा मान्छे लैजाने भनेपछि यो होटलमा खाजा खाने। यहाँ खाना खाने। यहाँ बस्ने भनेर एउटा पक्का योजना सबैलाई भन्नु पर्दैन? कस्तो वाहियात मान्छे रहेछ।'
चालक भाइको कुराले गाडीभरि चिन्ताको बादल अझ मडारियो।
सबैको मुहारमा उत्साहले ठाउँ छोडेको बेला पछाडि सिटमा बस्ने भाइको फोन उठ्यो। भ्रमण गराउने जिम्मेवारी लिएको मान्छे फोनमा निर्धक्क भएर बोल्छ, 'सबै लिस्ट आउँछ। क्युआर पठाएको छु। पैसा चाहिँ जम्मा गरिदिनू होला।'
ती भाइले फोन राखेपछि एकै स्वरमा हामी करायौँ, 'कुनै पनि हालतमा अहिले पैसा जम्मा गर्ने होइन। के ठेगान भरे पैसा लिएर अलपत्र पार्यो भने! यतिसम्म गैरजिम्मेवार मान्छेलाई कसरी विश्वास गर्ने! भोलि मात्र पैसा दिनुपर्छ। खाना, बास पक्का भएपछि।'
हामीले पुनः फोन गर्ने प्रयास गर्यौं, पुनः फोन उठेन। सबै छक्क परेका छौँ। ठेला उठेको घाउमा पानी भरिएसरी सबैको मनमा शंकाको अमिलो पानी भरिएको छ। करैले विश्वासको दुबो उमार्नु छ मुहारमा।
बिस्तारै गाडी अरनीको राजमार्गमा कुद्न थाल्यो। तर सल्लाघारी पुग्दानपुग्दै टायरमा किला पसेछ। सडकमासँगै हिँडेका अर्का गाडीका चालकले सचेत गर्छन् हाम्रो गाडीका चालकलाई। सुन्दै आएकी थिएँ 'यहाँ गोडा तान्नेहरू बग्रेल्ती भेटिन्छन् सँगै हिँडेको मार्गमा' मिथ्या लाग्दैछ सुन्दै आएको यो भाष्य।
एउटै मार्गमा सँगै हिँडेका यात्रीहरू खुट्टा तान्ने मात्र हैनन् बैशाखी दिन पनि अग्रसर हुनेरहेछन्। हाम्रो गाडीको टायर घायल छ भनेर सचेत गराउने चेतक चालकलाई मैले गाडीबाटै नमन गरेँ।
यहाँ दुर्घटना हुनुभन्दा अगाडि सजग गराउने सहयात्री कमै भेटिन्छन् तर चालकहरूको यो एकता मलाई स्तुत्य लाग्यो। अनुकरणीय लाग्यो।
टायर मर्मत गर्ने ठाउँमा बस्दै गर्दा अर्को मान्छेको फोन आयो चालक भाइलाई, 'म सल्लाघारीको पटके काट्ने ठाउँमा छु। यात्रुहरूसँग पैसा उठाउँदै गर्नू। म पैसा बुझ्न आउँछु।'
चालक भाइले फोन स्पिकरमा राखेका छन्। छक्क परेकी छु यो कस्तो व्यापार हो! यात्रुहरूलाई सुविधाको कुनै अनुभूति छैन। विश्वासको कुनै वातावरण छैन। आयोजकप्रति घोर असन्तुष्टि मौलाएको छैन। पैसा ठूलो कुरा हैन। घुम्न हिँडेका हामी सबैले पैसा त दिइनै हाल्छौँ नि! तर घरी घरी पैसा पैसा भनेको सुन्दा सबैले कालिन्चोक पुगेर भोलि मात्र पैसा बुझाउने निधो गर्यौं। चालक भाइले पनि हाम्रो शङ्कालाई सही नै मान्नुभयो।
हिजैदेखि यात्रामा गुलियो भएको मन अचानक फाटेर अमिलो भयो।
नेपालभित्र नेपालीहरूले नै विश्वास गर्न नसक्ने व्यवहार किन देखाउँछन् आखिर नेपालीहरू। कि हामीले अनलाइन व्यापार गर्ने कलामा जानिफकार छैनौं? कि हामीले विश्वासको व्यापार फैल्याउन सिकिसकेका छैनौँ? गैरजिम्मेवारपूर्ण व्यापार कति अविश्वसनीय र असुरक्षित हुनेरहेछ' मन फतफताउँछ। सबै कुरा योजनाबद्ध हुन्थ्यो भने यो शंका कतै हुने थिएन। खाली यात्राको उत्साह मात्र हुन्थ्यो होला।
जे होस् गाडी धुलिखेल छोडेर कुद्दै छ। छोरी मीमांसाले पेस्की दिएको मान्छेलाई लगातार फोन लगाउँदै छ। निकै पटकको प्रयासपछि फोन उठ्यो। नानीले असन्तोष जाहेर गरी। बल्ल त्यसपछि पैसाको जाप गर्न पनि छोडे आयोजकहरूले। अब भने हामी ढुक्कले यात्राको अनुभव गर्दैछौँ।
धुलिखेलको ओरालोमा हनुमान मन्दिर आएपछि स्मृति गंगामा अतीत आएर मलाई डुबाउँदै लैजान्छ। काठमाडौं विश्वविद्यालयको आवासमा बस्दा हनुमान जयन्तीको अवसर पारेर हामी आएका थियौँ यहाँ। मीमांसा छोरी निकै सानी छ। दुई वर्षकी। भजनको सुमधुर आवाज अनुगुन्जित हुन्छ, 'हे दुःख भन्जन मारूती नन्दन सुन लो मेरी पुकार ...। पूजापाठ र हनुमान चालिसाको गुन्जनले मोहित हुन्छु। मुसुक्क हाँस्छन् अतीतका सहयात्रीहरू। कानैमा आएर सविता भाउजू बोलेको झल्को आउँछ, 'अहो! मीमांसा हो यो! लौन कति ठूली भइसकेकी। आम्मामा कान्छी छोरी त ठ्याक्कै मैया जस्तै नि!' झ्यालबाट हेर्छु चारैतिर तर अतीत अलप छ, 'वर्तमानको आवाजले मलाई बिउँझाउँछ।
'फ्रेस भएर खाजासाजा खाऊँ, अब एकैचोटि मुडेमा खाना खाने हो।' चालक भाइको मधुर आवाजसँगै गाडी ट्याक्क रोकियो एउटा व्यस्त होटलको आँगनमा।

छोरीहरू झर्न हतार गर्छन्। पेट पूजा गर्नका लागि अरू यात्रीहरू पनि ओर्लन्छन्। फलफूल खाने सहमति हुन्छ हाम्रो चाहिँ। तिहारको मसला पनि छ झोलामा। स्याउ, सुन्तला र विदेशी नास्पाती खाएर हामी पेस्ता पनि विदेशी नै मर्काउँछौँ। खजुरी, निम्कीले पनि आहारालाई बलियो पारेको छ।
म पनि गाडीबाट तल झर्छु। होटलभित्र पसेर हेर्छु। आहा! परपरसम्म देखिएको छ पाँचखालको उर्वर भूमि। तुवाँलो हराएको मौसम लोभलाग्दो छ। हरिया डाँडा र सेता हिमालको मिलन सुन्दर देखिएको छ। होटलको संरचना पनि बेजोडको छ। मान्नैपर्छ इन्जिनियरलाई। खण्डखण्ड परेर ओरालिएको भूमिमा खण्ड खण्डको संरचना मनमोहक छ।
महान कलाकारको सुन्दर रचना जस्तो देखिन्छ यहाँबाट तलतलसम्मको भूसंरचना।
होटलको उत्तरतिरको आँगनको एउटा कुनामा ठूलो कराहीमाथि दूध भकभक उम्लिएको छ। आधुनिक मेसिनरूपी हात कुरौनी घोट्दै छन्। नजिकै गएर नियालेर हेर्छु। दूध रातो भइसकेको छ। मगमग बास्ना आयो असली कुरौनीको। वरिपरि गएर हेरेँ अहो! कुरौनी बोकेका डब्बाहरू लहरै सजिएर बसेका छन्। कोसेली खास्साको हुनेरहेछ। मनले तुरून्तै योजना बनायो फर्किँदा कोसेली लैजानुपर्ला भनेर। फेरि स्वादे जिब्रो के खाएर शान्त हुन्थ्यो र! गोडालाई निर्देशन दियो काउन्टरमा जा कि जा भनेर। मस्तिष्कको आदेश स्वीकार्दै हातगोडा पुगे कुरौनीको सौदा गर्न। चार वटा काठका चम्चासहित एक बट्टा कुरौनी बोकेर गाडीमा आएँ।
कस्तो रहेछ त यो कुरौनी भन्दै एक चम्चा मुखमा राखेको मात्र थिएँ म त फुत्तै भिमान पुगेँ।
नानी, 'नरोकीकन यो दूध घोटी राख है! हात घोट्न रोक्यो भनेँ कुरौनी डड्छ। म नुहाएर आइहाल्छु। बाक्लो भएपछि उः त्यो पन्यूले चलाउनुपर्छ। अहिले चाहिँ यही डाडूले चलाउँदै गर है।'
अँगेनामा बसेर दूध घोट्दै गरेकी म छक्क पर्दै हेर्छु दूध चलाउने डाडू। पुच्छारमा ठूलो मुन्द्रा लगाएको डाडू छिन्द्रिङ्ग छिन्द्रिङ्ग गर्छ। लामो छ डाडू। दूधको अंश डाडूमा रहँदा रहँदा होला डाडू निकै बाक्लो भइसकेको छ। छुर्पीको लेदो टाँसिएको जस्तो छ डाडूमा।
आमालाई जिद्दी गर्दै भन्छु, 'आज कुँडे खुर्किँदा डाडू पनि खुर्किनू ल आमा! अनि मलाई दिनू त्यो डाडूको माम्री।' मेरो कुरा सुनेर आमा कराउँदै बोल्नुहुन्छ, 'हुँदैन यस्तो खानु, चुर्ना पर्छ। उः काली कुकुर्नी पुच्छर घुमाउँदै छे। यो त्यसको भाग हो। त्यत्रो कुरौनी छ जति खाए भयो किन डाडू खुर्केको त्यो चाम्रो माम्री खानू।'
अतीतको अँगेना छोडेर म काभ्रेको भिरालो जमिनमा हाँस्दै छु। काभ्रेको कुरौनीको डब्बामा आमाको माया सजीव भएर उत्रियो। चाख्दै गर्दा छोरीहरू पनि गाडीमा आइसकेछन्। चाख्दा चाख्दै हामीले एक डब्बा कुरौनी चट पारिसकेछौँ।
मलाई अतीतको चुम्बकले यसरी नै तान्छ यात्रामा। छक्क पर्छु हामी किन वर्तमानमा मात्र बाँच्न सक्दैनौँ? ज्ञानिजन भन्छन् वर्तमानमा मात्र बाँच तर मलाई लाग्छ साँच्चै अतीत नभएको वर्तमान कति निरस होला। कति एक्लो होला। कति खल्लो होला। मलाई त वर्तमानबाट अतीतको गर्तमा डुबुल्की लगाउँदा बडो आनन्द आउँछ। छोरीहरूसँग छैन अहिले मेरो जस्तो अतीत। अतीत त वर्तमानबाट गोता लगाउने एउटा रहस्यमयी समुद्र हो। जहाँ पुगेर म अमूल्य मोतीहरू बटुल्छु। मलाई मेरो अतीत सौभाग्यपूर्ण लाग्छ। प्रितकर लाग्छ अतीतदंश। यात्राले मलाई वर्तमानको भूगोलसँग मात्र हैन अतीतसँग पनि भेट गराउँछ। विस्मृतिमा पुग्न लागिसकेका अनेकौं घटनाहरू अचानक मुख देखाउन आउँछन्। बडो रमाइलो दिनहरूमा म आफूलाई नै भेट गर्न सक्छु यात्रामा यो कस्तो काइदा।
गाडी पुनः दगुर्न थाल्यो। छोरीहरू मस्त छन्। रमाएका छन् वर्तमानमा। म भने अतीतको सुन्तला छोडाउँदै वर्तमानको केस्रा स्वाद लिएर चाख्दैछु। सुन्दर माला गास्दै हिँडेकी छु अतीत र वर्तमानको।
साँघुरो सडक छोडेर हामी फराकिलो बजारमा आइपुगेका छौँ। पक्की भवन बोकेर बसेको बजारले अनेक गाउँलाई पक्कै जोडेको छ होला। झ्यालतिरै छु। मलाई झ्यालतिर बस्न अघोर मन पर्छ। तामाघाट आएपछि प्रिय साथी सत्यवती पनि नजिकै आउँछिन्। सत्यवती बनेपामा बिएड पढ्दाकी निकटतम साथी। कर्मवीर नारी निकै सरल र शान्त। सत्यवतीले नै हो मलाई पाँचखालको आलु चखाएको। कोसेली बनेर आउँथे पाँचखालको दाल र गेडागुडी। निकै पहिले आएकी छु मीमांसालाई लिएर यो भूमिमा। अनैकोटसम्म पुगेकी छु सत्यवतीको सत्कार चाख्न।
गाडी तामाघाटबाट अगाडि बढ्छ। सत्यवती परबाट हामीलाई नै बोलाउँदै छिन् जस्तो लाग्छ।

पलाञ्चोक भगवतीको मन्दिर जाने बाटोबाट देवीलाई शिरनत गर्दै अगाडि बढ्छौँ। सडक खुला छ। गाडी तुफान छ।
दोलालघाटको रमझम गाडीबाटै अनुभव गर्छु। माछाको बजार रमाइलो देख्छु। तर बिडम्बना माछा कोसीको नहुन पनि सक्छ। चालक भाइ भन्छन्, 'हरेक बिहान कालिमाटीबाट आउँछ दोलालघाटमा माछा। सत्य के हो मलाई ज्ञात छैन। कोसी र इन्द्रावतीको आशीर्वादमा उभिएको दोलालघाटले आफ्नै अस्तित्वमाथि सौदा गर्ला र? प्रश्नको सिल बोकेर मेरो मन अगाडि आउँछ। अविश्वासी बन्न खोज्छ मन। आफ्नो अस्तित्व र पहिचान जोगाउनु आजको मुख्य चुनौती रहेको समयमा दोलालघाटले पनि आफ्नो आन,मान र शानलाई पक्कै नजरअन्दाज गर्न सक्दैन।
अनि विश्वासी आँखा डुलाउँछु दोलालघाटको बजारमा। सिलमा उनिएका माछाका हार हरेक होटलमा देख्छु। माछा त माछा नै हो। जनकपुरको माछा पनि प्रख्यात छ। माछाको जात एउटै भएपनि प्रकार अनेक छन्। बासस्थानको हिसाबले माछाको मूल्य तोकिने रहेछ। कतै मान्छेको मूल्य पनि बासस्थानको आधारमा कसैले तोके भनेँ? अचानक मन उदासी बन्छ। सिलमा उनिएर सौदाको लागि पसल पसलमा झुन्डिएको मान्छेको आकृति कल्पनामा उत्रिन्छ। हेर्न सक्दिनँ सौदामा सजाएको मान्छेलाई। अनि माछा बजारबाट आँखा उठाएर पर कोसीतिर झार्छु। मन शीतल हुन्छ।
आखिर माछा कोसीको होस् कि इन्द्रावतीको माछा त माछा नै हो नि! कहाँबाट ल्याएर बेच्छन् माछाहरू यो रहस्य त व्यापारीहरू नै जानून्।
सुकुटेको भूगोलमा हिँड्दै छ गाडी। भोटेकोसीमा झ्वाम्म हाम फालेको दृश्य आँखै अगाडि आउँछ। कमलानदीमा पौडिखेलेको बललाई पराजित पार्छ कोसीले। पानी निकै दह्रो छ। हम्मेहम्मे परेको छ बाँकटे हान्न पनि। पानी निकै चिसो छ। गोडा पनि चालेकी छु निरन्तर तर मलाई पानीले तलतल तान्दै छ। डरको सुनामी मनभरि उठेको छ। कतै कोसीले मलाई डुबाउने त हैन!
कानमा छोरी रोएको आवाजले त्रसित हुन्छु, 'मेरो मामूलाई क्रोकोडायलले खान्छ। मामू छिटो आऊ। छिटो आऊ। मामू ! मामू ! ह्वाँ -ह्वाँ -ह्वाँ !' नजिकै बसेकी मीमांसालाई हेरेर मुसुक्क हाँस्दै भन्छु, 'नानी उः त्यो पारि कोसी किनारमा हामी पिकनिक खान आएका थियौँ। सबैजना पौडी खेल्न कोसीको किनारमा जाँदा म चाहिँ झ्वाम्मै हाम्फाकेकी थिएँ। तिमी कति रोएकी थियौँ याद छ।' छोरी भन्छे, 'अरू त याद छैन तर हजुरलाई क्रोकोडायलले खान्छ भनेर म रोएको याद छ। हजुर कस्तो बदमास त्यत्रो पानीमा पस्छन् त!' आँखाभरि अतीत ओछ्याएर सुकुटेमा हराएछु ...।
क्रमशः