कालिन्चोक यात्रा भाग- ३
मुडेबाट दुई किलोमिटर माथि पुग्दा देखियो एउटा सुन्दर भूगोल।
ढुंगाको सानो चैत्य सडकबाटै फुत्त देखियो। बसेका छन् भक्तजन शान्तिको पियुस पिएर। नजिकै छोर्तेन निर्माण गरेको पनि देखियो। अनेकौं आकांक्षी मनले निर्माण गरेका होलान् ती छोर्तेन। मान्छेको मनभित्र अस्मेल इच्छाहरू मडारिएका छन्। अभीप्साको गुञ्जन अनियन्त्रित छ तर मान्छे बडो चतुर छ। निमेषभरमा रूप फेर्न पनि माहिर छ। बाहिरबाट शान्त भएको अभिनय गर्दै पुग्छ अनेकौं तीर्थस्थल शान्तिको कामनामा।
सायद मभित्र पनि पीडाको डरलाग्दो सुनामी छ। असुरक्षाका अनेकौँ खर्पास छन्। ईश्वरसँग गुनासोका फूल लिएर पो हिँडेकी छु कि! के थाहा दाँत देखिए पनि भयको भयंकर भिर पो छ कि मभित्र पनि।
गाडीको झ्यालबाट हेर्छु नीलो आकाशमा उडिरहेका पन्छीहरूलाई। वसन्तको सन्ध्या खसेको छैन सल्लाका हरिया रूखहरूबाट। प्राकृतिक ढुंगाको खानी रहेछ यहाँ। सायद ढुंगाको व्यापार हुन्थ्यो होला। वरपर देखिन्छन् अनेकौं आकृतिका पृथक पृथक शिलाहरू। नाना होटलकी दिदीले भनेको खरिढुंगा साँच्चै खुमारी ल्याउने किसिमको नै रहेछ। मलाई यहाँको सौन्दर्य नशालु लाग्दैछ। प्रदूषणरहित वातावरण स्वर्गीय आनन्द दिने किसिमको छ। स्वच्छता हम्केको बतास बडो तृप्तिकर लाग्दैछ। मेरा आँखाहरू सेता हिमालको पर्खाल हुँदै हरिया डाँडा डाँडामा कुद्छन्। डाँडाहरू पनि गरैगरा परेका बडो कलात्मक देखिन्छन्। होचो अग्लो होचो अग्लो प्रकृतिको सन्तुलन कति सुरम्य। प्रकृति कति न्यायप्रेमी। कसरी यति मिलाएर बनाउन सकियो होला यो पहाडी भू-शृङ्खला।
कुनै पहाडले कुनै पहाडको अस्तित्व कुल्चेको छैन। सबैको सौन्दर्य सुरक्षित र सुसज्जित छ। अब्बल चित्रकारको कल्पना जस्तै छ यहाँको सम्पूर्ण भूखण्ड।
अहो! कति समानतापूर्ण स्वरूप। मेरा दृष्टिहरू खरी ढुंगामा नै हराउन चाहन्छन्। प्रकृतिको विमुग्धकारी सौन्दर्यले अनौठो ऊर्जा संप्रेषित गरेको छ रोम रोममा। जीवन दर्शन सुनाउँदै छ पवनको संगीत। अमृतमय आनन्द प्रवाहित हुँदैछ। अपलक हेरिरहूँ जस्तो लाग्छ आकाश, हिमाल, बादल, पहाड, हरियाली र यहाँको भूबनोट। खरीढुंगालाई क्यामेरामा सुरक्षित गर्दैछन् छोरीहरू। आनन्दको संगीत घोलिएको छ छोरीहरूको मुहारमा। मखलेल भएका छन् नौलो स्थानमा। पढ्ने लेख्ने कामले बिदा पाएकोले होला उनीहरूको मुहारमा खुसीको लहर लहरिँदै गरेको देख्छु। त्यसैत्यसै आमा मन हौसिन्छ।
हावाको तीव्रता निकै धारिलो छ। सडकभन्दा तल रमाइलो फाँट देखिएको छ। अचम्मको भूदृश्य छ। एकातिर हेर्दा मुस्ताङ जस्तो उजाड उजाड डाँडा। अर्कोतिर हेर्दा ठ्याक्कै इलाम जस्तो हरियाली। हावालाई हामी उभिएको सायद राम्रो लागेन, भुत्ल्याउन थाल्यो चारैतिरबाट। आँखा छोप्न थाल्यो हावाले भुत्ल्याएको कपालले। चिसो स्याँठले छाती पनि भारी भयो। अरू यात्रीहरू पनि गाडी रोकेर खरिढुंगाको जादूयी सौन्दर्यमा हराउँदै छन्। यहाँको भूगोललाई भ्याएसम्म आ-आफ्नो क्यामेरामा बन्द गर्दै छन्। हामीले पनि मज्जाले तस्वीर उतार्यौं र अगाडिको बाटो समात्यौँ।
एकनाशको बाटो सलल बगेको छ। केहीबेरको यात्रापछि हामी चरिकोट बजार आइपुग्यौँ। आजको पहिलो गन्तव्य दोलखा भीमसेनको मन्दिर नै रहेको छ। चालक भाइले गन्तव्यसम्म सजिलै पुर्याउँछन्। अब हामी हिँड्दै छौं मन्दिर परिसरमा। दोलखा भीमसेनको कथा कयौँ पटक सुनेकी छु।
आज आफ्नै आँखाले दर्शन गर्ने सौभाग्य जुरेको छ। मेरो मन विचारहरूको मन्थन गर्न थाल्छ। कसरी आउँछ होला एउटा ढुंगाको मूर्तिमा पसिना? मूर्तिमा पसिना आउँदा देशमा अनिष्ट हुने कुरा पनि सुन्दै आएकी छु। जब-जब भीमसेनको मूर्तिमा पसिना आउँछ तब -तब भक्तालुहरू क्षमा माग्दै शङ्ख, घण्ट बजाउँदै विशेष पूजा आराधना गर्ने समाचार पनि सुन्दैआएकी छु।
के म पनि देख्न सक्छु भीमसेनको त्यो दिव्य मूर्ति। खुट्किलाहरूको ओरालो सकिएपछि देखियो भीमसेनको प्रख्यात मन्दिर। मन्दिरको द्वारमा अग्लो स्तम्भ रहेछ। मन्दिरमा धेरै घुइँचो थिएन। आरामले दर्शन गर्न मिल्यो। पूजारीबालाई सोधेँ, ‘बा! पसिना आउने शिला कुन हो?’
‘यी यही हो।’ पुजारी बाले झर्को नमानी देखाए।
मैले पनि तत्काल प्रार्थनामा आँखा चिम्म गर्दै कामना गरेँ, ‘हे भीमसेन अबदेखि तिम्रो जिउमा कहिले पसिना नआओस्। मेरो देशमा अब संकट कहिले नआओस्। सबैलाई आनन्द प्राप्त होस्। मेरो देश पुनः विश्वमाझ शान्तिभूमिले परिचित होस्। सबैको कल्याण होस्।’
पुजारी बालाई नै सोधेँ, ‘यहाँ कुन भगवानको पूजा हुन्छ बा?’
‘यहाँ एउटा शिलामा तीन वटा देवताको पूजा हुन्छ बिहान भिमसेनको, दश बजेपछि रूद्रको दुई बजेपछि विष्णुको। उः त्यो स्तम्भ तिमी अहिले जति देखिएकी छौ उति नै तल जमिनमा पनि गाडिएको छ।’
मैले फनक्क फर्किएर अग्लो स्तम्भ हेरेँ। हामीसँगै मन्दिर दर्शन गर्न आउने भक्तालु सोध्दैछन् स्तम्भको गहिराइ। साँच्चै जमिनमा पनि उत्तिनै गाडिएको छ रे!
तीन पटक मन्दिरको प्रदक्षिणा गरेर विश्वशान्तिको कामना गरेँ। बाहिर आएर निकैबेर आँखा चिम्म गरेर श्वासमा केन्द्रित भएँ। मलाई आँखा खोल्नै मन लागेको छैन तर कालिन्चोक पुग्नुपर्ने हतारले जुरूक्क उठायो। उही बाटो भएर हामी चरिकोट बजार आइपुग्यौं। बजार निकै फराकिलो र ठूलो रहेछ। चरिकोटको नाम बाल्यकालमा कान्छी दिदीको मुखबाट कयौँपटक सुनेकी थिएँ। कान्छी दिदीको माइती मन्थली। चरिकोटमा उनी आएकी थिइन्। भन्थिन्- सुनकोसीमा सलल सुन बग्छ। दूध कोसीमा दूध। चरीकोटमा त नानी! चराहरूले पनि कोट लगाउँछन्।’ हामी भुरा मुख आ... गरेर बिस्तार्नी कान्छीका अनौठा कथा सुन्थ्यौँ। आखिर हामी सबै कथा नै त रहेछौँ। कथा बिना त हाम्रो प्रकृति संस्कृति पनि अपूर्ण रहेछ।
भीमेश्वर मन्दिरको कथा पनि निकै रोचक रहेछ। कथा नै त रहेछ हाम्रो पहिचान। हाम्रा पुर्खाले कथा कथ्न नसकेको भए हामीसँग सुन्न सुनाउन के हुन्थ्यो होला? कथा बिनाको संस्कृति कल्पेर मन शून्यको आभास गर्छ।
गाडी मोडिन्छ कोलिन्चोकतिर। चरिकोट बजारबाट २८ किलोमिटर पर रहेछ कालिन्चोक। सडक सुगम नै छ। हेर्दैछु डाँडाहरूको स्वराज्य। गाडीमा गीत घन्किएको छ। गीतको ताल सँगसँगै म पनि हराएकी छु। केहीबेरको यात्रा पछि गाडीको चार्ज थप्ने मनसायले हामी चिया पिउन एउटा होटल अगाडि ओर्लियौँ। यहाँ पनि गाडी चार्ज गर्न पालो कुर्नुपर्ने नियम छ। गाडी पालोमा राखेर चालक भाइ पनि छटपटको श्वास फेर्छन्। दिन ढलेर साँझले छोप्दै छ। चिसो सिरेटो पनि मज्जाले चल्दैछ। खुला ठाउँमा बस्न असहज लाग्यो। गाडी चार्ज गर्ने पालो तीन वटा गाडी पछि छ। हामी चियामा तात्तिन तम्सियौँ। हामीले चिया खाजा खाएर टन्न भएपछि गाडी पनि अघाएछ।
हेर्दाहेर्दै अँध्यारोले छोप्यो सम्पूर्ण भूगोल। हेड लाइट बालेर गाडी उकालियो अलिमाथिबाट। बाटो खराब रहेछ, कालिन्चोक जाने। कता के छ केही मेलो छैन। जङ्गल हो भन्ने अनुमान मात्र छ। घुम्तीहरू पार गर्दा लाग्छ हामी उकालो चढ्दैछौँ। कालिन्चोक ३८४२ मिटरको उचाइमा छ। कुरी बजारको उचाइ केही कम होला। मनमा प्रश्न उब्जियो यो ठाउँको नाम किन कुरी राखियो होला भनेर। मन भन्छ- कतै कुरू वंशहरू त यहाँ आएर बसेका थिएनन्। कुरू भन्दाभन्दै कुरी पो भएको हो कि? फेरि मेरो मन अर्को तर्क झिक्छ ‘कि यहाँ अर्को कुरूक्षेत्र त थिएन?’ मनभित्रको बोली मनले मात्र सुन्छ। गाडी अँध्यारोको युद्ध लडेर निकै माथि पुग्छ।
चकित हुन्छन् आँखाहरू। हृदय ढक्क गर्छ। अद्भुतालयहरूको शृङ्खला मनोहारी देखिन्छ। उज्यालै उज्यालोको झिलिमिली सहर देखिन्छ। लाग्छ हामी आकाशमा विचरण गर्दैछौँ। कतै देखिएको छैन धर्ती। नीरवताले छोपेको छ हामीलाई। अचानक पछाडि सिटमा बसेकी सानी नानी कराउँछिन्, ‘अहो ! हामी त स्वर्गमा पो आएछौँ। कस्तो राम्रो हेर त दादा बाहिर कस्तो झिलिमिली।’
म पनि सानी बालिका नै भएकी छु। तिहारको झिलिमिली सजाएको कुरी बजारलाई प्रवेश द्वारबाट हेर्दैछौँ। साँच्चै सुरम्य सौन्दर्य सजाएर बसेको रहेछ तिहारको रौनकमा कुरी बजार। एकैचोटि दुई वटा आकाश उदय भएको प्रतीत हुन्छ। झिलिमिली देखिन्छ तलमाथि नै।
घरको संरचना पृथक रहेछ यहाँ। छानाको भिन्न आकारमा बेरिएको बिजुली बत्ती जादूमयी छ। तिहारको झिलिमिली बडो कौतूकमय लाग्छ। काठमाडौं सहरले यो सौन्दर्य देखाएको थिएन। कुरी बजारको कलात्मक संरचना पृथक लाग्दैछ। झिलिमिलीको संरचनाले नवीनता उचालेको छ। आँखा अपलक छन्। हृदय आनन्दी।
होटलको लोकेसन खोज्दै गाडी ओरालिन्छ देदीप्यमान उज्जालो छरिरहेको कुरी बजारमा। राति देखिएको नजारा यस्तो लाग्छ स्वर्गको एक टुक्रा फुत्त यहाँ झरेको छ। गाडीले गन्तव्य भेटाउँछ होटल स्नो प्रिमिलेज। झोलाझाम्टा उचाल्दै झर्छौं कुरीको भूमिमा। जाडोले एकैचोटि आक्रमण गर्दैछ। मुटुमा पुग्छ जाडोले हानेकोतिर। थरथर काम्दै होटलभित्र छिरेका छौँ। आयोजकप्रतिको अविश्वास हराइसकेको छ। व्यवस्थापन राम्रै रहेछ तर सञ्चार कमजोर। आजको युग सञ्चारको युग हो।
हामीलाई वयलकम टी पनि ल्याएर दियो होटलले। कागजको गिलासमा तातो तातो रातो चिया। कोठा ठेगान लागेपछि उक्लियौँ आजको बासस्थानतिर। जाडो जोडले भएको छ। सम्झिएकी छु घोरेपानीको जाडो। ज्याकेट भिरेकी छु। कान कुथेकी छु तर पनि मुटु कामेको छ। कोठा चिटिक्क र सफा देखेर खाटमा खुत्रुक्क पल्टिन्छु सिरक खापेर। केहीबेर पछि जिउ तात्छ। उठेर बाहिर जान्छु पुनः जाडोले न्याक्छ। खाना पकाउन बल्ल सुरसार गर्दैछन्। अब कतिबेला पाक्ने होला कतिबेला खाने होला। मन अतालिन्छ।
हामी बस्ने तलाको पल्लो छेउमा क्याम फायर गर्ने योजना पनि रहेछ। हामी चङ्गा भइसक्दा होटलका साहूले ठूलो भाँडोमा आगो सल्काए। केहीबेर धुवाँ उठ्यो। आगोले उठाएको धुवाँको अस्तित्व निमेषभरमा समाप्त भयो। दनदनी आगोको ज्वाला फैलिन थाल्यो। आगोको नजिकै बसेका हामीहरू पनि परपर सर्न थाल्यौँ। तात्यो ज्यान मस्तले। अब नाचगानको कार्यक्रम चालु भएको छ। गीत घन्किएको छ स्पिकरमा। छोरीहरूसँगै यात्रामा भेटिएका नानीहरू पनि उठेर नाच्न थाले। बिचरी बिहानदेखि वाकेर आएकी नानी अहिले उज्याली भएकी छन्। वान्ता गर्दागर्दा धन्न प्राण नै गएन। दश बजिसकेको छ। अब के खानु खाना? सिद्धान्त र विचार मेरो अगाडि आउँछ। अबेर खाना खाने बानी छैन तर आज के गर्ने? पेट भन्छ न खा। अजीर्ण हुन्छ। तर भोक भन्छ तातो भात थोरै भए पनि खा खुरूक्क। भोकको कुरा सुनेर जान्छु तल खाना खान। मीठो छ खाना। खाना खाएपछि शरीर आराम खोज्छ। भोलि बिहान सबेरै उठेर देवीको दर्शन गर्न जाने योजना बन्छ।
होटलका साहु हामीलाई सुझाव दिन्छन्, ‘मान्छे नै मान्छे छन् आज कुरीका होटलमा। यहाँ पनि अझ ६० जना आउँदैछन्। कतिले त होटल नपाएर फर्किएका छन्। अगाडि नै बुक गरेर आउने यात्री र प्याकेजमा आउने यात्रीहरूले मात्र भेटेका छन् आज होटल। भोलि त केबुलकारमा घुइँचो हुन्छ। जम्मा दुइटा मात्रा बाकस छन्। लाइन धेरै हुन्छ। १२ बजे पनि पालो आउँदैन। बरू हिँडेरै गए चाँडो हुन्छ। बिस्तारै हिँडे पनि तीन घण्टामा त तलै आइन्छ।’
साहूजीको कुरा मलाई त रमाइलो लाग्छ तर छोरीहरू हिँड्न सक्लान् त? शंकाको तरंग उठ्छ। छोरीहरू कसिन्छन् हामी हिँड्न सक्छौँ। कहिले पो हिँडेका छन् र डाँडामा। जेठीले त बरू कहिलेकाहीँ उक्लेकी छे तर कान्छी त कालुपाण्डे पार्क जाँदै फ्याकुत फ्याकुत भएकी थिई। जे होस हिँड्नु अगाडि छोरीहरूले पनि हिम्मत हारेका छैनन्।
सुत्ने कोठामा आएपछि मलाई डरले छोप्छ। प्रायः नौलो ठाउँमा सुतेर बिउँझिँदा स्मृति विलुप्त हुनेगर्छ। म कहाँ छु भन्ने चेत नै हराउँछ। अनि उकुसमुकुस हुने गर्छ। उल्लेरीमा त निकैबेर लागेको थियो चेतना फर्किन। मनमनै प्रार्थनामा कर जोर्छु , ‘हे प्रभु! म निदाए पनि मेरो चेतना जाग्रित रहोस्। म कहाँ छु भनेर राति नै आत्तिनु नपरोस्।
चार बजे उठ्ने तयारीका साथ हामी हिउँको तीर्थमा फुसुक्क निदाउँछौँ ...।
क्रमशः
यी पनि:
प्याकेजमा मान्छे लैजाने भनेपछि पक्का योजना सबैलाई भन्नुपर्दैन!
नियम पनि देखाउनका लागि मात्र हुन्छ कि के हो!
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)