'को हो? कसले तान्यो मेरो खुट्टा?' आतंकित वाणीमा मीमांसा एकाबिहानै कराउँछे। छोरीको बोलीले निद्रामै म बोल्छु, 'सुत् सुत् नानी! हामी कुरीको होटलमा छौँ। कालिञ्चोक आएका हौँ। यो हाम्रो घर होइन। नडरा नानी!'
हाँसोको खित्खितसँगै छोरी बोल्छे , 'ह्या! यो मामु के बोलिसिन्छ। मेरो खुट्टा कसैले चलाए जस्तो लागेर पो हो त मलाई थाहा छ त! हामी कालिञ्चोक आएका छौँ भनेर।'
अब हाँस्ने पालो मेरो। छोरीका कुरा सुनेर मलाई निकै हाँस उठ्यो। अवचेतन मनमा पनि कत्रो डर बसेको रहेछ त! राति नै प्रार्थनारत थियो मन होस नगुमोस् भनेर।
चार बजेको संकेत घडीले दियो। सबैतिरको कोठामा चेतनाको लहर फैलिन थाल्यो। पाँच बजे हिँड्ने योजना छ। कालिञ्चोक देवीको दर्शन पदयात्रा छिचोलेर जाने उत्सुकताले हामीलाई ऊर्जाशील बनाएको छ।
निश्चित समयमा सबै जनालाई एकैचोटि निस्किन कठिन नै हुन्छ। उत्साहले आलस्यता छोडिसकेको छ। जाडोलाई चुनौती दिँदै सबै तयारीमा होमिएका छौँ।
तीन हजार ८४२ मिटर उचाइमा अवस्थित छ मन्दिर। तयार भएर तल बस्दै गर्दा होटलका दाइ भन्छन्- कालिञ्चोकको इतिहास महत्वपूर्ण छ। यो देव भूमि हो। यो तपोभूमि हो। कालिञ्चोक भगवतीको शक्ति अपरम्पार छ। देवीको सामुन्ने बसेर शुद्ध हृदयले जे इच्छा गर्यो त्यो पूरा हुन्छ।'
मैले पनि अध्ययन गरेर आएकी थिएँ। हिमवत्खण्डमा कालिञ्चोक क्षेत्रलाई पवित्र भूमिको रूपमा राखिएको छ।यो देवभूमि त छँदैछ। यो भूमि मोक्ष भूमि पनि हो। पुण्य भूमि हो। प्रसिद्ध सन्त महात्माहरूको पवित्र चरणले यो मोक्षभूमिलाई स्पर्श गरिसकेको गौरवपूर्ण इतिहास हामीसँग छ। स्थानीयबासी सुनाउँदै छन् यहाँको दन्त्य कथा...
परापूर्वकालमा यहाँ बैडीगोठ थियो रे! यहाँ निकै राम्रो चरण क्षेत्र भएकाले एक जना मगर जातिका व्यक्तिले राखेका थिए रे! मैले पनि रे कै कुरा त सुनेको हुँ। तर हरेक दिन भेँडा हराउन थालेछ। हरेक दिन भरडा हराउँदै जाँदा सात दिनमा सात वटा भेँडा हराएछन्। माथि मन्दिरभित्र एउटा कुण्ड छ ती भेँडाहरू त त्यही गएर आफ्नो दूध पो चढाउँदा रहेछन् रे! त्यसपछि गोठालाहरूले कामेर बक्दै अबीर, केशरी र भेटी चढाएपछि भेँडा हराउन छोडेको जनविश्वास रहेको छ। त्यसपछि कालिन्चोक भगवतीलाई मान्ने क्रम सुरू भएको हो रे।'
मनमनै सोचेँ साँच्चै हरेक मान्छे एउटा अब्बल कथाकार हो। मान्छेलाई त्यसै महान सिर्जना भनिएको हैन नि! मान्छेको कल्पना गर्न सक्ने शक्ति अद्भुत छ। अतुलनीय छ। मान्छेको मुख्य विशेषता नै ऊ सोच्न सक्छ। आफूले कल्पना गरेको विचारलाई अरू सामु अभिव्यक्त गर्न सक्छ। आफ्नो कुराले अरूलाई प्रभावित गर्न सक्छ। त्यसैले होला मान्छेले अरूलाई दाँई गरेको। कठै जीवजन्तुसँग पनि त कति कथा होलान्। कल्पना होलान् तर मान्छे जसरी सबैलाई सुनाउन सक्दैनन्। आवाज छ तर उनीहरूसँग शब्द छैन। शब्द कति अर्थपूर्ण छ मानव इतिहासमा। यदि हामीहरूको पनि पशुपन्छीहरूको जस्तै शब्दबिहीन आवाज भए कस्तो अवस्था सिर्जना हुन्थ्यो होला ...! लु हेर्नु कल्पनामै मैले त अर्को कथा रच्न लागिसकेँ।
त्यसैले म सादा ईश्वरप्रति कृतज्ञ हुन्छु 'हे प्रभु तिमीलाई लाख-लाख धन्यवाद छ। हृदयबाटै कृतज्ञता प्रकट गर्छु। हार्दिक अभिवाद गर्छु। मलाई कल्पनाशील बनाएकोमा। चिन्तनशील बनाएकोमा।'
कथाबिना त मान्छे साँच्चै सङ्गीतविहीन बाजा जस्तै पो हुन्छ होला। कथा र किम्बदन्तीबिना मानव समाज अपूर्ण हुन्थ्यो होला। कति स्थिर हुन्थ्यो होला मानव समाज। कथाले साँच्चै गति दिनेरहेछ। कथाले बाँच्न सिकाउँदो रहेछ। हाँस्न सिकाउँदो रहेछ। अगाडि पछाडि हेर्न सकाउँदो रहेछ। कथा बिना हाम्रो समाज कति निरस हुन्थ्यो होला।
संस्कृति, संस्कार, परम्परा, रीतिरिवाजरूपी रेलगाडीलाई कथा कहानीको सुमधुर लिकमा अविराम छुकछुक गर्द गुडेको हामीले देखेका छौँ। अझ कति होलान् कालिञ्चोकका दन्त्य कथाहरू।
अचानक मलाई ती आदिम युगका महान कथाकारहरूसँग साक्षात्कार गरेर एउटा नौलो विमर्श गर्ने वाञ्छा जागृत भयो। पुस्तकबिनाको संसारमा ती कथाकारहरूले कुन पुस्तक पढ्थे होलान्! फेरि मन उत्साहको पन्खा हम्किन थाल्छ। भन्छ 'मानव मस्तिष्कभन्दा विशाल पुस्तकालय यो संसारमा अन्त कतै छैन। मान्छेको मस्तिष्क नै ज्ञान, विज्ञान, साहित्य, कलाको उद्गम स्थल हो। तर आजको मान्छे मस्तिष्कलाई खोतल्न खोज्दैन। आलस्य ओढेको मान्छे यान्त्रिकताको लति हुँदैछ।
मस्तिष्करूपी महान तीर्थस्थललाई नमन गर्दै हामी होटलबाट जर्याकजुरूक्क उठ्यौँ। हाम्रो पदयात्रा आरम्भ भयो। रातको आकाश अझ उठेको छैन। हाम्रा गोर्खाली गोडाहरू तराईमा मात्र हैन हिमाल र पहाड छिचोल्न पनि अभ्यस्त छन्। मार्ग स्पष्ट देखिन सूर्य उदाएको छैन। विभ्रममै पाइला टेकिन्छन्। झिलीमिली बत्ती उसैगरी घरघरको छानामा फलेको छ, जादूको ज्योति छर्दै। उज्यालो र अन्धकारको सत्य बोध गरिसकेको तमसले अझ पनि मूढ भएर आफ्नो शक्ति देखाउँदै मलाई लडाउन खोज्छ। सूर्योदयपछि निमेषभरमा उडेर जाने छ तमसको तागत। तर पनि अन्धकारले आच्छादित भएर फुलेको तमस आफूलाई निकै शक्तिशाली ठान्दैछ। निश्चित छ तमसको अस्तित्व। निमेषभरमा निष्क्रिय हुनेवाला छ।
सूर्योदय हरेक दिन हुन्छ। हरेक दिन सूर्यको प्रकाशमा अँध्यारो समाहित हुन्छ। मलाई यस्तो लाग्छ यो अन्धकारको आकाश मभित्र फैलिएको छ। ज्ञानको सूर्य अस्ताचलतिर ओरालिँदै गर्दा तमस जाग्न थाल्छ। प्रकाशको व्यापकता भुलेर म अहंकारको घोडा चढ्न अभ्यासी हुन्छ। कल्पिन्छु मभित्रको तमसले कहिले पनि अहंकारको फँडा उठाउन नपाओस्। मलाई मभित्र यस्तो सूर्यको खाँचो छ जो कहिले नअस्ताओस्। प्रकाशको अनुपस्थितिमा म पनि त तमसकै शक्तिमा उन्मादी हुन्छु।
प्रकृति गुरू भएर मलाई सम्झाउँदै छ। हरेक दिन निडिव रातले आफ्नो अस्तित्व उज्यालोमा बिलिन गर्नैपर्छ। तर पनि हरेक रात आत्मविश्वासका साथ प्रकट हुन्छ। रातलाई पराजयसँग कुनै त्रास छैन। रात आफ्नै सौन्दर्यमा मगन छ। हेर्छु आकाशतिर। निभ्न लागेको अन्धकारको दीप धिपिधिपी गर्दा पनि अँगार ओडेर अझ अमर हुन खोज्दै छ। वास्तवमा आफ्नो अस्तित्वको रक्षा आफैले गर्नुपर्ने विज्ञान बोकेर उकालिन्छु।
केबलकारको स्टेसननेर हाम्रा पाइला पुगिसकेका छन्। भिड छ केवलकार चढेर जानेहरूको। जे-जी आन्दोलनमा यहाँको केबलकारले पनि जल्नु परेको पीडादायी कथा सुन्नुपर्यो। जम्मा दुई वटा केबलकारमा ४००० मान्छे कतिबेला पुग्ने। कतिबेला फर्किने। मलाई आफ्नै गोडामा विश्वास छ। तर छोरीहरू हिँड्न सक्लान त! भन्दै छ आमा मन। उज्यालोको उदय हुँदै छ। चिसोको स्याँठ चल्दै छ।
कान्छी छोरी हिँड्न नसकेर थचक्क बस्छे। मन मायालु बन्छ, 'नानी ! जान नसके तिमीहरू केबलकारमा आओ। नत्र होटलमै गएर आराम गर।' छोरी ऊर्जाशील मुख खोल्छे, 'अहँ! म त बिस्तारै हिँड्छु। भर्खर हिँडेर होला गाह्रो भा। अस्ति नै पनि मुक्तिनाथ जाँदा लेक लाग्छ भनेर तर्साइस्यो। कागबेनीमै बसेको पीडा अझ बल्झिन्छ। मलाई भोक लागेर हुनसक्छ यस्तो गाह्रो भएको। बरू के छ हजुरको झोलामा खाने कुरा?'
छोरीको हिम्मत देखेर हतारिँदै झोलाको मुख च्यात्छु र एउटा भएको स्याउ झिकेर दिन्छु। काजुको पोकोबाट एकमुठी काजु पनि दिन्छु। नानी थचक्क बसेर मर्याङमर्याङ चपाउन थाली उकालो छिचोल्ने शक्ति। नभन्दै छोरीहरू हामीभन्दा अगाडि अगाडि हिँड्न थाले।
सूर्योदयको सुनौलो आभा चारैतिर पोखिन थाल्यो। माथि डाँडा देखिन्छ प्रस्ट। लाग्छ यो डाँडा त निमेषभरमै कट्छु। वैष्णोदेवीको उकालो त चढेकी हुँ। कति नै छ र यहाँ त झन्। मनभरि उदाउँछ वैष्णोदेवीको चढाइ गरेको समय। कतै ढुङ्गाका सिँढी छन्। कतै सिढीँको अवशेष छ। के बूढा के बूढी के बालख सबै उक्लिएका छौँ। श्वासको तातो हुस्सु छोड्दै।
पछाडि फर्किएर हेर्छु देखिन्छ कुरीबजार कृतिम उज्यालो छोडेर अझ सौन्दर्यशाली भएको। नीलो, रातो जस्ता पाताका छानाले नौलो संरचना बोकेको रहेछ। पहाडको फेदीमा बाँचेको सानो संसार स्वर्गभन्दा कम देखिएन। फेरि अगाडि हेर्छु पहाडको भित्ताभित्तामा देखिन्छ मान्छेको ताँती। टउकोबाट बेलाबेला स्वार्रस्वार्र गर्दै हिँड्छ डोरीमा कार। गुराँसका बोट कोपिला बोकेर चिसो खेप्दै छ। सँगै हिँडेका यात्री भन्छन्, 'तपाईं फागुन चैतमा आउनुभएको छ?' म छैन भन्दै अगाडि बढ्न खोज्छु। भन्छन्, 'अहो ! लु उसो भा एकचोटी चैततिर पनि आउनूहोला यहाँ। यहाँको जङ्गल देखेर तपाईं त कवि नै बन्नु हुनेछ। गुराँस फुलेको वनले तपाईंको मनलाई पक्कै हरण गर्नेछ।'
कल्पनामा गुराँस फुलेको दृश्यले रोमाञ्चित हुँदै अगाडि बढ्छु। सँगै हिँडेका साथी कोही अगाडि छन् कोही पछाडि। पुग्नुपर्ने गन्तव्य हामी सबैको एकै हो तर साथ कतिबेरसम्म रहन्छ र! जाबो यति उकालोमा त साथ छुट्छ भने जीवन बिसाउने पहाड चढ्दा चाहिँ किन हामी दुःखी हुन्छौँ, सँगै हिँडेका साथी छुटे भनेर! आत्मीय साथ छुट्यो भनेर। आखिर जीवनको अन्तिम यात्रा पनि त सुनिश्चित छ। हामीलाई थाहा छ कसैको साथ मिल्दैन।
श्वासको आरन तीव्र भएपछि मार्गकै छेउमा थचक्क बसेकी छु, थकाइ मात्र मारेकी छैन जीवन दर्शनको कक्षा लिँदैछु प्रकृतिबाट। हामी त प्रकृतिको अनेकौँ ज्ञानलाई बेवास्ता गर्दै हिँड्दारहेछौँ। हिमालको काखमा जन्मिएका हामीलाई पग-पगमा ज्ञान, विज्ञान र दर्शनले स्पर्श गर्दोरहेछ। एउटा यात्राले कति धेरै जीवन दर्शन सिकाउँदोरहेछ।
धन्य भएकी छु। उकालोले सिँढी बोकेको छ यात्रा सहज छ। मन भन्छ अझ यो बाटोमा माथि छाना पनि राख्ने हो भने काइदा हुनेरहेछ।अझ बाटो सहज भए कति जाति हुन्थ्यो। आशाको प्रार्थान गर्छु अर्कोचोटि आउँदा हिँड्ने बाटो तलैदेखि सहज होस्। हिँड्नुको मज्जा कहाँ भेटिएका केबलकारमा। हिँड्न नसक्नेहरूलाई स्वर्ग छ केबुलकार तर पदयात्राको विशेषता विश्वमै विशेष छ। एकातिर देख्छु भीमकाय पहाड। डरलाग्दो छ खोँच। खुट्टा चिप्लियो भने त कता पुगिन्छ हेर्नलाई सूर्यको प्रकाश पनि अपुग हुने देखियो। मन सिरिङ्ग गरेर थररर काम्यो धन्न भिरतिर फलामको बार बलियो गरी लगाएको छ। छोरीहरूलाई पनि सचेत गर्छु, 'नानी हो भित्तापट्टिबाट हिँड। भिरतिर नहेरी जाओ। सुभाषसर कता हुनुहुन्छ देख्दिनँ। बेलाबेला भेटिनुहुन्छ। मुठ्ठीमा हालिदिन्छु तागतको कुप्रे काजु।
अब हामी ३८४० मिटरको उचाइमा उभिएका छौँ। आँखै अगाडिको दृश्यले उकालो चढ्दाको थकाइ सुलुक्कै निलिदिन्छ। म देख्दैछु हिमालको काखमा आनन्दले निदाएका सेता बादलहरू। लाग्छ हिमालले आफ्नो बर्को फुकाले बादललाई गम्लङ्ग ओडाएको छ। बादल निमग्न छ। देख्छु हिमाल बरू कतै कतै नाङ्गै छ। लाग्छ हिमाल आमा हो। आमाले आफ्ना सन्तानको सुविधालाई पहिलो प्राथमिकतामा राख्छिन्।
नजिकै छन् गौरीशङ्कर । स्वागतमा मिठो मुस्कान छर्दैछन्। म पनि नमन गर्दै शिर झुकाउँछु। कानै आएर बोल्छन् रोल्वालिङ, गणेश, जुगल लगायतका हिमशृङ्खलाले एक्कैचोटि मलाई आलिङ्गनमा लिन्छन्।
म ध्यानस्थ भएर सुन्दै छु हिमालको आवाज। हिमाल सुनाउँदै छ चराचर जगतलाई शान्तिको सुमधुर धुन। सभ्यताको अमर गाथा। जीवन दर्शन। देख्छु हिमाल हाँसेको। सुन्छु हिमालले गीत गाएको। सम्झिन्छु तीर्थ गुरुङलाई हिउँको गीतमा हराएको।
आहा! मौनताको अव्यक्त स्वर कति श्रुतिमधुर। त्यसै भनेनन् रूमीले मऔनता ईश्वरको आवाज हो। म ईश्वरको आवाज सुन्दै छु। कस्तो विरोधाभाषपूर्ण छ मेरो मनको अवस्था। म यतिखेर बादललाई ठोस देख्दैछु। चट्टानी देख्दैछु। म मैबाट फुत्केर बादलमाथि टेक्दैछु। हिँड्दै छु बादलको बुई चढेर हिमालतिर। हिमाली शृङ्खला निमेषभरमा चढ्दै छु। बादल पहाड जसरी अटल भएको अबस्था छ। हिमाल लचिलो भएर मलाई बोक्दै छ। अद्भुत छ मनको अवस्था। म उडेकी छु सिमलको भुवा बनेर। कालिञ्चोकको उचाइबाट उडेकी छु हिमाली टाकुराहरूमा। पूर्वबाट छरिएको उज्यालो बडो कोमल छ। कान्तिमय छ। ऊर्जामय छ। सूर्यको लालीलाई सहजै पिउन सकेकी छु। आनन्ददायक छ यहाँको सम्पूर्ण वातावरण। बिहानी लोभलाग्दो छ। उचाइको उच्चताबाट सुन्छु जीवन सङ्गीत।
यथार्थमा फर्किन मन लाग्छ। हिमालतिरै फर्किएर आँखा बन्द गरेर हिमाल हेर्न मन लाग्छ। बाहिरी कान बन्द गरेर हिमाली आवाज सुन्न मन लाग्छ। आफ्नै श्वाससँग हिमालको श्वास मिलाउन मन लाग्छ। अद्भुत आनन्द पिउने तृणा उग्र भएर उठ्छ। मलाई साँच्चै भन्दा आफ्नै हृदयमा यो हिमाली संसार सुरक्षित गर्न मन लाग्छ। मलाई छटपटि हुन्छ केहीबेर आँखाबन्द गरेर बसेँ। फोटोमा कैद गर्न खोज्छु यो अमरता। तर मेरो सीमा छ। विज्ञान सीमामा बाँधिन्छ आज विश्वस्त भएकी छु। व्यापकता ओडेर बेपर्बाह छ ज्ञान। हामी उक्लिँदै छौँ। पहाड जोड्ने सिँढी। एउटा थुम्कोलाई अर्को थुम्कोसँग जोड्न फलाम आएको छ कालिञ्चोकको यो चुचुरोमा।
हेर्छु फलामबाट देखिएको दुई पहाडबीचको कहालिलाग्दो खोँच। आँङ नै जिरिङ्ग हुन्छ। त्रिशुल र घण्टीले घेरिएको स्थानमा देवीलाई हेर्नेको घुइँचो छ। देखिँदैन केही स्पष्टसँग। फूलपातीले छोपिएको छ मूर्ति। फेरि मन उड्छ वैष्णवदेवीको मन्दिर परिसरमा। त्यहाँ छैन फूल, चामल, तिल अक्षता भुइँ भुइँमा। कुल्चिनु पर्दैन पवित्र फूलपाती। टेक्नुपर्दैन अक्षता। कस्तो स्पष्टसँग देखियो पिण्डीको दर्शन। कति सफा छ मन्दिरको गर्भगृह। मान्छेको ताँती थामिसक्नु छैन तर कस्तो व्यवस्था। कस्तो नियम। नियम पालन नै धर्म रहेछ। कसैले मिचेका छैनन धर्मलाई। सबै अनुशासित छन्। म बाहिरैबाट घुम्छु।
हेर्छु माथिबाट वरिपरिको भूसंरचना। हृदय आल्हादले भरिन्छ। आफू निकै सम्पन्नशाली भएको आभास हुन्छ। अघिदेखि छटपटिएको मनले देख्छ एउटा बस्ने ठाउँ। देवीलाई बाहिरैबाट दर्शन गरेर जान्छु बस्न, कति प्यासी रहेछन्। मेरा आँखाहरू निमेष भरमा बन्द भए। म बडो शान्तिको अनुभव गर्न थालेँ। शरीर निकै हलुका भयो। छोरीहरू नजिकै आएर भन्छन् उठिस्यो मामू अब ढिलो हुन्छ। आइस्यो हजुर र बाबाको पनि फोटो खिचिदिन्छौँ। मन मात्र हैन हृदय गद्गद् छ। त्यसैत्यसै मधुरिएकी छु। आनन्दको पियुष पिएर। उकालो चढ्दा भन्दा चाँडो चल्न थाले हाम्रो गोडा। निकै छिटो हामी कुरी बजार पुग्यौँ।
बाटोमा भेटिनुभयो देवी तिमिल्सिना दिदी। अप्रत्यासित भेट अंगालोमा बेरियो। होटल पुग्दा खाजा तयार भएको रहेछ। कोठामा गएर आफ्नो झोलातुम्बा मिलाउँदै खाजा खान टेवुलमा आउँदा दुई वटा पुरी र गेडागुडीको तातो तरकारी आइसकेको रहेछ। अबको यात्रा शैलुङको छ। शैलुङ घुमेर आजै पुग्नु छ काठमाडौँ।
सँगै उकालिएका सहयात्रीहरू आउने क्रम जारी छ। घाम निकै प्यारो छ। हामी घाम पिएर बसेका छौँ। फोन आयो आयोजकको बल्ल आज भने हामी विश्वस्त भयौँ। मान्छे पनि देख्यौँ। छोरीले जम्मै तिरोभरो गरी, ढुक्क भएर हामी हिँड्यौँ। मुडे पुगेपछि पछाडिकी बहिनी भन्छिन्, 'ला मैले त अस्तिको पेश्की नकाटी फेरि जम्मै पैसा तिरेँ। मैले त तीन हजार बढी दिएँ।' हामीले तुरून्तै ती आयोजकलाई फोन गर्न लगायौँ। इमानदार रहेछन् तुरून्तै ती नानीको पैसा पठायो। अब बने मेरा आँखा आनन्दमा हैन आरामका लागि बन्द भए। मन भरी उठाउँदै शैलुङको सौन्दर्य।
यी पनि:
प्याकेजमा मान्छे लैजाने भनेपछि पक्का योजना सबैलाई भन्नुपर्दैन!
नियम पनि देखाउनका लागि मात्र हुन्छ कि के हो!
एकातिर हेर्दा मुस्ताङ जस्तो उजाड डाँडा, अर्कोतिर हेर्दा इलाम जस्तो हरियाली!