ग्लोबल नेपाली
विकसित युरोपमा ३५ वर्ष व्यवसायी बनेका अर्जुन काफ्ले यति बेला आफ्नो मातृभूमि नेपालको स्थायी बासिन्दा हुने प्रबन्ध मिलाउँदै छन्। हाल उनी बेल्जियममा छन्। नेपाल–बेल्जियम आउजाउ बाक्लो भएको छ।
सुनसरीमा जन्मिएका अर्जुन सात कक्षामा पढ्दै गर्दा आफ्ना अभिभावकका साथ चितवन पुगेका थिए। पढाइका लागि चितवनबाट काठमाडौं आए अनि २०४७ सालमा जर्मनी गए।
'खासमा देश घुमूँ, केही पैसा पनि कमाऊँ भन्ने सोचेर जर्मनी गएको थिएँ,' उनले भने, 'त्यस बेला जर्मनी जान नेपालीलाई अग्रिम भिसा आवश्यक थिएन। त्यहीँ गएर निवेदन दिएपछि त्यहाँको सरकारले निर्णय गर्थ्यो।'
उनले पनि जर्मनी पुगेर आवेदन गरे। जर्मन सरकारले बस्न अनुमति दियो।
अर्जुन जर्मन भाषा जान्दैनथे। भाषा नजाने पनि रेस्टुरेन्टमा काम गर्न बाधा हुँदैन थियो। उनले इटालियन परिकारको एउटा रेस्टुरेन्टमा काम पाए।
करिब चार वर्ष काम गरेपछि परिस्थिति मिल्दै गयो। उनी आफै त्यही रेस्टुरेन्टका मालिका भए अनि १५ वर्ष चलाए। त्यसपछि अझ ठूलो महत्त्वाकांक्षा लिएर स्पेनको बार्सिलोना पुगे। त्यहाँ पनि ६ वर्ष रेस्टुरेन्ट नै चलाए।
'बार्सिलोनाको मौसम नेपालकै जस्तो भएकाले त्यहीँ बस्न मन लाग्यो। रेस्टुरेन्ट चलाउने ज्ञान थियो, त्यही काम गरेँ,' उनले भने, 'बिस्तारै स्पेनमा आर्थिक मन्दीजस्तो भएपछि बेल्जियम गएँ। अहिले मेरा दुइटा रेस्टुरेन्ट छन्।'
एउटा रेस्टुरेन्टले इटालियन परिकार बनाउँछ, अर्कोले जापानी।
उनकी श्रीमती आरती फेसन डिजाइनर हुन्, बेल्जियममै काम गर्छिन्। छोरा स्नातक तहका विद्यार्थी हुन्, रेस्टुरेन्टमा मद्दत गर्छन्।
अर्जुन सन् २०११ देखि २०१३ सम्म गैरआवासीय नेपाली संघ (एनआरएनए), स्पेनका अध्यक्ष पनि भए।
बेल्जियममा पाँच वटा रेस्टुरेन्ट चलाउँदा उनको व्यवसाय राम्रो थियो। त्यसैबीच उनले नेपालमा लगानी गर्ने सोच बनाए अनि तीनवटा रेस्टुरेन्ट बेचे। हाल उनले चितवनमा 'ओम मेगाश्री फर्मास्युटिकल्स' कम्पनी चलाएका छन्। उनी यस कम्पनीका संस्थापक निर्देशक हुन्।
उनले युरोपका जर्मनी, स्पेन र बेल्जियममा रेस्टुरेन्ट व्यवसाय गरे। अहिले नेपालमा उद्योगी बनेका छन्।
तपाईं त घुमन्ते व्यवसायी हुनुहुँदो रहेछ नि?
सेतोपाटीको जिज्ञासा सुनेर उनी हाँसे अनि आफ्ना पूर्वज नै घुमन्ते रहेको पारिवारिक इतिहास सुनाए।
उनका हजुरबबुबा हरिप्रसाद स्याङ्जाबाट बर्मा (हाल म्यानमार) गएका थिए। हजुरबुबा त्यहाँ रेल प्राविधिक थिए। बुबा शारदाप्रसाद रेलका ड्राइभर भए।
काफ्ले परिवार बर्माबाट २०२० सालमा सुनसरीको दुहबी आयो। अर्जुनका बुबाले २०२१ सालमा तीवटा गाडी किनेका थिए तर त्यहाँको बसाइ पनि स्थायी भएन।
'तिम्रो घर कहाँ हो भनेर कसैले सोध्यो भने यसको पृष्ठभूमि बताउनै समय लाग्छ। हाम्रो परिवार स्याङ्जाबाट बर्मा, त्यहाँबाट सुनसरी अनि चितवन हुँदै काठमाडौं,' उनले भने, 'म सुनसरीमै जन्मिएँ। अहिले आमा काठमाडौंमा बस्नुहुन्छ। एउटा भाइ स्वीडेनमा छ, अर्को भाइ नर्वेमा, एउटा बहिनी स्पेनमा। पाँच बहिनी नेपालमै छन्।'
यसरी उनले आफ्नो परिवार नै घुमन्ते भएको पुष्टि गरे।
अब एक वर्षभित्र स्थायी रूपमै नेपालमा बस्ने तयारी अर्जुनको छ। यति बेला चितवनमा घर बनाउँदैछन्। चितवनमा औषधि उद्योगमा लगानी गरेकाले स्थायी रूपमा त्यहीँ बस्ने सोच बनाएको उनले बताए।
जीवनको ऊर्जाशील ३५ वर्ष युरोपका विकसित देशहरूमा बिताएका अर्जुनले उता भौतिक सुख देखे, भोगे; यता (स्वदेशमा) खुसी।
'त्यहाँ (युरोपमा) एक किसिमको सुख छ। एउटै टेबलबाट सबै काम हुन्छ। आर्थिक हिसाबले कमाइ पनि राम्रो हुन्छ,' उनले भने, 'यता (नेपालमा) जस्तो खुसी, आफन्त र साथीसंगत उता मिल्दैन। विदेश बसेपछि आफ्नो देशको माया धेरै हुने रहेछ।'
उनले युरोपमा व्यवसाय गरेर कामको महत्त्व र अनुशासन सिके। त्यहाँ भोलि गर्छु, भइहाल्छ, यत्तिकोले चलिहाल्छ भन्ने प्रवृत्तिले टिक्न सकिँदैन।
उनका अनुसार काम टार्ने, कामको महत्त्व थाहा नपाउने र अनुशासन ख्याल नगर्ने प्रवृत्ति नेपालको मुख्य समस्या हो। यसमा द्रुत गतिमा व्यापक सुधार हुन आवश्यक रहेको उनको भनाइ छ।
उनी अहिलेका युवाहरूमा विदेशमोह हुनु सामान्य ठान्छन्।
'विदेश जानु नराम्रो होइन। त्यहाँ धेरै कुरा सिकिन्छ। अहिले नेपालमा गाह्रो छ। त्यसैले युवाहरू विदेश जान चाहिरहेका छन्,' उनी भन्छन्, 'एक पटक विदेश जानुपर्छ भन्ने मेरो सुझाब पनि छ। त्यहाँको ज्ञान, सीप र प्रविधि यता (नेपाल) ल्याउनुपर्छ।'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com