मुटुको चाल रोकिएको कामलाई पुन:सुरू गरेर पहिलाकै अवस्थामै ल्याउनको लागि गरिने आकस्मिक प्रक्रिया सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) हो।
मुटुको मुख्य काम रगत पम्प गरेर शरीरमा रगत सञ्चालन गराउने हो। त्यो बन्द भएको अवस्थामा मुटुलाई फेरि सञ्चालन गराउन गरिने प्रक्रिया नै सिपिआर हो।
सिपिआर कसरी गर्नेभन्दा पनि कुन बेला गर्ने भन्ने महत्वपूर्ण हो। कसैको मुटुको धड्कन बन्द भयो र उसले श्वास समेत फेरेको छैन भने त्यो अवस्थामा सिपिआर गरिन्छ। यस्तो घटना अस्पतालमा मात्रै होइन जहाँ पनि हुनसक्छ। अहिले त युवाहरूको समेत हृदयघात भइरहेको छ।
कोही लड्यो भने सिधै गएर छाती थिच्ने होइन। सुरूमा सिपिआर गर्ने व्यक्ति सुरक्षित हुनुपर्छ। दोस्रोमा व्यक्ति र तेस्रोमा वरपर रहेका व्यक्ति सुरक्षित हुनुपर्छ। कोही व्यक्ति भीडमा ढलिरहेको छ भने पहिला उसलाई बोलाउने।
यदि उसको परिचय खुलेन भने त्यही अनुसारको सम्बोधन गरेर बोलाउनुपर्छ। यदि व्यक्ति बोल्यो भने समस्या छैन भनेर बुझ्नुपर्छ र ती व्यक्तिलाई रिकभरी पोजिसनमा राख्नुपर्छ।
यदि नबोलेमा उसलाई उत्तानो पारेर राख्नुपर्छ। कुममा चलाएर बोलाउनुपर्छ। त्यस्तो गर्दा समेत नबोलेमा थप प्रक्रिया अगाडि बढाउनुपर्छ। सुरूमा मुखमा केही अड्किए नअड्किएको हेर्नुपर्छ तर औंला छिराएर भने हेर्नु हुँदैन।
आफ्नो कान व्यक्तिको नाकतर्फ राख्ने, आफ्नो गालाले उसले श्वास फेरे\नफेरेको अनुभव गर्न सक्नुपर्छ। आफ्नो आँखाले बिरामीको छातीतर्फ हेर्नुपर्छ।श्वास फेर्दा छाती फुलेको छ कि छैन थाहा पाउनुपर्छ। बोलाउँदा नबोलेमा त्यहाँ वरपर सहयोग लिन सकिन्छ। त्यस्तो हुन नसके नेपाल एम्बुलेन्सको १०२ मा, नेपाल प्रहरीको १०० मा फोन गर्न सकिन्छ अथवा सशस्त्र प्रहरीको १११४ मा समेत फोन गर्न सकिन्छ।
बिरामीलाई सिपिआर दिँदा टाइट खालका लुगाहरू खोलेर हत्केलाको चुचुराले छातीमा राखेर थिच्नुपर्छ। थिच्दाखेरी कुमबाट फोर्स जानुपर्छ। त्यसका लागि कसरी गर्ने भनेर तालिम लिएको हुनुपर्छ। थिच्दाखेरी एक मिनेटमा १ सय २० पटकको गतिमा ३० भन्दासम्म थिच्नुपर्छ।
त्यस्तै, नाक बन्द गरेर आफ्नो मुख बिरामीको मुखको वरिपरि राख्नुपर्छ र फू गर्नुपर्छ। त्यो बेलामा छातीको अवस्था पनि हेर्नुपर्छ।त्यसपछि फेरि छाती थिच्नुपर्छ। थिचिसकेपछि छाती फुल्न दिनुपर्छ।
तालिम लिएका व्यक्तिले मात्र सिपिआर गर्नुपर्छ। त्यसको लागि स्वास्थ्यकर्मी हुनैपर्छ भन्ने छैन। सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा हामीले चिकित्सक मात्र नभई उपचारिकालगायत स्विपर र ड्राइभरलाई समेत यो तालिम दिएका छौं।
हामीले बेलामौकामा अन्त पनि यो तालिम दिन्छौं। यो तालिम धेरैभन्दा धेरैलाई दिन जरूरी छ। किनकि यो घटना जतिबेला जहाँ पनि हुनसक्छ।
तालिम नलिएका व्यक्तिले कहाँ थिच्ने के गर्ने भनेर थाहा पाउँदैनन्। सपिङ मल लगायतका भिड हुने ठाउँमा यस्ता तालिम दिन अझै जरूरी छ।
(सशस्त्र प्रहरी नायब उपरीक्षक कन्सल्ट्यान्ट एनेस्थेसियोलोजिस्ट डा.सौरभ श्रेष्ठ सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा कार्यरत छन्।)