प्रभा चौधरी डेढ वर्षअघिसम्म रासायनिक मल र विषादीको अधिक प्रयोग गरेर खेती गर्थिन्।
दाङको दंगीशरण गाउँपालिका–४ बैबाङकी प्रभालाई विषादीले मानव स्वास्थ्यमा पार्ने असरबारे खासै जानकारी थिएन।
गाउँमा महिला तथा कृषि समूह गठन भएपछि भने उनले रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति नष्ट गर्ने थाहा पाइन्। त्यसबाट उत्पादित वस्तुको उपभोगले दीर्घरोग निम्त्याउन सक्नेबारे जानकारी भयो।
आफूले अन्जानमै गल्ती गरिरहेको बुझेपछि गत वर्षदेखि उनले घरमै पालेका पशुचौपाया र वरपर पाइने वनस्पति प्रयोग गरेर जैविक झोल मल तथा विषादी बनाउन थालिन्।
जैविक मलबाट बोटबिरूवालाई आवश्यक नाइट्रोजन, फस्फोरस र अन्य खनिज तत्त्व प्राप्त हुने कुरा पनि उनले सिकेकी छन्।
'रासायनिक विषादीले स्वास्थ्यमा धेरै हानि गर्दो रहेछ। घरमै बनाएको जैविक विषादीले त्यस्तो असर नगर्ने र माटोलाई पनि बिस्तारै प्राकृतिक अवस्थामा फर्काउने रहेछ,' प्रभाले भनिन्, 'घरमै मल र विषादी बनाउन थालेपछि रासायनिक मल किन्नुपरेको छैन, पैसा पनि बचत भएको छ।'
यस वर्ष उनले तीन कट्ठा जग्गामा विभिन्न तरकारी लगाएकी छन्। नजिकैको खेतमा धान छ। धान काटेपछि त्यहाँ पनि तरकारी लगाउने उनको योजना छ। बारीमा फलेको भिण्डी टिपेर उनले पाहुनालाई खान दिइन् र आफूले पनि खाइन्।
'जैविक मल र विषादी प्रयोग गरेर उत्पादन गरेको तरकारी बोटबाटै टिपेर जहिले पनि खान मिल्छ। बजारमा पाइने तरकारीमा रासायनिक विषादी प्रयोग भएको भए यसरी टिपेर खाने हिम्मत हुन्थ्यो त?' उनले भनिन्।
नेपाल महिला सामुदायिक सेवा केन्द्रले दिएको तालिमपछि प्रभाले जैविक मल र विषादी बनाउन थालेकी हुन्।
संस्थाले किसानलाई घुम्ती तालिम दिनुका साथै मल तथा विषादी बनाउन आवश्यक ड्रम, पाइप र बाल्टीलगायत सामग्री उपलब्ध गराउँदै आएको छ। गोठ सुधारका लागि जस्तापाता, इँटा र सिमेन्टजस्ता सामग्रीमा पनि सहयोग गर्छ।

प्रभाको घरमा भैंसी छ। उनको गोठ सुधारका लागि संस्थाले ३० हजार रूपैयाँ दिएको थियो भने बाँकी रकम उनले आफै लगानी गरेकी हुन्।
प्रभाजस्तै शान्तिनगर गाउँपालिका–६ चिरहरियाका डम्मर वली पनि एक वर्षयता रासायनिक मल र विषादी प्रयोग नगरी तरकारी खेती गरिरहेका छन्।
उनको परिवारले सात वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको छ। अहिले एक कट्ठामा तने बोडी लगाएका छन् भने अन्य जग्गामा लौका, करेला र भिण्डी खेती गर्छन्। थप करिब ६ कट्ठा जग्गामा तरकारी खेती गर्ने तयारीमा छन्।
पहिले रासायनिक मल र विषादी प्रयोग गर्दै आएका डम्मरले खेतबारीको माटो परीक्षणको रिपोर्ट अध्ययन गरेपछि माटोको अवस्था बिग्रिएको थाहा पाए।
गाउँमा सञ्चालित पुनरूत्थानशील कार्यक्रम अन्तर्गतको तालिमले जैविक मल र विषादीको प्रयोगबाट माटोको अवस्था सुधार्न र अग्र्यानिक उत्पादन गर्न सकिने ज्ञान दिएको उनी बताउँछन्।
त्यसपछि उनले रासायनिक मल र विषादीको प्रयोग क्रमशः घटाउँदै लगे। अहिले त्यसको प्रयोग शून्यमा झारेको उनको भनाइ छ।
'पहिले रासायनिक विषादी प्रयोग गर्दा घरवरपरै गन्ध फैलिन्थ्यो, अहिले त्यो छैन। जैविक विधिबाट उत्पादित तरकारी तत्काल टिपेर खान पनि मिल्छ,' उनले भने।
डम्मरले अम्बा, असुरो, तितेपाती, नीम र बकाइनोजस्ता वनस्पतिका पात निश्चित मात्रामा संकलन गरी पशुको मलसँग मिसाउँछन्। त्यसलाई ड्रममा केही समय राखेपछि कुहिएर जैविक झोल मल तयार हुन्छ।
घरमै पाइने पशुको मलमूत्र र वरपरका वनस्पतिबाट मल बनाइने भएकाले यसमा हानिकारक रसायन हुँदैन। रासायनिक विषादी प्रयोग गरेपछि तरकारी टिप्न कम्तीमा एक साता वा त्योभन्दा बढी पर्खनुपर्ने भए पनि जैविक विधिबाट उत्पादित तरकारी तत्काल टिपेर खान सकिने उनले बताए।
शान्तिनगर गाउँपालिका–५ ढोडेनीकी चिजमानी चौधरीको घरनजिकै विभिन्न आकारका आधा दर्जनजति नीलो रङका ड्रम राखिएका छन्। ती ड्रममा उनी जैविक विषादी तयार गर्छिन्। नजिकै छिमेकीले क्यारी बनाएर गँड्यौला मल उत्पादन गरिरहेका छन्।

वर्षौंदेखि खेतीपाती गर्दै आएका स्थानीय किसानले पछिल्ला केही वर्षयता उत्पादन घट्न थालेको महसुस गरेका थिए। तालिम र माटो परीक्षणको रिपोर्टबाट माटोको प्राकृतिक अवस्था बिग्रँदै गएको र कडापन बढेको थाहा पाएपछि चिजमानीले पनि घरमै जैविक झोल मल बनाउन थालेकी हुन्।
'हामीले अहिले तरकारी खेतीमा यही झोल मल र जैविक विषादी प्रयोग गर्दै आएका छौं। विषादीरहित तरकारी खोज्दै मानिस घरमै आउन थालेका छन्,' उनी भन्छिन्।
माटो परीक्षणको पछिल्लो रिपोर्टमा पनि सुधारका संकेत देखिन थालेको उनको भनाइ छ।
प्रभा, डम्मर र चिजमानीजस्तै दंगीशरण र शान्तिनगरका धेरै किसान घरमै झोल मल, गँड्यौला मल र जैविक विषादी बनाएर खेतीमा प्रयोग गर्न थालेका छन्। रासायनिक मल र विषादीले माटो तथा मानव स्वास्थ्यमा पार्ने असरबारे जानकारी पाएपछि किसानले गाउँगाउँमा समूह बनाएर जैविक खेतीका फाइदाबारे एकअर्कालाई सिकाउन थालेका छन्।
यसले माटोको अवस्था सुधार्नुका साथै खेतीको लागत घटाउन र किसानको आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
किसानलाई जैविक मल र विषादी बनाउने सीप दिन दंगीशरण र शान्तिनगर गाउँपालिका तथा नेपाल महिला सामुदायिक सेवा केन्द्रले सहकार्य गर्दै आएका छन्। केन्द्रलाई हेफर इन्टरनेसनलको सहयोग छ। केन्द्र मध्य तथा सुदूरपश्चिम नेपालको पहिलो महिला नेतृत्वको संस्था हो। यसको स्थापना २०५० सालमा भएको थियो।
शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतका अनुसार स्थानीय सरकार र सहयोगी संस्थाले किसानलाई तालिमसँगै जैविक मल बनाउन आवश्यक सामग्री पनि उपलब्ध गराउँदै आएका छन्।
किसानले घरमै पालेका पशुचौपाया र स्थानीय स्तरमा पाइने हरिया पातपतिंगरबाट मल उत्पादन गरेर अर्ग्यानिक खेती गर्नु सकारात्मक भएको उनी बताउँछन्। यसबाट खेतीको लागत घट्ने, आम्दानी बढ्ने र मानव स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने उनको अपेक्षा छ।

दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी पनि जैविक मल र विषादीको प्रयोगले माटो सुधार्न तथा बालीलाई आवश्यक खाद्यतत्त्व उपलब्ध गराउन सहयोग पुग्ने बताउँछन्।
जैविक विषादीले रोगकीरा नियन्त्रण गर्न र बालीको प्रतिरोधात्मक क्षमता बढाउन सघाउने भएकाले किसानलाई यसको प्रयोगमा प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ।
परियोजनाले जैविक खेतीका लागि मलखाद व्यवस्थापन सहज बनाउन पशुका गोठ तथा खोर सुधारमा पनि लगानी गर्दै आएको छ।
दंगीशरण गाउँपालिका–३ रावत गाउँकी दिलकुमारी चौधरीले बंगुरको खोर बनाउन हेफरबाट ३० हजार रूपैयाँ सहयोग पाइन्। त्यसमा थप रकम लगानी गरेर व्यवस्थित खोर बनाएपछि गत पुसदेखि उनले बंगुर त्यहीँ पाल्दै आएकी छन्।
'पहिले बंगुर पाल्दा वरपर फोहोर हुन्थ्यो र दुर्गन्ध फैलिन्थ्यो। अहिले पक्की र चिटिक्क परेको खोर छ। पानी हालेपछि केही छिनमै सफा गर्न सकिन्छ,' उनले भनिन्।
परियोजनाका फोकल पर्सन नवराज अधिकारीका अनुसार दुवै पालिकाका २५० किसान परिवारलाई लक्षित कार्यक्रममा ७४ लाख ३५ हजार रूपैयाँ लगानी गरिएको छ।
कृषि क्षेत्रतर्फ मेसिन तथा औजार, तरकारीका बीउ, घुम्ती तालिम, गँड्यौला मल निर्माण, जैविक विषादी उत्पादन र किसान पाठशालामार्फत सहयोग गरिएको छ।
पशुपालनतर्फ गोठ तथा खोर सुधार, घाँसका बीउ, कृत्रिम गर्भाधान, पशु प्रयोगशालाका सामग्री र पशुपालन व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिएको छ।
गत आर्थिक वर्षमा दंगीशरणका ८९ र शान्तिनगरका ११७ गरी २०६ जना समूहमा आबद्ध किसानलाई विभिन्न सामग्री वितरण गरिएको थियो। जैविक झोल मल बनाउन ६० लिटरका ८१६ वटा, २९९ लिटरका तीन वटा र १०० लिटरको एउटा ड्रम दिइएको थियो।
त्यस्तै, सिँचाइका लागि २०६ वटा हजारी, कीरा नियन्त्रणका लागि २ हजार ६० वटा पहेँलो टाँसिने पासो र ८२४ वटा मोहनी पासो, ६१८ वटा सिड ट्रे, ४१२ लिटर इएम तथा नीममा आधारित २०६ वटा विषादी वितरण गरिएको थियो।

टनेलका लागि प्लास्टिक, थोपा सिँचाइ सेट र गार्डेन पाइप पनि उपलब्ध गराइएको फोकल पर्सन नवराजले बताए।
परियोजनाले किसानको माटो परीक्षण गराउने र प्राविधिकमार्फत सुधारको अवस्थाबारे जानकारी दिने काम पनि गर्दै आएको छ। किसानले ५० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान भए पनि उनीहरूको श्रम र मेहनतलाई रकममा गणना गरिने उनी बताउँछन्।
यसले किसानको सहभागिता बढाउनुका साथै माटोको अवस्था सुधार्ने प्रयासलाई सहयोग पुगेको उनको भनाइ छ।
रासायनिक मल र विषादीको प्रयोग घटाएर जैविक खेतीमा जाँदा सुरूको चरणमा उत्पादन केही घट्न सक्ने भएकाले किसान आत्तिन हुँदैन।
जैविक तरकारी रासायनिक मल तथा विषादी प्रयोग गरेर उत्पादन गरिएको तरकारीजस्तो चिल्लो र चम्किलो नदेखिन सक्छ। कतिपय तरकारीका पातमा किराले खाएको पनि देखिन सक्छ।
त्यसैले उपभोक्ताले त्यस्ता विशेषताका आधारमा जैविक उत्पादनलाई कमसल ठान्न नहुने उनको सुझाव छ।
'जैविक उत्पादनको मूल्य र बजार सुनिश्चित गर्न राज्यले ध्यान दिनुपर्छ,' नवराजले भने।