नेपालको बीमा कम्पनीमा पहिलो पटक महिलालाई नेतृत्वदायी भूमिका मिलेको छ।
यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को प्रमुख कार्यकारी अधिकृत पद (सिइओ)मा आगामी चार वर्षका लागि उपासना पौडेललाई नियूक्त गरिएको छ। नियूक्तिसँगै उनी बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत भएकी छन्।
त्यस्तै कम उमेर समूहबाट पनि उनी पहिलो रहेको कम्पनीको दावी छ। ३४ वर्षको उमेरमा नै पौडेल सिइओको भूमिकामा पुगेकी छन्।
विगत एक दशक बढी समयको कार्यानुभव बटुलेकी पौडेलले दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस)बाट एमबिएसम्मको अध्ययन पुरा गरेकी छन्।
उनी भारतमा रहँदा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन्। पछिल्लो पटक उनी यूनाइटेड इन्स्योरेन्स कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन्।
उनको कार्य सम्पादनप्रति सन्तुष्ट रहेको कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियूक्त गरेको हो।
कर्मचारीको टिमवर्कलाई विशेष ध्यान राख्दै उनले सफल नेतृत्व दिने विश्वास लिइएको कम्पनीले जनाएको छ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा नेतृत्वदायी भूमिका लिने महिलाको संख्या बढ्न थालेको छ। हाल अनुपमा खुञ्जेलीले मेगा बैंकको नेतृत्व गर्दै आएकी छन्। राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना छन्।
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८, ०९:०३:००